पर्वत/स्वास्थ्य जनसंख्या मन्त्री प्रदीप पौडेलले तलब खाने हरेक व्यक्तिको दुई प्रतिशत रकम बिमा कोषमा जम्मा गर्न प्रस्ताव गरिएको बताएका छन् । मंगलबार पर्वत अस्पतालको ‘डिजिटलाइजेसन’ कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै उनले स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन राज्य, निजी क्षेत्र र नागरिक सबै तयार हुनुपर्ने बताए ।
तलब खानेहरूको दुई प्रतिशत रकम सिधै बिमा कोषमा जाने गरी काम गर्न खोज्दा आफूलाई कतिपयले महत्वाकांक्षी भएर बोलेको त कतिपयले मन्त्रीले जे पायो त्यहीं बोलेको आरोप लगाएको पनि उनले बताए । रोजगारी पाएकाहरूले उपचार पाउन सहज भएको भएपनि रोजगारी, आम्दानी नभएका तथा बिपन्न परिवारले उपचार नै पाउन नसकेको अवस्था रहेको भन्दै मन्त्री पौडेलले उनीहरूलाई बचाउनको लागि पनि तलबको दुई प्रतिशत काटिने व्यवस्था हुनुपर्ने धारणा राखे ।
‘यो पारित भएको वा पूरा भएको कुरा होइन । हामीले प्रस्ताव गरेको कुरा के हो भने जसले तलब खान्छ उसको तलबको दुई प्रतिशत बिमा कोषमा जाने व्यवस्था हुनुपर्छ’, मन्त्री पौडेलले भने, ‘यो कसरी सम्भव छ भन्ने कुरा प्रस्तावमा लेखिएको छ । कतिको रोजगारी छैन, कतिले उपचार नै पाएका छैनन् । त्यसैले सम्बन्धित क्षेत्रमा जसले तलब खान्छ यसले दुई प्रतिशत योगदान गर्दा मात्रै पनि उपचार नै नपाएकाहरूले उपचार पाउन सक्छन् ।’
उपचार गर्ने कुनै उपाय नै नभएका मान्छेलाई बचाउनु सबैको कर्तव्य हुने भन्दै उनले सरकारले उठाउने सबै कर, भ्याट र व्यक्तिले तिर्ने करबाट पनि ०.५ प्रतिशत बिमा कोषमा जानुपर्छ भन्ने प्रस्ताव गरिएको मन्त्री पौडेलको भनाई छ । स्वास्थ्य कर कोषमा अहिले जति उठ्छ त्यसमा तेब्बर हुने व्यवस्था हुनुपर्ने, सिम कार्ड, डिजेल, पेट्रोल लगायतबाट पनि केही रकम बिमा कोषमा जाने गरी काम गर्नुपर्ने पनि उनले बताए ।
औषधि विक्रेताहरूबाट सेवाग्राही ठगिने गुनासाहरू धेरै आएपछि यसको समाधानको लागि एक महिनाभित्रमा नै नयाँ व्यवस्था ल्याउन लागिएको उनले बताएका छन् । सबै फार्मेसीले आफ्नो पसलमा रहेका औषधि र तिनीहरूको मूल्य देखिने गरी बोर्डमा टाँसेको हुनुपर्ने उनको भनाई छ ।





