बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

‘फ्रुट फ्लाई’ ले बिक्री गर्ने बेलाका सुन्तला सखाप

‘फ्रुट फ्लाई’ ले बिक्री गर्ने बेलाका सुन्तला सखाप

झिँगा जस्तो किरा सुन्तलाको दानमा बस्ने, त्यसले फलमा अण्डा पार्ने र त्यही अण्डा औँसिया किरामा रूपान्तरण भएर कुहिन सुरु भएपछि फल झर्ने


  • संजय रेग्मी
  • कार्तिक ३० २०८१, शुक्रबार

पर्वत/बजारमा सुन्तला बिक्री गर्ने बेला हुनै लाग्दा सुन्तला झरेर बोट नै रित्तिन लागेपछि पर्वतको मोदी गाउँपालिका–२ देउपुरका कृषकहरू चिन्तामा परेका छन् ।
व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आइरहेका कृषकहरूको सुन्तला बगैँचा झरेका सुन्तलाले ढाकिँदा यस वर्ष पनि घाटा बेहोर्नुपर्ने अवस्था आएको कृषकहरूले बताएका छन् । ३१ वर्षदेखि व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आइरहेका कृषक दाताराम चापागाईँले ‘चाइनिज बटरफ्लाई’ नामले चिनिने औँसिया किराले सुन्तला नष्ट गरेको बताए ।
सुरुमा दाना पहेँलो हुने र पछि दाना झर्ने गर्दा बगैँचाका झन्डै ८० प्रतिशत सुन्तला झरेर सकिएको उनको भनाई छ । झिँगा जस्तो किरा सुन्तलाको दानमा बस्ने, त्यसले फलमा अण्डा पार्ने र त्यही अण्डा औँसिया किरामा रूपान्तरण भएर कुहिन सुरु भएपछि फल झर्ने गरेको कृषक चापागाईँले बताए । यसको समाधानको लागि कृषि प्राविधिकहरूले बगान सरसफाइ गर्ने, झरेको दाना १२ घण्टा घाममा सुकाएर प्लास्टिकमा राखेर गाड्नुपर्ने लगायतका उपायहरू सिकाएको भए पनि ठुलो परिमाणमा सुन्तला झरेपछि त्यसो गर्न सम्भव नै नभएको उनको भनाइ छ ।
‘सामान्य रूपमा झरेको भए पो सङ्क्रमित दानाहरू प्लास्टिकमा राखेर घाममा सुकाएपछि मात्रै खाडलमा गाड्न भ्याइन्थ्यो होला । तर भएजतिको सुन्तला झर्न थालेपछि त्यो काम गरेरै नभ्याइने भयो’, कृषक चापागाईँ भन्छन्, ‘फेरि यो सामुदायिक रूपमा हुने प्रकोप हो। कोही एक जनाले सफा गरेर प्रकोप हराउँदैन । कोही एक जनाको बगैँचामा झरेको एक दाना मात्रै सुन्तला बाँकी रह्यो भने त्यसैले गाउँभरिको बगैँचाको सुन्तला सोतर पार्छ ।’


विगतका बर्सहरूमा पनि देउपुरको सुन्तलामा यस्तै समस्या देखिएकोमा यस वर्ष पनि उही समस्या देखिएको हो । यसको समाधानको लागि कृषि ज्ञान केन्द्र र अन्य निकायले किरा नियन्त्रण गर्ने औषधिहरू पाएको भए पनि सबै कृषकहरूले त्यो औषधि नपाउँदा पनि समस्या भएको उनको भनाइ छ । किरा मार्नको लागि १२ हप्तासम्म विषादी प्रयोग गर्ने गरी जेठमा नै औषधि आएको भए पनि औषधि ल्याएकाहरूले सबै कृषकलाई वितरण नगरेको उनको गुनासो छ ।
अर्का कृषक प्रकाश चापागाईँले विगतका वर्षमा २५÷३० किलो फल्ने बोटमा यस वर्ष ५÷७ किलो मात्रै बाँकी रहेको बताए । आफ्नो बगैँचामा रहेका करिब डेढ सय बिरुवामा सुन्तला फल्ने गरेको भन्दै उनले आफ्नो बगैँचामा त बोट समेत सुक्ने समस्या सुरु भएको बताए । देउपुरका कणेन, देउराली, डढुवाबारी, कोरुङ्गा, दोबाटा लगायतका ठाउँमा गत वैशाखमा आएको असिनापानीले बोटमा असर गरेको थियो । त्यो बेलामा पातसहित झरेको र कतिपय बोटको बोक्रा पनि छिल्लिएकाले त्यसैका कारणले पनि बोट सुकेको हुन सक्ने प्रकाश बताउँछन् ।
कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख परशुराम अधिकारीले झिँगा जस्तै देखिने ‘फ्रुट फ्लाइ’ नामले चिनिने औँसा किराले नै देउपुरको सुन्तला खेतीमा समस्या आएको बताए । त्यो किरा फलमा बसेपछि प्रजनन अङ्गले फल नै छेडेर फलको भित्री भागमा अण्डा पार्ने त्यो अण्डाबाट फलभित्रै बच्चा बन्ने उनको भनाइ छ । फलभित्र हुर्किएको बच्चाले भित्रैबाट फल खान सुरु गरेपछि सुन्तला कुहिन सुरु गर्ने झर्ने गरेको अधिकारी बताउँछन् ।
देउपुरको समस्या समाधानको लागि अभियानको कृषि ज्ञान केन्द्र पर्वत र बाली संरक्षण प्रयोगशाला पोखराले संयुक्त रूपमा विषादी वितरण गरेको भए पनि कृषकहरू सबैले प्रयोग नगर्दा र तोकिएका मापदण्ड पूरा नहुँदा सङ्क्रमण नियन्त्रणमा आउन नसकेको उनको भनाई छ । जबसम्म झरेका सुन्तलालाई मापदण्ड अनुसार नष्ट गर्न सकिँदैन तबसम्म बोटमा रहेका फलमा सङ्क्रमण भइरहने कार्यालय प्रमुख अधिकारीले बताए । आफूहरू कृषकहरूको घरमा नै पुगेर पुगेर सिकाउँदै आइरहेको भन्दै उनले कोही एक जनाले मात्र नभएर गाउँका सबै कृषकहरूले बगैँचा सफा गर्नुपर्ने सुझाव दिए ।
किरा र सङ्क्रमण नियन्त्रणको लागि दिएको किटनाशक औषधि सबै कृषकहरूले नपाएको भन्ने विषयमा उनले सबै कृषकहरू एकै ठाउँमा जुटौँ भन्दा कोही नजुट्ने भएपछि केही अगुवा कृषकहरूमार्फत पठाइएको बताए । देउपुरमा करिब दुई सय भन्दा बढी कृषकहरूले सुन्तला खेती गर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->