संजय रेग्मी
पर्वत/अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले सर्वोत्कृष्ट पुस्तक पुरस्कारका लागि पुस्तक दर्ता गर्न सूचना आह्वान गरेको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि संसारभर बसोबास गरेका नेपाली लेखकहरूबाट नेपाली साहित्यका विभिन्न विधामा लेखिएका पुस्तकहरूको मूल्याङ्कन गर्न लागेको हो । यो पुरस्कारको राशि दुई हजार अमेरिकी डलर अर्थात् झन्डै दुई लाख ६० हजार माथिको पुरस्कार राशि रहेको छ ।
सर्वोत्कृष्ट पुस्तक पुरस्कारका साथै कविता, कथा, उपन्यास, निबन्ध÷नियात्रा÷संस्करण, गीत÷गजल÷मुक्तक÷हाइकु, समालोचना, लोक साहित्य, संस्कृति, बालकृत साहित्यको सर्वोत्कृष्ट कृति लगायतका विभिन्न १० विधामा पनि पुरस्कार प्रदान गरिँदै छ । पुरस्कारका लागि पुस्तकहरू दर्ता गर्न कृति नेपाली भाषामा लेखिएको हुनुपर्ने, पुस्तकको विधा प्रस्ट रूपमा छुट्टिएको हुनुपर्ने, पुस्तकको आवरणसहित कम्तीमा ६४ पृष्ठको हुनुपर्ने, पुस्तक सन् २०२३ जनवरी १ देखि सन् २०२४ डिसेम्बर ३१ भित्रको मितिमा मुद्रण भएको हुनुपर्ने सर्त राखिएको छ । निर्धारित मापदण्ड पूरा भएका पुस्तकको चार प्रति सन् २०२५ फेबु्रअरी २८ सम्ममा अनेसासमा प्राप्त भइसकेको हुनुपर्ने भनिएको छ ।
यसका अतिरिक्त लेखकले पुस्तकका साथमा पुरस्कार समितिले निर्धारण गरेको लेखक परिचय फाराम भरेर पठाउनु पर्ने अनेसास पुरस्कार समितिका संयोजक साहित्यकार तीर्थराज पाण्डेयले बताएका छन् । आधार पूरा गरी आएका पुस्तकहरूलाई मूल्याङ्कन समितिले मूल्याङ्कन गर्ने र मूल्याङ्कनकर्ताहरूबाट प्राप्त भएको नतिजालाई सन् २०२५ जुलाई महिनामा भानु जयन्तीका अवसरमा आयोजना हुने कार्यक्रममा सार्वजनिक गरिने छ । अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार वितरण महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्तीका अवसरमा अनेसासको केन्द्रीय कार्यालय संयुक्त राज्य अमेरिकाको वासिङ्टन डी. सी. मा एक विशेष समारोह आयोजना गरी पुरस्कार वितरण गरिने छ ।
यसबारेको थप जानकारीका लागि अनेसासको वेबसाइटबाट विवरणहरू प्राप्त गर्न सकिने छ ।





