बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पर्वत अस्पतालमा फिजियोथेरापी सेवा सुरु

पर्वत अस्पतालमा फिजियोथेरापी सेवा सुरु


  • संजय रेग्मी
  • मंसिर १७ २०८१, सोमबार

पर्वत/जिल्लामा नै पहिलो पटक पर्वत अस्पतालमा ‘फिजियोथेरापी’ सेवा सुरु गरिएको छ ।
अस्पताल स्थापना भएको ३५ औँ वर्षमा पर्वतसहित आसपासका बिरामीहरूलाई समेत ध्यानमा राखेर यो सेवा सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाले बताए ।
सरकारबाट १५ शय्या क्षमताको अनुमति पाएर सञ्चालन भएको भएपनि पछिल्लो समय स्तरोन्नतिसँगै ६० शय्या क्षमतामा चलिरहेको अस्पतालले गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको दरबन्दीबाट यो सेवा सञ्चालन गरेको हो । सेवा सञ्चालनको लागि ‘फिजियोथेरापिस्ट’ डा. प्रमीला लामिछाने नियुक्त भएपछि सेवा सुरु गरिएको डा. बास्तोलाको भनाई छ ।
फिजियोथेरापी विधिले शरीरका अङ्गहरूको चाल, लचकता, बल र समन्वय सुधार गर्न मद्दत गर्ने तथा यो उपचार मुख्य रूपमा शरीरको मांसपेशी, जोर्नी, स्नायु, र हाडहरूको समस्या समाधान गर्न प्रयोग गरिने भएकोले जिल्लाका लागि महत्त्वपूर्ण रहेको डा. बास्तोलाले बताए ।
‘प्यारालाइसिस भएका कारण शरीरका भागहरू नचल्ने, ढाड सड्किएका, मर्किएका, गर्धनमा समस्या भएका, नशा च्यापिएका लगायतका बिरामीहरूलाई शारीरिक कसरतका माध्यमबाट सेवा दिन लागिएको हो’, डा. बास्तोला भन्छन्, ‘सामान्य जोर्नी जाम भएको अवस्थामा हातको फिजियोथेरापी गर्न पनि पोखरा र बागलुङका अस्पतालमा जानुपर्ने यहाँको बाध्यता थियो । सामान्य कुराका लागि पनि नागरिकले हजारौँ रुपैयाँ खर्च गर्नुपर्ने अवस्थाको अन्त्यका लागि यो सेवा महत्वपूर्ण हुने छ ।’
यससँग सम्बन्धित संरचना निर्माण, अभ्यासका लागि ठाउँ बनाउने, बिरामीहरू राख्नको लागि शय्या बनाउने लगायतका कामहरू अहिले पनि चलिरहेका छन् । अहिले सुरुवाती चरणमा कम्तीमा पनि छ देखि १० वटासम्म शय्या सञ्चालन गर्ने गरी तयारी भइरहेको अस्पताल विकास समितिका अध्यक्ष शङ्कर गिरीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->