
बागलुङ/अमेरिकामा बसेरपनि नेपाली साहित्यलाइ लेखनको पेशा बनाएकी शकुन ज्ञवालीको ‘भन्दिनु है बा’ कविता संग्रहको परिचर्चा गरिएको छ । बुधवार सप्तरंङ्गी साहित्य समाज नेपाल गण्डकी प्रदेशले आयोजना गरेको कार्यक्रममा लोकगायिका, कवी, लेखक तथा मुक्तककार समेत रहेकी शकुन ज्ञवालीको कृतिमाथी चर्चा भएको हो ।
्बागलुङको रातमाटा घर भई हाल अमेरिकामा बस्दै आएकी ज्ञवालीको कृति बारे राजनीतिक, सामाजिक र साहित्य क्षेत्रका अगुवाले चर्चा गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले नेपालीहरु जहाँ रहेपनि आफु हिडेको बाटो र माटो लाई बिर्सन नहुने वताए । उनले साहित्यले समाजको यथार्थ चित्रण गर्नुपर्ने भन्दै लुकेका घटना लाईपनि साहित्यले उजागर गरिदिनुपर्ने धारणा राखे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदी प्रयास, रत्नश्रेष्ठ पुरस्कार गुठीका संस्थापक अध्यक्ष प्रेम छोटा, धौलागिरी साहित्य प्रतिष्ठाका अध्यक्ष काजी रोशन, कृतिका लेखिका ज्ञवाली लगायतले मन्तव्य व्यक्त गरेका थिए । कृतिकारको व्याक्तित्व तथा कृति वारे धौलागिरी बहुमुखी क्याम्पसका उप–प्राध्यापक गणेश प्रसाद पौडेल र गोरखापत्रका पत्रकार फडिन्द्र अधिकारीले समीक्षा गरेका थिए ।
कार्यक्रममा अमेरिकामा रहेर पनि नेपाली साहित्यमा योगदान गरेको भन्दै कृतिका लेखक शकुन ज्ञवाली लाई सम्मान गरिएको थियो । सप्तरंङ्गी साहित्य समाजका गण्डकीका अध्यक्ष अम्बिका ज्ञवाली र नगर प्रमुख श्रेष्ठले सम्मान पत्र सहित दोशल्ला ओढाएर सम्मान गरे । कार्यक्रममा सर्जकहरु कोपीला कँडेल, गोविन्द सुवेदी, रबिना कँडेल र यामनाथ आचार्य लगायतले आफ्ना र ज्ञवालीका कविता वाचन गरेका थिए । सप्तरंङ्गी साहित्य समाज गण्डकी प्रदेशका अध्यक्ष अम्बिका भण्डारीको अध्यक्षता, उद्योग वाणिज्य सघंका उपाध्यक्ष राजनुकमार शाक्यको स्वागत र सप्तरंङ्गी साहित्य समाज बागलुङका संयोजक धनराज सापकोटा जिज्ञासुको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।





