बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कविता : केकबिना जन्मदिन अधुरो

कविता : केकबिना जन्मदिन अधुरो


  • सुरज पौड्याल
  • कार्तिक २४ २०८१, शनिबार

केकबिना जन्मदिन हुने भो अधुरो
मैनबत्ती ननिभाए उत्सव नै मधुरो
सञ्जालमा लेखोट भयो नभई नहुने
भेट हुँदा नचिने’नि मित्र हजार छुने

एउटै छानामुनि बस्ने, खाने सुत्ने दुई
एकार्कालाई शुभकामना लेख्छन् जोईपोइ
यो कामनाभन्दा पनि तिनको लोकाचार
बधाई देख्न पाउँदा छन् हर्षित अपार

घ्याम्पे उदर तस्बिर खिची देखाउनुपर्ने
खिसीटिउरी गरे पनि हेर्नचाहिँ पर्ने
दहीचिउरा पाखे, बेबी सावर सहरिया
थाहा छैन भा’को आफू देशीको भरिया

स्याउ हुन्न एप्पल हो, बनाना हो केरा
बा र आमा होलान् तिम्रा, ड्याडी ममी मेरा
टाईबिना विद्यालय पोसाक पनि नाइँ
आफ्नो भाषा लुकीलुकी, अंग्रेजीको हाइ

त्यस्तो पनि केको भोज बिनासुरापान
घुट्को लगाइसकेपछि बाँकी कसको मान
नभए’नि औकात ऋण गरीकन देखाऊ
तिर्नुपर्दा ङिच्च परी मुख बरु लुकाऊ

देखावटी धाक नै आज परिचय बन्यो
त्यो धाक देखाउन भनी होडबाजी चल्यो
उँभो के पो हुने यसले उँधो छ इसारा
मौलिकतामा नै हुन्छ सहज गुजारा ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->