पर्वत / सहकारी ठगी गरेर एक वर्षदेखि फरार रहेका पर्वतको कुश्मामा रहेको ‘तपाईं हाम्रो सहकारी संस्था’का अध्यक्ष बालगोपाल श्रेष्ठविरुद्ध रेड नोटिस जारी भएको छ ।
२९ करोड रुपैयाँ ठगी गरेर फरार श्रेष्ठलाई इन्टरपोलले बुधबार रेडकर्नर नोटिस जारी गरेको प्रहरी नायव उपरीक्षक रविन विष्टले बताए । ‘नोटिस जारी भएको मौखिक जानकारी आएको छ,’ उनले भने, ‘लिखित कागजात भने हात परेको छैन ।’ यो नोटिसपछि विदेशमा रहेका श्रेष्ठलाई पक्राउ गर्ने बाटो खुलेको छ ।
सहकारीका पीडित बचतकर्ताले उनी भागेर अस्ट्रेलिया गएको बताउँदै आएका छन् । उनी भागेर अन्य देशमा जान सक्ने भएकोले छिटो रेडकर्नर जारी गर्न पीडितले प्रहरी र प्रशासनसमेत गुहार्दै आएका थिए ।
श्रेष्ठले करोडौ रकम हिनामिना गर्नुका साथै आफन्तलाई समेत २ करोड १० लाख रुपैयाँ लगानी गरेको भेटिएको छ । तर वर्षौंदेखि उनका आफन्तले पनि ऋण तिरेका छैनन् ।
२०७७ देखि ०८० को असारसम्म ३ पटकसम्म गरी श्रेष्ठका आफन्त पर्ने १३ जनालाई २ करोड १० लाख ऋण प्रवाह गरिएको सहकारीमा रेकर्ड छ । तीमध्ये बालगोपालका भाइ किशोर श्रेष्ठले माता पाथीभरा बहुउद्देश्यीय सहकारी संस्थाबाट पनि ११ करोड रुपैयाँ हिनामिना गरेको तथ्य भेटिएपछि जिल्ला अदालतले गत फागुनमै पुर्पक्षका लागि थुनामा पठाएको छ ।
सफ्टवेयर डेभलपरसँग मिलेमतो गरेर नक्कली ऋणी खडा गरी सहकारीको सबै रकम हिनामिना गरेर श्रेष्ठ भागेका हुन् । सहकारी रजिष्ट्रारको कार्यालय पोखराले गरेको अध्ययनमा बालगोपालले २९ करोड रकम ठगी गरेको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । कार्यालयले उनीविरुद्ध ठगी मुद्दा दायर गरे पनि श्रेष्ठ फरार छन् ।
श्रेष्ठका आफन्तहरु आमा शकुन्तला श्रेष्ठको नाममा ३७ लाख, भाइ किशोर र बुहारी बिनिता श्रेष्ठलाई ३५ लाखको दरले १ करोड ७ लाख लगानी गरेका छन् । उनीहरुले रकम तिरेका छैनन् । जेठान कर्णबहादुर श्रेष्ठलाई ३७ लाख रुपैयाँ, बहिनीज्वाइँ राजीन्द्र श्रेष्ठलाई ५० लाख ७१ हजार, गणेश श्रेष्ठलाई २ लाख ४० हजार ऋण दिएको देखिएको हो ।
तर उनीहरुबाट अहिलेसम्म ऋण असुलीको प्रयाससमेत भएको छैन । ठगीमा परेका बचतकर्ताहरुले प्रशासनलाई समेत उक्त तथ्यांक देखाएर ऋण असुल गरिदिन आग्रह गरेका थिए ।
गत वैशाखमा सहकारीको विशेष साधारणसभामार्फत अध्यक्ष भएका नविनकुमार पौडेल सहितका बचतकर्ताले प्रशासनको ध्यानाकर्षण गरिरहेका थिए । बचतकर्ताले केही ऋण उठाएर साना बचतकर्ताको रकम फिर्तासमेत गरेका छन् ।
सहकारीका १ सय ४ जनामात्रै शेयर सदस्य छन् । अध्यक्षसहित २२ जनाविरुद्ध अदालतमा मुद्दा परेको छ । उपाध्यक्ष रहेका कृष्णप्रसाद पौडेलले कुनै पनि निर्णय प्रक्रियामा भाग नलिएको र विदेशमा रहेको बेलामा पदमा राखिएकोले अदालतले ३० लाख धरौटीमा छुटाएको छ ।
पौडेलको पनि उक्त सहकारीमा ९० लाखभन्दा बढी बचत रहेको छ । बाँकी सबै शेयर सदस्य जुटेर वैशाखमा विशेष साधारणसभामार्फत नयाँ नेतृत्व चयन गरेका थिए ।





