पर्वत / म्याग्दी र पर्वतको जलजला गाउँपालिकाबाट सञ्चालित जलजला यातायात प्रालिद्धारा एयर सस्पेन्सन सिल्परसहितको बस सेवा सञ्चालनमा आएको छ । धौलागिरी गण्डकी यातायात प्रा.लि. अन्तरगत सञ्चालित जलजला यातायातले १ करोड १५ लाखको लागत पर्ने दुई सिट सुतेर यात्रा गर्न मिल्ने सहित ३५ सिटे नयाँ बसमार्फत सेवा सुरू गरेको सञ्चालक रामजी बोहोराले बताए । ‘बिरामी र बृद्धबृद्धालाई सुतेर यात्रा गर्न मिल्ने सुविधा सहितको बस सेवा सञ्चालन गरेका छौ, अन्य सोफा सिट छ, समय अनुकुल थप सेवाहरु थप्दै जानेछौ’ बोहोराले भने ।
उक्त बस रात्रिकालिन सेवा अन्तरगत कालीपुल बसपार्कमा रहेको टिकट काउन्टरबाट साँझ काठमाण्डौ र काठमाण्डौबाट बेनीका लागि छुट्ने छ । बसभित्र पछाडिको भाग तला बनाएर दुई क्याविनमा बढीमा दुई–दुई जनाका दरले चार जना सुतेरै आरामदायी तवरले यात्रा गर्न सकिने जलजला यातायात प्रा.लि.ले जनाएको छ ।

हाल जलजलामा ६ वटा बस सञ्चालनमा रहेका छन् । बसमा यात्रा गरेबापत प्रतियात्रु १५ सय टिकट कायम गरिएको छ । प्रत्येक दिन बेनीबाट र काठमाण्डौबाट बेलुकी साढे पाँच बजे र पौने ६ बजे बस छुट्ने छ । जलजला यातायात प्रालिमा लिला पूर्जा, समिर परियार, कृष्ण हमाल, रुद्ध केसी र रामजी बोहोराको ६ करोड लगानी रहेको बताएका छन् । पछिल्लो समय म्याग्दीमा यातायात ब्यवसायीले धमाधम आधुनिक सेवा सहितको बस सञ्चालनमा ल्याउँदा यात्रुलाई सहज भएको छ ।





