पोखरा/ साहित्यकार दीपक समीप ‘प्रेम–शान्ति आख्यान पुरस्कार २०८१’ बाट सम्मानित भएका छन् । शनिवार पोखरामा आयोजित कार्यक्रममा साहित्यकार सरुभक्तले समीपलाई नगद १० हजार रुपियाँसहित दोसल्ला र सम्मानपत्र प्रदान गरे । नेपाली साहित्यको आख्यान विधामा विशेष योगदान पु¥याएको भन्दै लमजुङ–पोखरा सम्पर्क समितिले समीपलाई सो पुरस्कार अर्पण गरेको हो ।
मूलतः गजलकार र मुक्तककार रूपमा स्थापित समीपले पुरस्कारले आफूलाई आख्यानका क्षेत्रमा थप मिहिनेत गर्ने प्रेरणा प्राप्त भएको बताए । समीपका भूगोलभित्र नकोरिएको देश (गजल सङ्ग्रह, २०६२), अक्षर अक्षरमा देश (मुक्तक सङ्ग्रह, २०७८) र नदीको राजमार्ग (लघुकथा सङ्ग्रह, २०८०) प्रकाशित छन् ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले विश्व साहित्यमै लोकप्रिय भएर पनि आख्यानका क्षेत्रमा लाग्ने व्यक्तिको कमी भएको बताए । आख्यानका क्षेत्रमा दिइने सम्मान र पुरस्कारको समेत अभाव भएको समयमा लमजुङ–पोखरा सम्पर्क समितिले आख्यानका क्षेत्रमा लाग्नेहरूका लागि पुरस्कार सञ्चालन गर्नु प्रशंसनीय भएको धारणा सरुभक्तको थियो । दीपक समीपलाई आफूले पचासको दशकको सुरुदेखि नै एक सक्रिय साहित्यकारका रूपमा चिन्दै आएको बताउँदै सरुभक्तले समीपलाई पुरस्कार दिएर समितिले योग्य प्रतिभा छनोट गरेको बताए ।
पुरस्कार संस्थापक प्रेमकुमारी गुरुङले आफू पनि साहित्यमा रुचि राख्ने भएकाले साहित्यकारलाई प्रोत्साहन गर्नुपर्छ भन्ने मनसायले पुरस्कार स्थापना गरेको बताइन् । उनले समयक्रममा पुरस्कारको अक्षयकोषमा रकम थप्दै जाने प्रतिबद्धतासमेत व्यक्त गरिन् । लमजुङ–पोखरा सम्पर्क समितिका अध्यक्ष कृष्ण गिरीको अध्यक्षतामा भएको कार्यक्रममा गायिका हरिदेवी कोइराला, कवि रमेश श्रेष्ठ, संस्थाका पूर्व अध्यक्ष दीपकराज घिमिरे, प्रतिभा छनोट समितिका सदस्य लक्ष्मण थापा, नेपाली लेखक सङ्घ, गण्डकी प्रदेशका अध्यक्ष डा. ईश्वरमणि अधिकारी, सञ्चारकर्मी दीपेन्द्र श्रेष्ठ, पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेललगायतले शुभकामना दिएका थिए । समीपले यसअघि थुप्रै साहित्यिक पुरस्कार र सम्मान पाइसकेका छन् ।





