बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

छोन्हुप-जिन्जु बिद्यालयलाई कोरियाबाट भौतिक पूर्वाधार निर्माणमा सहयोग

छोन्हुप-जिन्जु बिद्यालयलाई कोरियाबाट भौतिक पूर्वाधार निर्माणमा सहयोग


  • लालप्रसाद शर्मा
  • कार्तिक २१ २०८१, बुधबार

पोखरा/ मुस्ताङको लोमन्थाङ गाउँपालिका–३ छोन्हुपस्थित छोन्हुप जिन्जु आधारभूत विद्यालयमा कक्षा कोठा थप्न कोरियाका दुई संस्थाले आर्थिक सहयोग गरेका छन् । जिन्जु फोरम कोरिया र गाङ नम लायन्स क्लब कोरियाले विद्यालयको पोखरा–२५ सुइखेतस्थित घुम्ती विद्यालयको पक्की दुई भवनमा कोठा थप्न आर्थिक सहयोग उपलब्ध गराएको विद्यालयले जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक वाङदी गुरुङका अनुसार हालैमात्र जिन्जु फोरम कोरियाका प्राडा किम योङसहित अन्य सदस्य र लायन्स क्लब अध्यक्ष जोङ उन सियो र अन्य सदस्य गरी २० जनाको समुह पोखरा आई उक्त सहयोग गरेको हो ।हाल रहेका २ पक्की भवनमा १० कोठा रहेकोमा त्यसले अपुग भएपछि फोरम र लायन्सले तला थपेर कोठा संख्या बढाउन आवस्यक रकम उपलब्ध गराएको विद्यालयले जनाएको छ । यसअघि २०७५ सालमा जिन्जु फोरम कोरियाले उक्त विद्यालयको २ तले भवन बनाइदिएको थियो । प्राडा किम योङको पहलमा कोरियाकै जिन्जु भन्ने ठाउँबाट आर्थिक सहयोग जुटाएर भवन बनाईएको हो । यसका लागि हाल काठमाडौं बस्दै आएका स्थानीय सम्टुक गुरुङको पहल उल्लेख्य रहदै आएको छ ।

विद्यालयमा नर्सरीदेखि ५ कक्षासम्मको पढाइ हुन्छ । ४० जना विद्यार्थी छन । विद्यार्थी सबैलाई आवासीय सुविधासहित पढाई सबै निशुल्क रहेको छ । १० कोठा मध्ये एक किचन, दुई सुत्ने कोठा, बाथरुम, स्टोर, कार्यालय र अन्य कोठामा पढाई हुँदै आएको छ । कक्षा कोठा अभाव भएको देखेपछि फोरम र लायन्सले सहयोग गरेको र तला थपेपछि सहज हुने प्रधानाध्यापक गुरुङले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं गण्डकी प्रदेशका सांसद नम्डु गुरुङले व्यवस्थपन समिति, विद्यालय परिवार र अभिभावक बसेर छलफल गरेरमात्रै कोठा थपको काम थालिने बताए । जाडोको समयमा पोखरा झारेर घुम्ती विद्यालयमा विद्यार्थीलाई राखेर पढाईन्छ । मुस्ताङमा पनि विद्यार्थीलाई आवासीय रुपमै राखेर पढाईने उनले बताए ।

विद्यार्थीलाई आवासीय रुपमा राखेर पढाउन चालु आर्थिक वर्षदेखि गाउँपालिकाले मासिक प्रतिविद्यार्थी ४ हजारका दरले रकम उपलब्ध गराउने भएको छ । यसदेखि बाहेक संघीय सरकारले घुम्ती विद्यालय संचालनार्थ बार्षिक एकमुष्ठ साढे ३ लाख रुपैयाँ दिन्छ । अरु खर्च भने विभिन्न संघसंस्था तथा व्यक्ति विशेषबाट आर्थिक सहयोग जुटाउने विद्यालयले जनाएको छ । विद्यालयमा ६ शिक्षक रहेकामा ५ दरबन्दी र १ जना काजमा आएका छन् । अरु ४ जना सहयोगी छन् । शिक्षकलाई पनि आवासीय सुविधा छ । विद्यार्थीलाई खान, बस्न, औषधोपचार र स्टेशनरी सबै निशुल्क हो ।

छोन्हुप जिन्जु आधारभूत विद्यालय साविक छोन्हुप गाविसभरी रहेका ६ वटा विद्यालय मर्ज गरी एउटै बनाइएको हो । साविकका सबै ६ वटै विद्यालयमा ३ कक्षासम्म पढाई हुन्थ्यो । तर सबै विद्यालया एकदुई जनामात्रै विद्यार्थी भएपछि मर्ज गरेर २०७८ मा छोन्हुप जिन्जु आधारभूत बनाई कक्षा ५ सम्मको पढाई थालिएको हो । चिसो बढेसंगै उपल्लो मुस्ताङवासी पोखरालगायत बेंशी झर्छन । अभिभावकसंगै विद्यार्थी पनि हिड्ने भएकाले उनीहरुको पढाई नबिग्रोस भनि झन्डै २ दशकदेखि पोखरामा ल्याएर घुम्ती विद्यालयमा पढाईन्छ ।

सुरुमा भाडाको घरमा राख्ने गरिएकोमा विभिन्न दाताबाट सहयोग जुटाएर भवन बनाएर घुम्ती विद्यालय संचालनमा ल्याईएको हो । साविकका सरस्वती, जनप्रभात, भृकुटी, बिरेन्द्र, दिब्यज्ञान र बुद्ध आधारभूत विद्यालय मर्ज गराएर गाउँपालिकाले छोन्हुप जिन्जी बनाएको हो । त्यतिबेला ६ विद्यालयमा जम्मा ४२ विद्यार्थी थिए । मुस्ताङमा अत्याधिक चिसो हुने भएकाले हिउँदका करीव ५ महिना विद्यार्थीलाई घुम्ती विद्यालय मार्फत पोखराका विभिन्न स्थानमा पढाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->