बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

चिनिया राजदूत सोङसमक्ष फलेवास नगरपालिकाले राख्यो विकासमा सहकार्यको प्रस्ताव

चिनिया राजदूत सोङसमक्ष फलेवास नगरपालिकाले राख्यो विकासमा सहकार्यको प्रस्ताव


  • संजय रेग्मी
  • कार्तिक २६ २०८१, सोमबार

पर्वत/जिल्लाको फलेवास नगरपालिकाकाले चिनिया राजदूत चेन सोङसँग नगरपालिकाको विकासमा सहकार्य गर्न अनुरोध गरेको छ ।
फलेवासमा रहेको भवानी विद्यापीठले नेपाल सरकारमार्फत चिनिया राजदूतावासलाई विद्यालयको शैक्षिक तथा भौतिक विकासको लागि बुझाएको प्रतिवेदनपछि विद्यालयको अवलोकनमा आइपुगेका राजदूत सोङलाई नगरपालिकामा स्वागत गर्दै नगरपालिकाले विकासमा सघाउन अनुरोध गरेको हो ।
उनको स्वागतमा आयोजित कार्यक्रममा नगरपालिकाको तर्फबाट अनुरोध किताब हस्तान्तरण गर्दै नगर प्रमुख गंगाधर तिवारीले उत्तर दक्षिण पहुँच मार्ग कालीगण्डकी लोकमार्गको स्तरोन्नतिले नगरको आयआर्जन र धार्मिक पर्यटन विकासमा महत्त्वपूर्ण योगदान पु¥याउन सक्ने सम्भावना रहेको राजदूत सोङलाई सुनाए । नगरपालिकामा बनेको चार सय किलोमिटर भन्दा बढी सडकलाई व्यवस्थित गरी सबै बस्तीबाट नगर केन्द्र तथा कृषि, पशुपालन र फलफूल उत्पादन र सोको बजारीकरणबाट नागरिकको जीवनस्तरमा अति शीघ्र सुधार गर्न सकिने बताए ।
राज्यबाट अध्ययनको अवस्थामा रहेका कालीगण्डकी बहुउद्देश्यीय जलाशययुक्त परियोजना र लमाए खोला जलाशययुक्त परियोजनाहरू कार्यान्वयन हुन सकेमा यस पालिकाको लाइफलाइन र समृद्धिको मुख्य आधारको रूपमा रहन सक्ने नगरप्रमुख तिवारीले सुनाए । जङ्गली जनावर कृषकको लागि मुख्य समस्या बनेको अवस्थामा कृषि र पशु क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरण गरी रोजगारी र आयआर्जनका क्षेत्रमा लगानी गर्न चुनौतीपूर्ण अवस्था देखिएको तथा नगरबाट भइरहेको तीव्र बसाइसराइ रोक्न स्थानीय तहमा बजेट अभाव रहेको किताबमा उल्लेख छ ।
नागरिक चाहना र उपलब्ध स्रोत बिचको बढ्दो दुरीले सहरी पूर्वाधार सहितको एकीकृत विकास हुन नसक्दा उत्पादनशील जनशक्तिको पलायन, सहरमुखी प्रवृत्ति एवं बढ्दो बसाइसराइले ग्रामीण क्षेत्र बालबालिका र बृद्धहरुको थलोमा रूपान्तरण हुने र नगरपालिकाको अवस्था थप अव्यवस्थित हुन सक्ने तथा विकास प्राथमिकताहरू परिवर्तन हुने सक्ने अवस्था समेत सृजना भएको पनि राजदूत सोङलाई बताइएको छ ।
फलफूल खेती, नगदे बालीको विकास, कृषिको व्यवसायीकरण र बजारीकरण गर्ने कार्यक्रमहरू, दूध र मासुमा आत्मनिर्भर हुँदै गरेको यस पालिकामा व्यवस्थित कृषि फार्महरू र पशुपालनलाई व्यवस्थित गरी आत्मनिर्भर विकासका कार्यक्रमहरू सञ्चालनका कुरा पनि किताबमा राखिएका छन् । यस्तै घरेलु उद्यम स्थापना तथा व्यवसायीकरण र बजारीकरणका कार्यक्रम, विशेषज्ञ सहितको स्वास्थ्य सेवा र गुणस्तरीय स्वास्थ्य उपचारमा जनताको पहुँच बढाउने कार्यक्रमहरू, सामुदायिक विद्यालयको गुणस्तर सुधार गरी गुणस्तरीय शिक्षा तथा प्राविधिक शिक्षाको विकासमा सघाउ पुराउने कार्यक्रमहरू पनि नगरपालिकामा आवश्यक रहेका उल्लेख गरिएको छ ।
बाह्र महिना सवारी सञ्चालन हुन सक्ने सडक संरक्षण तथा स्तरोन्नति, दुई आर्थिक केन्द्र र जिल्लाहरू जोड्ने सडक र पर्यटकीय मार्ग निर्माण, बसाइसराइ रोक्न रोजगारी सृजना गर्ने र त्यस्तो सम्भावना खोजी गर्ने कार्यक्रम, सहरी पूर्वाधार सहितको एकीकृत बस्ती विकास गर्ने कार्यहरू हाल नगरपालिकाको समग्र विकासमा प्रत्यक्ष प्रभाव पार्ने मुख्य कार्यक्रम, सरोकार तथा आवश्यकताकाका रूपमा रहेको पनि नगर प्रमुख तिवारीले उल्लेख गरेका छन् । नगरको महत्त्वपूर्ण रिङ रोडको रूपमा रहेका विभिन्न ११ मध्ये सात वटा वडाका लागि प्रत्यक्ष लाभ दिने झकलक—चितिपानी—चुचनदेउराली—मैदान, मिहेलपोखरी—भंगरा, बेतेहेनी—ठानामौला—लिमिठाना—लमाए खोला—ओख्ले—देविस्थान सडकको स्तरोन्नतिको लागि आवश्यक सहयोगका लागि विशेष अनुरोध गरिएको छ ।
यस नगरपालिकाको समग्र विकासमा कोशेढुंगा साबित हुन सक्ने र नगरको विकासमा प्रत्यक्ष प्रभाव पारी आर्थिक, सामाजिक र पूर्वाधार विकास सँगै नगरको सेवा प्रवाहमा समेत महत्त्वपूर्ण योगदान पुराउने भएकोले सडकको स्तरोन्नति गर्न चिनिया राजदूतबाट पूर्ण सहयोग हुने अपेक्षा सहित सडकको पूर्व सम्भाव्यता अध्ययनको प्रतिवेदन पनि राजदूत सोङलाई बुझाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->