बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

किसान धान कोदो थन्क्याउन व्यस्त

किसान धान कोदो थन्क्याउन व्यस्त


  • संजय रेग्मी
  • कार्तिक २५ २०८१, आइतबार

पर्वत/दशैं र तिहारको टीका थाप्ने बेलामा खेतका गरामा धानका निहिन हुनु हुँदैन भन्ने यहाँको मान्यता छ । कि त टीका अगाडि नै धान थन्क्याएको वा कुन्यूँ चुलाएको हुनुपर्छ, कि त टीकापछि मात्रै धान काट्नुपर्छ । कतिपय ठाउँमा धान पाकेर थन्क्याउने बेला भएको भए पनि यस वर्ष दशैं र तिहारको टीका थाप्ने बेलामा धान खासै नपाकेकोले कृषकहरू तिहार लगत्तै खेतमा व्यस्त भएका छन् ।
तिहारसम्म ठिक रहेको मौसममा लगत्तै खराबी आउँदा कृषकहरूलाई धान कसरी जोगाउने भन्ने मुस्किल भएको छ । तिहारकै भोलिपल्टबाट जसोतसो खेताला जोरजाम गरेर फाँटभरिको धान काटेकै दिनको दिउसोबाट सुरु भएको वर्षाले कृषकहरूको निद्रा हराएको छ । अझै पनि राम्रोसँग घाम लागेको छैन भने आकाश बादलले धुम्म बन्दा कृषकहरूलाई खराब मौसम छलेर धान थन्क्याउन भ्याइनभ्याइ भएको छ ।
यसअघि गत कात्तिक चार गने हावाहुरी र असिनासहित भएको वर्षाले पाक्नै लागेको धान झार्ने, ढलाउने र डुबाउने गर्दा जसोतसो बाँचेको धान थन्क्याउन व्यस्त रहेको फलेवास नगरपालिका–४ मुडिकुवाका कृषक रघुनाथ गौडेलले बताए । चाडबाडका कारण खेतमा पस्न नपाइएको बेलामा अहिले धान र कोदो समेत एकै पटक पाकेको र यही बेलामा मौसममा पनि समस्या आउँदा कृषकहरू चिन्तामा रहेको उनको भनाई छ ।
‘टीका थाप्ने बेलामा गरामा धानका निहिन राख्नहुन्न भन्ने मान्यताले तिहार अगाडि धानमा हात हालिएन। तिहारको भोलिपल्ट गाउँभरका सबैले धान काट्न सुरु गरे, फाँटैभरि धानका निहिन थिए’, उनले भने, ‘१९ गते दिउसोबाटै निरन्तर वर्षा भयो । धान आलै भएकोले धेरै असर त भएन। तर अहिले पनि मौसम नखुल्दा कति बेला निहिन रुझाउने हो ।’
विगतमा प्राय धान थन्क्याइसकेपछि कोदो पाक्ने गरेकोले कामको चाप एकै पटक पर्ने थिएन । तर, यसपटक कोदो पनि धान सँगसँगै पाक्दा धान मात्रै नभएर कोदो जोगाउने पनि चुनौती रहेको फलेवास नगरपालिका–३ शंकरपोखरीका कृषक विष्णु भण्डारीले बताए । धान र कोदो काट्ने समयमा केही दिनको मात्रै फरक हुने गरेको भए पनि यस पटक तिहार उम्केर धान थन्क्याउन लाग्दा कोदो पाकेर झर्ने बेला हुन लागेको उनको भनाई छ ।
अध्ययन, रोजगारी लगायतका सिलसिलामा गाउँ छाडेर सहर र अन्य ठाउँमा बस्नेहरू चाडबाडको बेलामा गाउँ गएको भए पनि उनीहरू फर्किसकेका छन् । चाडबाडमा भरिभराउ बनेका गाउँहरू सुनसान बनिसकेका छन् । गाउँमा बाँकी रहेका ज्येष्ठ नागरिक र प्रौढ उमेरका बाबुआमाहरू मात्रै खेतबारीमा व्यस्त देखिएका छन् । उनीहरू घरमा ताला लगाएर बिहानदेखि बेलुकासम्म नै बाली थन्क्याउन खेत र बारीका गरामा खटिरहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->