बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पर्वतमा झन्डै १५ सयमा डेंगी, अघिल्लो वर्षको तुलनामा पाँच सय प्रतिशत बढी

पर्वतमा झन्डै १५ सयमा डेंगी, अघिल्लो वर्षको तुलनामा पाँच सय प्रतिशत बढी


  • संजय रेग्मी
  • कार्तिक १० २०८१, शनिबार

पर्वत/अघिल्लो मौसमको तुलनामा यस वर्षको मौसममा पर्वतमा डेंगी सङ्क्रमणको दर निकै तीव्र भएको छ ।
अघिल्लो वर्षमा कुल दुई सय २५ जनामा संक्रमणको पुष्टि भएकोमा यस वर्षको कार्तिक आठ गतेसम्म कुल एक हजार चार सय १४ जनामा सङ्क्रमण भइसकेको स्वास्थ्य कार्यालय पर्वतले बताएको छ । कार्यालय प्रमुख प्रवीण शर्माका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष पाँच सय २८.४४ प्रतिशत बढी व्यक्तिमा सङ्क्रमण भइसकेको छ ।
अहिले पनि जिल्लाका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा आउने बिरामीहरूमा डेंगी सङ्क्रमणको पुष्टि हुने क्रम नरोकिएकोले जाडो मौसम सुरु हुनै लाग्दा पनि बिरामीहरूको सङ्ख्या बढिरहेको कार्यालय प्रमुख शर्माले बताए । उनका अनुसार सङ्क्रमितमध्ये सबैभन्दा बढी कुश्मा नगरपालिकामा मात्रै एक हजार एक सय ७१ जनामा सङ्क्रमण भएको छ । जुन कुल सङ्क्रमितको ८२.८१ प्रतिशत हो ।
यस्तै फलेवास नगरपालिकाका ७५ जना, मोदी गाउँपालिकाका ४८ जना, जलजला गाउँपालिकाका २३ जना, पैयुँ गाउँपालिकाका ७ जना, बिहादी गाउँपालिकाका ७ जना, महाशिला गाउँपालिकाका ४ जना र अन्य जिल्लाबाट आएका ७९ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।
डेंगीको सङ्क्रमण फैलिँदै जानु र मानिसको बढी भिडभाड हुने क्षेत्र यसको जोखिममा हुने भएकोले पर्वतका विभिन्न संघ संस्थाहरूले सरसफाइ अभियानहरू सञ्चालन गरिएको भए पनि गत वर्षको तुलनामा सङ्क्रमण झनै फैलिएको छ ।
घर आसपासमा रहेको फोहर, झाडी, नहल्लिने गरेर जमेको पानीलगायतका कारण लामखुट्टेले फुल पारेर बच्चा संख्या वृद्धि हुने लामखुट्टेको टोकाइ बढ्दा डेंगीको जोखिम पनि झन् झन् बढ्दै जाने भएकोले सचेत हुन स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ । लामखुट्टेको टोकाइबाट बच्न आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाउँमा पानी जम्न नदिने, पानी राख्ने भाँडा लामखुट्टे नछिर्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप बाल्ने र मलम लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, झुल लगाएर मात्र सुत्ने, पूरै शरीर ढाक्ने गरी लुगा लगाउनुपर्ने चिकित्सकहरूको सुझाव छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->