बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

स्वास्थ्य शिविरबाट ११ सय बिरामीले पाए सेवा

स्वास्थ्य शिविरबाट ११ सय बिरामीले पाए सेवा


  • संजय रेग्मी
  • कार्तिक २३ २०८१, शुक्रबार

पर्वत/ग्रामीण क्षेत्रमा रहेका तथा आर्थिक समस्याका कारण चाहेर पनि अस्पताल जान नसकेका लगायतलाई लक्षित गरी जिल्लाको फलेवास नगरपालिकामा राखिएको स्वास्थ्य शिविरमा एक हजार एक सय जनाको स्वास्थ्य परीक्षण भएको छ ।
वीपी चिन्तन प्रतिष्ठान काठमाडौँको आयोजनामा फलेवास नगरपालिका–५ खानीगाउँस्थित भवानी विद्यापीठ माध्यमिक विद्यालयमा बुधबार र बिहीबार गरी दुई दिनका लागि निःशुल्क स्वास्थ्य शिविर राखिएको थियो । फलेवास नगरपालिका, खानीगाउँ वडा कार्यालय र भवानी विद्यापीठ मावि आयोजक रहेको शिविरका लागि खानीगाउँको धुलिखेल अस्पतालले समन्वय गरेको थियो ।
शिविरमा तीन सय ५० जनाले मुटु रोग सम्बन्धी, दुई सय २० जनाले हाड, जोर्नी तथा नशा रोग सम्बन्धी, एक सय ५० जनाले छाती रोग सम्बन्धी, दुई सय जनाले दाँत रोग सम्बन्धी, दुई सय जनाले जनरल मेडिसिन सम्बन्धी र महिला प्रजनन रोग सम्बन्धी ७० जनाले सेवा लिएका भवानी विद्यापीठ माध्यमिक विद्यालयका प्रधानाध्यापक अर्जुन कुमार रेग्मीले जानकारी दिए ।
विभिन्न स्वास्थ्य समस्या भएर पनि उपचारको लागि पोखरा काठमाडौँ लगायतका ठाउँमा जाने समय नभएका तथा आर्थिक समस्याका कारण रोग पालेर बसिरहेका सेवाग्राहीको लागि शिविर उपयोगी भएको उनको भनाई छ । ‘ग्रामीण क्षेत्रमा विशेषज्ञ सेवा पाउन समस्या नै हुन्छ । कतिपय ज्येष्ठ नागरिकहरू बाहिरका हस्पिटलमा जान कठिन हुने भएकोले रोग पालेर पनि बसेका हुन्छन’, प्रअ रेग्मीले भने, ‘शिविरमा त्यस्ता समस्यामा रहेकाहहरुले सेवा पाएका छन् ।’
शिविरमा मुटु रोग विशेषज्ञ डा. कमल लम्साल, छाती तथा दम रोग विशेषज्ञ डा. सुबोध ढकाल, बाल रोग विशेषज्ञ डा. बलराम विष्ट, बाथ हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डा. अमृत घिमिरे, स्त्री रोग विशेषज्ञ डा. शारांसिका भण्डारी, दन्त रोग विशेषज्ञ डा. प्रतिभा धमला तथा सामान्य चिकित्सातर्फ डा. नरेन्द्र मैनाली लगायतका चिकित्सकहरूले स्वास्थ्य परीक्षण गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->