बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पर्वतमा गोठमै गाईभैंसीको बाँझोपन उपचार

पर्वतमा गोठमै गाईभैंसीको बाँझोपन उपचार


  • संजय रेग्मी
  • मंसिर २ २०८१, आइतबार

पर्वत/भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतले बाँझोपनको समस्या रहेका गाईभैंसीहरुको उपचार सुरु गरेको छ ।
कुश्मा नगरपालिका, जलजला गाउँपालिका र मोदी गाउँपालिकाका गाईँभैंसीहरुको उपचार सुरु भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतका कार्यालय प्रमुख ऋषभ गुरागाईँले बताए । उनका अनुसार जिल्ला र स्थानीय तहमा उपलब्ध रहेका प्राविधिकहरूले गाई भैँसीको बाँझोपनको समस्या हटाउन केही समय पहिलेबाट नै उपचार सुरु गरेका थिए । तर, कतिपय गाई भैँसीमा समस्या जटिल देखिएपछि जिल्लामा उपलब्ध प्राविधिकहरूबाट उपचार हुन नसक्ने भएपछि कृषि बन विश्वविद्यालय चितवन विज्ञ सत्रुधन शाहलाई बोलाइएको थियो ।
गत कार्तिक २९ र ३० गते विज्ञसहितको टोलीले तीन वटा स्थानीय तहका २८ घरका ६२ वटा पशुहरूको उपचार सुरु गरिएको हो । जसमा १८ वटा भैँसी र ४४ वटा गाईको उपचार गरिएको छ । सम्बन्धित स्थानीय तहमा समन्वय गर्दै त्यहाँका प्राबिधिकहरुसहित घरदैलो कार्यक्रम गरेर प्रत्येक कृषकको गोठमा नै पुगेर पहिलो चरणको उपचार सुरु गरिएको कार्यालय प्रमुख गुरागाईँले बताए ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले गर्दै आएको बाँझोपनको उपचार र हाल बोलाइएको विज्ञसहितको टोलीले गरेको उपचारका क्रममा पर्वतका पशुमा बाँझोपनको समस्या देखिनुको पहिलो कारण पोषणको अभाव रहेको पाइएको छ । दोस्रोमा कृषकहरूमा प्राविधिक ज्ञानको अभाव, तेस्रोमा हर्मोनको गडबडी र चौथोमा नाम्ले माटे जस्ता आन्तरिक परजीवीको कारण देखिएका छन् ।
‘गाई भैँसीमा आउने बाँझोपनको कारण ठाउँ अनुसार फरक हुन्छ। कृषकहरूमा सामान्य प्राविधिक ज्ञान नहुँदा पनि समस्या भएको देखिएको छ । उहाँहरूले पशुले भाले खोजेको समयको पहिचान गर्न नै नसकेको पाइएको छ’, गुरागाईँले भने, ‘प्राविधिकलाई अनावश्यक रूपमा अत्त्याउँदा पनि समस्या देखिएको छ । भाले खोजेको १२ घण्टा पछाडि मात्रै भाले लगाउनुपर्छ भन्ने ज्ञान प्राबिधिकहरुलाई मात्रै छ । कृषकहरूलाई यो बारेमा ज्ञान नहुँदा भाले खोज्दा बित्तिकै आइहाल्नप¥यो भनेर अत्याउनुहुन्छ, जसले गर्दा बाँझोपनको समस्या देखिन्छ ।’
बाँझोपनको समस्या देखिएका पशुमा यो अभियानमा सिधै कृत्रिम गर्भाधान नगरी पहिले उनीहरूको समस्या पहिचान गरेर उपचार सुरु गरिएको छ । चितवनबाट बोलाइएका विज्ञले अभियानका क्रममा प्रत्येक पशुको समस्याको वर्णन उपचार विधि सहितको प्रक्रिया लेखेर जिल्लाका र स्थानीय तहका प्राविधिकहरूलाई दिएका छन् । अब यहाँका प्राविधिकहरूले सोही अनुसारको उपचार गरेर पशुलाई गर्भाधानका लागि योग्य बनाएपछि मात्रै कृत्रिम गर्भाधान गरिने छ ।
स्थानीय तहको समन्वयमा पशु सेवा विज्ञ केन्द्र पर्वतले सञ्चालन गरेको शिविरले कृषकहरूको लागि धेरै राहत हुने जलजला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यले बताए । अहिले गाई भैँसीको मूल्य चर्को रहेको र महँगो मूल्य तिरेर खरिद गरिएका गाई भैँसीमा बाँझोपनको समस्या आउँदा कृषकहरू ठुलो आर्थिक भारमा पर्ने उनको भनाई छ । यो अवस्थामा विज्ञ केन्द्रले विशेषज्ञसहितको प्राविधिक टोली लिएर कृषकका गोठमा नै पुगेर सुरु गरेको उपचारले कृषकलाई खुसी मिलेको आचार्य बताउँछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->