पर्वत/ जिल्लाको कुश्मा नगरपालिका वडा नम्बर १३ खौलालाँकुरीस्थित प्रसिद्ध शक्तिपीठ ज्ञादी खौला भूमेकोतलाई खौलालाँकुरी पोखरा सम्पर्क समाज, पोखराले ९ वटा ठेकी उपलब्ध गराएको छ ।
ठेकी विशेष गरी वडादशैंको टीकाको दिन कोतमा रहेको मौलो र अन्य पुजास्थलमा दही खन्याउन प्रयोग हुन्छ । पछिल्लो समय ग्रामीण क्षेत्रमा काठको ठेकी सहजरुपमा पाउन छाडेपछि कोतमा पनि अभाव हुन पुगेको अवस्थालाई मध्यनजर गर्दै समाजले विभिन्न साइजका ठेकी उपलब्ध गराएको हो ।
समाजका अध्यक्ष पिताम्बर पौडेलले कोत व्यवस्थापन समितिका अध्यक्ष खड्कबहादुर क्षेत्रीलाई ठेकी हस्तान्तरण गरे । उक्त अवसरमा पौडेलले ज्ञादी क्षेत्रकै प्रतिष्ठित कोतलाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि समाजका तर्फबाट सहयोग जारी रहने बताए । कोतको अझै प्रचार गरी जिल्लाको एक धार्मिक पर्यटकीय गन्तव्यको रुपमा बिकास गर्नुपर्ने भन्दै उनले यसका लागि सबैको साथ सहयोग आवस्यक रहेको पनि बताए । समिति अध्यक्ष क्षेत्रीले समाजले उदाहरणीय काम गरेको र आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरे । ठेकी हस्तान्तरण कार्यक्रममा समाजका सल्लाहकार एवं पूर्व अध्यक्ष धर्मबहादुर केसी, बरिष्ठ उपाध्यक्ष लालप्रसाद शर्मा, सदस्य अमृतप्रसाद सुवेदी, कुश्मा–१३ का अध्यक्ष तेजप्रसाद शर्मा र कुश्मा–१२ का अध्यक्ष झलकप्रसाद रिमाललगायतको सहभागिता थियो ।
वडा नम्बर १२ द्वारा पानी ट्यांकी प्रदान
यसैगरी कुश्मा नगरपालिका वडा नम्बर १२ ले ज्ञादी खौला भूमेकोतलाई एक पानी ट्यांकी प्रदान गरेको छ । वडाध्यक्ष झलकप्रसाद रिमालले कोत व्यवस्थापन समितिका अध्यक्ष खड्कबहादुर क्षेत्री र वडा नम्बर १३ का अध्यक्ष तेजप्रसाद शर्मालाई ट्यांकी हस्तान्तरण गरे ।

ट्यांकी हस्तान्तरण गर्दै वडाध्यक्ष रिमालले ज्ञादी खौला भूमेकोत यस क्षेत्रकै साझा सम्पत्ति भएको बताए । कोतमा आउने भक्तजनलाई खानेपानीको सहजताका लागि ट्याकी उपलब्ध गराइएको उनको भनाई थियो । स्टिलको ट्यांकी ५ सय लिटर क्षमताको छ ।





