बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

प्रदेश स्तरीय शिक्षक विद्यार्थी प्रतिभा पहिचानमा पर्वतबाट शिक्षक र विद्यार्थी छनोट

प्रदेश स्तरीय शिक्षक विद्यार्थी प्रतिभा पहिचानमा पर्वतबाट शिक्षक र विद्यार्थी छनोट


  • संजय रेग्मी
  • मंसिर २१ २०८१, शुक्रबार

पर्वत/शिक्षक तथा विद्यार्थीको प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत पर्वतबाट शिक्षक तथा विद्यार्थीहरू छनोट भएका छन् ।
गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत शिक्षा विकास निर्देशनालयको आयोजनामा सामाजिक विकास कार्यालयहरूमार्फत यो कार्यक्रम सञ्चालित छ । गण्डकी प्रदेशभरबाट विभिन्न चार विधामा उत्कृष्ट शिक्षक र विद्यार्थी छनोट गर्नका लागि निर्देशनालयले पहिलो चरणमा जिल्लका स्थानीयभित्रका विद्यालय स्तरमा प्रतियोगिताको आयोजना गरिएको थियो ।
दोस्रो चरणमा स्थानीय तहबाट उत्कृष्ट बनेका शिक्षक तथा विद्यार्थीहरूलाई जिल्ला स्तरमा प्रतिस्पर्धा गराएर उत्कृष्ट बनेकालाई प्रदेशका अन्य १० जिल्लासँग भिड्नका लागि पठाइने छ । सामाजिक विकास कार्यालय पर्वतका प्रमुख गोविन्द प्रसाद पौडेलका अनुसार बिहीबार जिल्लाका सात वटा पालिकाहरूबिच प्रतिस्पर्धा गराएर उत्कृष्ट शिक्षक र विद्यार्थी छनोट गरिएको छ ।
शिक्षक वक्तृत्वकला प्रतियोगितामा राष्ट्रिय बाल शिक्षा सदनबाट कुश्मा नगरपालिकाको प्रतिनिधित्व गरेकी मिना खड्का प्रथम, धर्मोदय माध्यमिक विद्यालयबाट पैयूँ गाउँपालिकाको प्रतिनिधित्व गरेका ढाकाराम न्यौपाने द्वितीय र जनजागृति आधारभूत विद्यालयबाट फलेवास नगरपालिकाको प्रतिनिधित्व गरेका सन्तोष थापा तृतीय भएका छन् । उनीहरूले पुरस्कार स्वरूप क्रमशः सात हजार पाँच सय, पाँच हजार र तीन हजार रुपैयाँ पाएका छन् ।
विद्यार्थी वक्तृत्वकला प्रतियोगितामा नमुना आवासीय माध्यमिक विद्यालयबाट कुश्मा नगरपालिकाको प्रतिनिधित्व गरेकी सजता गिरी प्रथम, नवजागृत माध्यमिक विद्यालय मोदी गाउँपालिकाको प्रतिनिधित्व गरेकी रोशनी वि.क. द्वितीय र जनसेवा संस्कृत माध्यमिक विद्यालयबाट पैयूँ गाउँपालिकाको प्रतिनिधित्व गरेकी जस्मिन काफ्ले तृतीय स्थानमा आएकी छिन् । उनीहरूले पुरस्कार स्वरूप क्रमशः सात हजार पाँच सय, पाँच हजार र तीन हजार रुपैयाँ पाएका छन् ।
विद्यार्थी नृत्य प्रतियोगिता अन्तर्गत कुश्मा नगरपालिकाबाट गएको नमुना आवासीय माध्यमिक विद्यालय प्रथम, बिहादी गाउँपालिका द्वितीय र मोदी गाउँपालिका तृतीय स्थानमा आएका छन् । यसमा विजेता बनेकाहरूले क्रमशः १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ पाएका छन् । यस्तै शिक्षक हाजिरी जवाफ प्रतियोगितामा पैयूँ गाउँपालिका प्रथम, महाशिला गाउँपालिका द्वितीय र कुश्मा नगरपालिका तृतीय स्थानमा आएका छन्। उनीहरूले पुरस्कार स्वरूप क्रमशः १२ हजार, नौ हजार र तीन हजार रुपैयाँ पाएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाई कार्यालय पर्वतका प्रमुख मतिलाल चपाइका अनुसार चार वटै विधामा प्रथम बनेकाहरूले पोखरामा आयोजना हुने गण्डकी प्रदेश स्तरको प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् । शिक्षक तथा विद्यार्थीको प्रतिभा पहिचान गर्ने प्रक्रियाले शिक्षण र सिकाइको गुणस्तरलाई वृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।
शिक्षकको प्रतिभा पहिचानले अध्यापन क्षमताको मूल्याङ्कन, नेतृत्व गुण, नवीनता र रचनात्मकता, विद्यार्थीहरूसँगको सम्बन्ध प्रभावकारी बन्ने तथा विद्यार्थीको प्रतिभा पहिचानले विद्यार्थीमा रुचि र क्षमता परीक्षण गर्ने, अभिरुचि–अवलोकन बढ्ने, सहभागिताको मूल्याङ्कन हुने, सकारात्मक प्रोत्साहन हुने लगायतका फाइदा पुग्ने विश्वास छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->