बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

‘गुरु कृषक’ तयार पार्दै जलजला

‘गुरु कृषक’ तयार पार्दै जलजला

वार्षिक स्वीकृत कार्यक्रम नमुना सुन्तला बगैँचा स्थापनासहित गुरु किसान परिचालन र क्षेत्रफल विस्तार कार्यक्रम सञ्चालन गरिने ।


  • संजय रेग्मी
  • मंसिर ७ २०८१, शुक्रबार

पर्वत/कृषकहरूलाई व्यावसायिक र आधुनिक कृषिमा आकर्षित गर्दै आत्मनिर्भरता बढाउन जलजला गाउँपालिकाले ‘गुरु किसान’ को अवधारणा सुरु गरेको छ ।
दैनिकी गुजार्नको लागि सामान्य रूपमा मात्रै कृषि उत्पादन गर्दै आएका कृषकहरूको आय बढाउन उनीहरूले गर्दै आएको उत्पादनलाई केही मात्रामा भए पनि बढाउनको लागि यो अवधारणा लागू गर्न लागिएको गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यले बताए । गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को वार्षिक स्वीकृत कार्यक्रम नमुना सुन्तला बगैँचा स्थापनासहित गुरु किसान परिचालन र क्षेत्रफल विस्तार कार्यक्रम सञ्चालन गर्न लागिएको उनको भनाइ छ ।
‘गुरु’ किसानले गाउँपालिकाका अन्य फलफूल किसानको मागका आधारमा फलफूल बगैँचा व्यवस्थापन लगायतका विषयमा स्थलगत सेवा प्रवाह गरेबापत वार्षिक बढीमा १५ हजार रुपैयाँ सम्म सेवा खर्च पाउने छन् । ‘गुरु किसान’ को बगैँचालाई नमुना बगैँचाको रूपमा स्थापना गर्न आवश्यक प्रविधि लगायत औजार उपकरणको खरिदमा ५० प्रतिशत अनुदान गाउँपालिकाकोतर्फबाट व्यवस्था गरिएको छ ।
‘म गुरु किसान बन्छु भन्ने लागेका कृषकहरूले पालिकामा आवेदन पेस गर्नुभएपछि उहाँहरूले गर्दै आउनुभएको कृषि कर्मको अवलोकन र गरिन्छ’, गाउँपालिकाका अध्यक्ष आचार्यले भने, ‘जसले जति मात्रामा उत्पादन, प्रविधि र औजार बढाउन सक्नुहुन्छ सोही आधारमा नै गाउँपालिकाले आधा लगानी अनुदान दिने छ ।’
कार्यक्रम सञ्चालनका अन्य पक्षहरू ‘प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरित कृषि विकास कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि, २०८१’ बमोजिम गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले बताए । ‘गुरु किसान’ छनोटका लागि साधारण लेखपढ गर्न सक्ने, कम्तीमा दुई रोपनी क्षेत्रफलमा व्यवस्थित तरिकाले फलफूल खेती गरिरहेको, फलफूल बगैँचामा सिँचाइ व्यवस्था भएको, फलफूल खेती सम्बन्धी नवीनतम प्रविधिहरू परीक्षण तथा प्रदर्शन कार्यक्रम सञ्चालन गर्न इच्छुक भएको हुनुपर्ने मापदण्ड राखिएको छ ।
फलफूल खेती तथा बगैँचा व्यवस्थापन सम्बन्धी तालिम लिएको, स्वयंसेवक रूपमा सेवा दिन र कार्य गर्न प्रतिबद्ध रहेको तथा जलजला गाउँपालिकाको स्थायी बासिन्दा भएको हुनुपर्ने पनि ‘गुरु किसान’ का मापदण्ड राखिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->