बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पोखरेली युवा साँस्कृतिक परिवारको अध्यक्षमा रीता अधिकारी ‘ऋतु’

पोखरेली युवा साँस्कृतिक परिवारको अध्यक्षमा रीता अधिकारी ‘ऋतु’


  • ढोरपाटन संवाददाता
  • मंसिर २९ २०८१, शनिबार

पोखरा/ पोखरेली युवा साँस्कृतिक परिवारको अध्यक्षमा रिता अधिकारी ‘ऋतु’ सर्वसम्मत निर्वाचित भएकी छन् । शुक्रबार आयोजित परिवारको ४२ औं अधिवेशन तथा साधारण सभाले अधिकारीको नेतृत्वमा आगामी २ वर्षका लागि १३ सदस्यीय कार्य समिति चयन गरेको हो ।

परिवारको उपाध्यक्ष लक्ष्मण थापा, सचिव एम.डी.काफ्ले, कोषाध्यक्ष अर्जुन अधिकारी, सहसचिव हसिना बस्नेत, विभागीय संयोजक अन्तर्गत केशु शर्मा सहित्य संयोजक, मिलन गिरी सङ्गीत संयोजक, हेमकान्ती गुरुङ कला संयोजकका लागि चयन भएका छन् । सदस्यहरूमा डा. शरण आँसु, शिव सङ्कल्प, शिव त्रिपाठी, ढाकामोहन बराल र सङ्गीता बराल बिसी निर्वाचित भएका छन् । नवनिर्वाचित कार्य समितिलाई निर्वाचन समितिका संयोजक भोजबहादुर जिसीले पद तथा गोपनियताको सफथ खुवाएका थिए । निवर्तमान अध्यक्ष उपेन्द्र पौडेल र सचिव डा. चैतन्य अधिकारीले नवनिर्वाचित अध्यक्ष रिता अधिकारी ‘ऋतु’ लाई संस्थाको निर्णय पुस्तिका हस्तान्तरण गरेका थिए । नवनिर्वाचित कार्यसमितिलाई परिवारका संस्थापक सचिव सरुभक्त, सल्लाहकार तीर्थ श्रेष्ठ, प्राज्ञ रमेश श्रेष्ठ, उपेन्द्र पौडेल, सरस्वती प्रतीक्षा, प्रकाश ज्ञवालीले सफल कार्यकालका लागि बधाई तथा शुभकामना दिएका थिए ।

नवनिर्वाचित अध्यक्ष रिता अधिकारी ‘ऋतु’ले संस्थाको गरीमालाई जोगाउन आफ्नो कार्यकालमा सबैको साथ र सहयोगले नियमित कार्यक्रमलाई निरन्तरता दिँदै नयाँ योजना ल्याउने प्रतिबद्घता जनाइन । साधारण सभाले सचिव डा.चैतन्य अधिकारीद्वारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष अर्जुन अधिकारीद्वारा प्रस्तुत कोषाध्यक्षको प्रतिवेदनलाई पारित गरेको छ । कविताको अघोषित पाठ्शालाका रूपमा परिचित पोखरेली युवा साँस्कृतिक परिवारले हरेक महिनाको पहिलो शनिबार समता काव्य सन्ध्या सञ्चालन गर्छ । प्रत्येक दुईदुई महिनामा समता साङ्गीतिक कार्यक्रम र प्रत्येक तीनतीन महिनामा समता कला कार्यशाला सञ्चालन गरिरहेको छ । सामूहिक साहित्यकार जयन्ती, विश्व कविता दिवस, अनुभव र अनुभूति, स्रष्टा सम्वाद, एकल कविता वाचन, साङ्गीतिक साँझ, कला प्रदर्शनी, पुस्तक विमोचन, परिचर्चा, पुरस्कार तथा सम्मान सञ्चालन लगायतका दर्जनौं कार्यक्रमको क्यालेन्डरले क्रियात्मक अभियानको रूपमा परिवार पहिचान स्थापित भएको छ ।

‘साहित्य, कला र सङ्गीतको उत्थान हाम्रो प्रण’ को गुञ्जनका साथ विक्रमाब्द २०३४ सालमा संस्था स्थापना भएको हो । पोखरेली युवा साँस्कृतिक परिवार गण्डकी प्रदेशको वाङ्मयिक विकासमा ४७ वर्षदेखि अविछिन्न क्रियाशील र सक्रिय संस्थाका रूपमा राष्ट्रिय अन्तर्राष्ट्रि स्तरमा परिचित छ । मिनी एकेडेमीका रूपमा परिचित परिवारले साहित्य, कला र सङ्गीतका क्षेत्रमा विशिष्ट योगदान दिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->