शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

एमाले गण्डकीलाई शुभेच्छुकको ‘भूमेदान’, बन्दै प्रदेश कार्यालय

एमाले गण्डकीलाई शुभेच्छुकको ‘भूमेदान’, बन्दै प्रदेश कार्यालय

जग्गादाता आचार्य पोखरा-३३ का निवर्तमान वडाध्यक्ष एवं एमाले कास्कीको ११ औं अधिवेशनमा उपाध्यक्षका प्रत्यासी हुन् ।


  • ढोरपाटन संवाददाता
  • मंसिर ७ २०८१, शुक्रबार

पोखरा/अघिल्लो वर्षको असोजमा सम्पन्न एमाले गण्डकी प्रदेशको पहिलो अधिवशेनबाट म्याग्दीका नवराज शर्मा अध्यक्षमा विजयी भए । स्थायी कमिटी सदस्य खगराज अधिकारी समर्थक मायानाथ अधिकारीलाई पाखा लगाउँदै टिमसहित विजयी शर्माले चुनावकै बेला प्रदेश कमिटी भवन निर्माणको एजेण्डा पस्केका थिए । त्यसअघिसमेत प्रदेशको अध्यक्ष रहेका शर्माले आफ्नै भवनको सपना देख्नुलाई स्वभाविक मानियो ।
अध्यक्ष शर्मासँग पार्टी सदस्य,उद्योगी÷व्यवसायी,प्रवासमा रहेका शुभेच्छुक तथा पार्टीको तर्फबाट जनप्रतिनिधि बनेकाहरुबाट ‘सहयोग’उठाएरै भवन ठडिने योजना थियो । आड भरोशा दिँदै आएका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पनि अध्यक्ष शर्माको योजनालाई अनुमोदन गरिदिए ।

पोखरा ९, नयाँबजारको भाडाको घरबाट कार्यालय चलाउँदै आएका अध्यक्ष शर्मा भवन निर्माण अभियानमा लागे । केही शुभेच्छुकले सुरुमै खातामा रकम हालिदिए,कतिले चाहिँ पछि दिने गरी कबोल गरे । प्रदेश सचिव धनञ्जय दवाडीका अनुसार भनेजस्तो पाए घर नै पनि किन्न सकिने मत बलियो बन्यो । भाडाको भवनमा बसेकाले तत्काल सोच्ने पनि त्यही नै त थियो ! घरको खोजी भयो । एमाले गण्डकीको लागि घर चाहिएको कुरा शुभेच्छुकहरुसम्म पुग्यो ।
शुभेच्छुकहरुले पोखरा-८,सिर्जनाचोकमा रहेको ५ तले घर देखाए । भूमिगत कोठासहितको भवनको मूल्य १० करोड भनियो ।सभाकक्ष, पार्किङ नभए पनि घर हेर्दा ठीकै थियो । पोखराका चर्चित कारोबारी मानबहादुर गुरुङ त्यो घरको मालिक थिए ।
मोलमोलाइ र ठीक÷बेठीक के भन्ने छलफल चलिरहेकै बेला अध्यक्ष शर्मालाई डेंगीले गाँज्यो । परिवार म्याग्दी थिए । डेरामा कसले औषधि दिने ? कसले हेरचाह गर्ने ? उनी म्याग्दी हानिए । अध्यक्ष नहुँदा पनि घर किन्ने कुरो रोकिएनछ ।अध्यक्ष शर्माका अनुसार जसले त्यो घर राम्रो छ भन्ने सिफारिस गरेका थिए, उनीहरुले त्यो कुरा गण्डकी इन्चार्ज एमाले सचिव गोकर्ण विष्टसम्म पु¥याएछन् ।
घरधनीलाई पैसाको आवश्कता भएकाले ९ करोड ६५ लाखमै दिन तयार भएको सन्देश पनि सुनाइएछ । कम मूल्यमा घर पाइएको भन्दै इञ्चार्ज विष्टसहितको टोलीले तत्काल १५ लाख रुपैयाँ बैना लगाउने र २०८० को चैत मसान्तसम्म भुक्तान गर्ने गरी सहमति गरेछन् । इन्चार्जको उपस्थितिमा निर्णय भएसँगै प्रदेश कमिटीले १५ लाख रुपैयाँको चेक पनि दिएछ ।
बैना लगाए पनि ठूलो रकम भुक्तानी बाँकी थियो । पार्टीका शुभेच्छुकहरुसँग सहयोग उठाउने कार्य गर्नुअघि अध्यक्ष शर्मासहित इन्जिनियरहरुले घरको निरीक्षण गरेछन् । चोटा-कोठा चहारेर सम्भावित लागत र मापदण्ड पालन भए/नभएको विषय खुट्याएछन् ।
निरीक्षणको क्रममा इन्जिनियरले निर्माण सम्पन्नको प्रमाणपत्र नभएको,दायाँतिरको सडकको मापदण्ड नछोडिएकोलगायका कैफियत देखाए । सम्पन्नको प्रमाणपत्र नै नभएको घर किन्न अध्यक्ष शर्मासहितको टोलीले आनाकानी गर्न थाल्यो । तर,पार्टीभित्रको एउटा समूह चाहिँ अझै पनि त्यही घर किन्नुपर्छ भन्ने रटानमा थियो । स्रोतका अनुसार घरधनी मानबहादुरसँगको निकटता र व्यक्तिगत आर्थिक लाभको लागि लागेको सो समूह सफल बनेन ।
‘सम्पन्नको प्रमाणपत्र पनि छैन,मापदण्ड पनि पालन नभएको पाइएपछि त विधि–विधान मान्ने पार्र्टी अगाडि बढ्ने कुरै रहेन,’अध्यक्ष शर्माले भने,‘यो कुरा मैले पार्टीका नेताहरुलाई पनि भनेँ,शुभेच्छुकको सहयोग दुरुयोग गर्न मिल्दैन,भोलि मापदण्ड अनुसार भवन भत्काइयो भने के गर्ने भन्ने मेरो भनाइमा उहाँहरु सहमत हुनुभयो र बैना पनि फिर्ता लिइयो ।’
बैना फिर्ता लिएपछि पनि अध्यक्ष नवराजसहितको टिमले अभियान भने छाडेन । भनेजस्तो घर नपाएपछि जग्गा किनेर आफू अनुकूलको भवन बनाउने निर्णय ग¥यो ।
यही उपक्रममा पार्टी सदस्य तथा एमाले कास्कीको ११ औं अधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएका शिवप्रसाद आचार्यले पोखरा २६ बुढीबजारमा रहेको १ रोपनी १२ आना जग्गा पार्टीलाई समर्पण गर्ने घोषणा गरे । पृथ्वी राजमार्गबाट ४ सय मिटरमात्र भित्र रहेको छ । दुबैतिर बाटो भएको तथा रुख विरुवासहित थुम्को दानमा भेटे पनि त्यतिलेमात्र कार्यालय भवन बनाउन पुग्दैनथ्यो । एमाले गण्डकीले त्यस वरपरको बाँकी जग्गा किन्ने निर्णय ग¥यो । मोहोडामा पर्ने र यसअघि प्लटिङ गरिएको तथा सन्तोष रानाभाटको स्वामित्वमा रहेको ८ आना जग्गा ७५ लाख रुपैयाँमा खरिद गरियो । जग्गा किन्नको लागि प्रदेश उपाध्यक्ष मीनप्रसाद गुरुङसँग ३० लाख सापटी लिइयो ।
एमाले गण्डकीले २ रोपनी ४ आना जग्गा अपुग हुने देखिएपछि अझै करिब २ रोपनी जग्गाको जोहो गर्ने कामको सहजीकरणको जिम्मेवारी शिव आचार्यलाई नै सुम्पिएयो । उनकै पहलमा त्यही जग्गासँगै रहेको थप १ रोपनी १२ आना जग्गा पनि पार्टीले राजीनामा पास गरी लिइसकेको अध्यक्ष नवराजले जानकारी दिए ।
‘४ रोपनी जग्गा टुंगिएको छ । १ रोपनी १२ आना निःशुल्क प्राप्त भएको हो । बाँकी जग्गाका निम्ति रजिष्टे«न पाससहित पौने २ करोड रुपैयाँ खर्च भएको छ,’अध्यक्ष शर्माले भने,‘ डाँडो हो, रुख छन्, वातवरणीय मूल्याङ्कन गर्नुपर्ने छ । सम्याउनुपर्ने छ । दुईवटा प्राविधिक टोलीलाई नक्सा बनाउने जिम्मेवारी दिएका छौँ ,करिब एक महिनामा नक्सा आउला ।’
यसअघि नै भवनका लागि भन्दै शुभेच्छुकबाट प्राप्त भएको तथा केही रकम प्रवासमा रहेका शुभेच्छुकबाट प्राप्त भएको पनि उनको जिकिर छ । एमाले गण्डकीले भवन निर्माण सहयोगार्थ पृथ्वीनारायण क्याम्पसका पूर्वस्ववियू सभापति भक्त गुरुङको संयोजकत्व भवन निर्माण अन्तर्राष्ट्रिय सहयोग समिति निर्माण गरेको छ ।
बेलायतमा रहेका भक्तको संयोजकत्वमा गठित समितिले ३० लाख रुपैयाँ भवन निर्माण समितिको खातामा पठाइसकेको छ । विभिन्न देशमा सो समितिले शाखा समिति निर्माण गरेको र सहयोग रसिद यहीँ छपाएर पठाइएको जानकारी दिँदै अध्यक्ष शर्माले भने,‘गण्डकीबाट विदेश गएका एमालेका सबै शुभेच्छुकहरुबाट १ करोडभन्दा बढी संकलन हुन्छ भन्ने हाम्रो अपेक्षा छ ।’
उनका अनुसार नक्सा तयार र लागत पक्का भएपछि यो वर्षको अन्त्यसम्म भवनको शिलान्यास गरिने छ । अर्को वर्षको असार मसान्तसम्म भवन बनिसक्ने पनि उनले अनुमान लगाए । पार्टीको प्रदेश भवनमा कार्यालय,१५५ सदस्य अट्ने बैठक कक्ष,कार्यक्रम हलसहित करिब २ सय वटा गाडी र ५ सय मोटसाइकल अटाउने सुविधाजनक पार्किङ पनि हुनेछ । जग्गासहितको भवनको लागत करिब १० करोड रुपैयाँ हुने अनुमान छ ।
कसरी जुट्छ पैसा ?
अध्यक्ष शर्माका अनुसार एमाले गण्डकीमा हाल ६२ हजार हाराहारीमा क्रियाशिल सदस्य छन् । उनीहरुले प्रत्येक वर्ष लेबी तिर्छन् । तीमध्ये १० हजारले नवीकरण नगर्दा पनि सदस्य संख्या ५२ हजार हुन्छ । ५२ हजारमध्ये कम्तिमा २५ हजार जनासँग भवनका लागि १ हजार रुपैयाँ सहयोग गर्ने सामथ्र्य छ । त्यसो हुँदा त्यहाँबाट मात्र २ करोड ५० लाख रुपैयाँ जम्मा हुन्छ । प्रवासबाट कम्तिमा एक करोड आउँछ । पार्टीलाई मन फुकाएर दान दिने उद्योगी÷व्यवसायी पनि छन् । पार्टीबाट निर्वाचित संघीय र प्रदेश सांसद, पालिकामा निर्वाचित जनप्रतिनिधिले एक महिनाको तबल दिँदा पनि ठूलो रकम जम्मा हुन्छ । त्यस्तै पार्टीको तर्फबाट राजनीतिक नियुक्ति पाएकाहरु, शिक्षक,कर्मचारीले मन फुकाउँदा सजिलै १० करोडभन्दा बढी उठ्ने अध्यक्ष शर्माको भनाइ छ । संघीय सांसद देवी भट्टचनले त भवन बनाउन यसअघि नै १० लाख रुपैयाँ दिने घोषणा गरिसकेका छन् ।
‘शुभेच्छुकबाट हो, गलत मान्छेबाट हैन’
व्यवसायी मीनबहादुर गुरुङबाट १० रोपनी जग्गासहित अत्याधुनिक मुख्यालय भवन लिने निर्णय गरेपछि अध्यक्ष केपी शर्मा ओलीसँगै एमाले नेतृत्व आलोचनाको तारो बनेको छ । सम्पत्ति शुद्धीकरणको मुद्दाबाट सफाइ नपाएका व्यक्तिसँगै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले भवनको शिलान्यास गर्नुलाई मीनबहादुरको राज्य संयन्त्र प्रभावित पार्ने प्रयत्नको रुपमा अथ्र्याइएको छ । भ्रष्टाचारीलाई जोगाउन खोजको आरोपको प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले प्रतिवाद गरे पनि अदालतले समेत त्यसलाई प्रथम दृष्टिमै अनुचित देखेको छ ।
एमाले गण्डकीले पनि पार्टीका संगठित कार्यकर्तासँग १ रोपनी १२ आना जग्गा दान लिँदा त्यो आरोपको छर्को यता पनि पर्ने निश्चित छ । तर, पार्टी अध्यक्ष शर्मा भने त्यो कुरा मान्न तयार छैनन् । उनले मीनबहादुरसँग सहयोग लिनु गलत नभएको जिकिर पनि गरे ।
‘व्यक्ति कसैसँग जोडिएपछि गलत हुने हो र ? मीनबहादुर गुरुङले हिजो सबै पार्टीलाई पैसा दिएको हो । कांग्रेस, माओवादीले पनि लिएकै हुन्,’उनले भने, ‘अहिले एमालेसँग जोडिएपछि बढी खेदियो क्या । होे, उहाँहरुसँग केसहरु छन् । केपी ओलीले जग्गा दिएको गुनबापत् राज्यशक्तिको दुरुपयोग गर्छ भन्ने लाग्छ भने भोलि एमालेले के गर्छ भनेर हेरे भइहाल्यो नि ।’
भवन बनाउन सहयोग लिने हो तर गलत मान्छेबाट लिने हैन भन्ने कुरामा एमाले गण्डकी प्रष्ट भएको बताउँदै उनले जग्गा दान दिने व्यक्तिको पनि बचाउ गरे ।
‘उहाँ -शिव आचार्य) पोखरा ३३ का पूर्ववडाध्यक्ष तथा एमाले कास्कीको उपाध्यक्षमा भिडेको व्यक्ति हो । उहाँमाथि शंका गर्नुपर्ने ठाउँ छैन,’ उनले भने, ‘उहाँले आफूले आस्था राखेको पार्टीलाई मन खोलेर सहयोग गर्नुभएको हो । उहाँ धन्यवादको पात्र हुनुहुन्छ । ग्रेनाइडमा हामी उहाँको नाम लेख्छौँ ।’ उहाँको चर्चा नै छैन नि भन्ने प्रश्नमा उनले भने, ‘उहाँ चर्चा गर्नयोग्य नहुनुहुँदो रहेछ । उहाँ हाम्रो बफादार सिपाही हो ।’
दुई खेमामा विभाजित गण्डकी एमालेभित्रको एउटा पंक्तिले चाहिँ नवराजको यो अभियानलाई उतिसारो मन पराएको छैन । तर, नवराज भने काम गरिछाड्ने मनिस्थितिका साथ लागेका छन् ।
‘पूजा गरे, पनि धूप हाले पनि,सरापे पनि मलाई केही फरक पर्दैन,पोखरामै भवन बनाउने हो, ’उनले भने, ‘एमालेलाई मन पराउने कार्यकर्ताले सहयोग गर्छन् । मेरो पोखरामा घर छैन, फर्केंर म्याग्दी नै जाने हो ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->