बागलुङ/महाकवी लक्ष्मी प्रसाद देवकोटाको१ सय १६ औं जन्मजयन्ती मनाइएको छ । बिद्यामन्दिर पुस्तकालयले कविता गोष्ठी,प्रवचन र रचना बाचन गरेर दिवश मनाएको हो । लक्ष्मीपूजाको दिन जन्मेकोले देवकोटाको जन्मजयन्ती तिहारकै अबसरमा मनाइन्छ ।
दिवशको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले साहित्यलाई जीवन बनाउन सकेमा समाजबाट लोभ क्रोध हटेर सुशासन कायम गर्न सहज हुने बताए । देवकोटाको जीवनीबाट पनि सुशासनको कामना गर्न सकिने उनको धारणा थियो ।
कार्यक्रममा साहित्यकार प्रेम छोटाले देवकोटाको नेपाली साहित्यमा योगदानको चर्चा गरे । उनले देवकोटाले जस्तै निस्वार्थ साहित्य सेवा गर्न सक्ने साहित्यकार चाहिएको पनि बताए । बिद्यामन्दिर पुस्तकालयका अध्यक्ष राम थापा अविरलको अध्यक्षता सचिव राजन शर्माको संचालन र उपाध्यक्ष रामचन्द्र शर्माको स्वागतमा सम्पन्न दिवश समारोहमा एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसी, उपप्राध्यापक हरिप्रसाद पाण्डेय, धौलागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष काजी रोशन लगायतले देवकोटाको साहित्य र नेपालको परिस्थिति बारे चर्चा गरे । देवकोटाले आफ्नो जीवन साहित्यमा मात्रै सर्मपित गरेकोले दर्जनबढी महाकाब्य र सयौं कविता रचेको सहभागिको भनाइ थियो । उनको पालापछि यतिधेरै महाकाब्य आउनै नसकेको समेत पाइएको छ ।
उक्त अबसरमा प्रतियोगितात्मक कविता गोष्ठी पनि आयोजना गरियो । प्रतियोगितामा गोबिन्द सुवेदी प्रथम, चन्द्रबहादुर केसी द्वितीयर यामनाथ आचार्य सान्त्वना भएका थिए । कार्यक्रममा नेपाल पत्रकारमहासंघका सचिव बिजय राना, पूर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डार िलगायतले पनि कविता बाचन गरेका थिए ।





