पर्वत/जनताको माझमा पुगेर पार्टी सङ्गठनलाई बलियो बनाउन नेपाली काँग्रेसले सुरु गरेको सय दिने विशेष अभियान पर्वतमा पनि सुरु भएको छ । सय दिनको अभियानमा पर्वतका विभिन्न पालिका र वडासम्मै पुगेर पार्टीको गतिविधिका विषयमा छलफल गरिने नेपाली काँग्रेसका पर्वतका सभापति युवराज जोशीले बताए । अभियानमा पार्टीका नीति, कार्यक्रम, चुनावी तयारीलगायतबारे स्थानीय नेता कार्यकर्तासँग छलफल हुने उनको भनाई छ ।
नेपाली काँग्रेस पर्वतको कार्यालय बि.पी. स्मृति भवनमा भएको औपचारिक कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू, आमन्त्रित सदस्य तथा जिल्ला सल्लाहकार समिति, महासमिति तथा महाधिवेशन प्रतिनिधिहरू, नगर तथा गाउँ कार्यसमितिका सभापतिहरू, प्रदेश कार्यसमितिका सभापतिहरू, पूर्व जिल्ला पदाधिकारीहरू, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरूको उपस्थितिमा अभियान सुरु भएको हो ।
शुभारम्भ कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द बहादुर शाहले काँग्रेस कहिल्यै पनि सिद्धान्तबाट विचलित नभएको बताए । विगतमा राणा र पञ्चायतसँग लड्दै आएको काँग्रेसलाई माओवादीले सिद्ध्याउन खोजेको भन्दै उनले गाउँ, नगरदेखि प्रदेश हुँदै केन्द्रसम्म काँग्रेस नै बलियो रहेको दाबी गरे । काँग्रेसको साथमा जनता रहेकोले अबको निर्वाचनमा काँग्रेस एक्लैले बहुमत ल्याउन चाहेको उनको भनाई छ । अबको निर्वाचनमा सामूहिक रूपमा दौडिनको लागि नै यो कार्यक्रमको आयोजना गरिएको केन्द्रीय सदस्य शाहले बताएका छन् ।
नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङले आन्तरिक र बाह्य शक्तिहरूले अहिलेको व्यवस्थालाई ढालेर देशमा अस्थिरता ल्याउन खोजेको बताए । नेपाली काँग्रेसले यस्ता चुनौतीहरू विगतबाट नै भोग्दै आइरहेको भन्दै नेपालका कम्युनिस्ट पार्टीहरूको चुनौती काँग्रेसले नै बोकिरहेको उनको भनाइ छ । नयाँ आएका पार्टीहरू कहीँ न कहीँबाट सञ्चालनमा रहेको दाबी गर्दै उहाँले रवीन्द्र मिश्रदेखि रबी लामिछानेका पार्टीहरू अन्तिममा दरबारमा नै गएर मिल्ने उद्देश्य बोकेर आएको तर्क गरे ।
यस्तै नेपाली काँग्रेस गण्डकी प्रदेशका सहमहामन्त्री रामचन्द्र जोशीले वडामा भइरहेका गतिविधिहरूमा केन्द्रीय समितिबाट एउटै मात्रै कुराहरूमा बढी चासो राख्ने गरेको बताए । धेरै दुःख गरेका व्यक्तिहरूबाट निर्माण भएको काँग्रेसको विस्तार र सङ्गठन सुधारका लागि नयाँ ढङ्गबाट काम गर्नुपर्ने उनको धारणा छ । राज्यले निर्दिष्ट गरेका कानुनहरूसँग जुधेर काम गर्ने चुनौतीकाबीच पनि सकेसम्म कामहरू गरिएको सहमहामन्त्री जोशीले बताए । आफूले काम गर्नुको सट्टा अरूका कमजोरी र काम खोजेर त्यसैमाथि प्रहार गर्ने वातावरणले देश नबन्ने सहमहामन्त्री जोशीको भनाई छ ।





