बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पर्वतमा अस्पतालमा सुरु भयो ‘फिजियोथेरापी’

पर्वतमा अस्पतालमा सुरु भयो ‘फिजियोथेरापी’


  • ढोरपाटन संवाददाता
  • पुष ७ २०८१, आइतबार

पर्वत/जिल्लामा नै पहिलो पटक पर्वत अस्पतालमा सुरु भएको ‘फिजियोथेरापी’ सेवाको शनिवारदेखि औपचारिक रूपमा सुरु भएको छ ।
अस्पतालले नयाँ सुविधाका रूपमा केही दिन अगाडिबाट नै यो सेवा सुरु गरेको भए पनि शनिवार गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले उद्घाटन गरेसँगै सेवालाई औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो । सेवाको उद्घाटन गर्दै मन्त्री पाठकले पर्वत अस्पतालले राम्रो र युवा अध्यक्ष पाएकै कारण अस्पतालले राम्रो प्रगति गरिरहेको बताए। आफ्नो मातहतमा रहेका प्रदेशका ११ वटा अस्पतालहरूमध्ये सबैभन्दा क्रियाशील पर्वत अस्पतालकै अध्यक्ष पाएको भन्दै उनले पर्वत अस्पतालको सेवा अभिवृद्धि गर्न आफू लागिरहेको बताए ।
प्रदेशका सबै अस्पतालहरू अब्बल रहेकोमा पर्वत अस्पताल अब्बलको पनि अब्बल भएको भन्दै उनले पर्वतवासीहरू विशेष अवस्थामा बाहेक पोखराका अस्पतालमा जान नपर्ने बाध्यताको अन्त्य हुनु नै खुसीको कुरा भएको उनको भनाइ छ । अस्पतालहरू मानव सेवाको सबैभन्दा ठुला मन्दिर भएकाले त्यहाँ काम गर्ने कर्मचारी र खटिने व्यवस्थापकीय टोली देवता समान हुने मन्त्री पाठकले उल्लेख गरे। अस्पतालमा काम गर्नु आत्मसम्मान र धर्म दुवै भएको उनले धारणा राखे ।
जिल्लमा निजी स्तरमा ठुला स्वास्थ्य संस्था नभएको पर्वतमा जिल्लाकै सबैभन्दा ठुलो र सरकारी पर्वत अस्पतालमा सेवा सञ्चालनमा आएको हो । पर्वतका नागरिकलाई फिजियोथेरापी सेवाको आवश्यकता परेको बेलामा धेरै रकम खर्च गरेर जिल्ला बाहिरका अस्पतालहरूमा जानुपर्ने बाध्यताको अन्त्य भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीले बताए ।
अस्पताल स्थापना भएको ३५ औँ वर्षमा पर्वतसहित आसपासको क्षेत्रका बिरामीहरूलाई समेत ध्यानमा राखेर यो सेवा सुरु गरिएको उनको भनाइ छ । सरकारबाट १५ शय्या क्षमताको अनुमति पाएर सञ्चालन भएको भए पनि पछिल्लो समय स्तरोन्नतिसँगै ६० शय्या क्षमतामा चलिरहेको अस्पतालले गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको दरबन्दीबाट यो सेवा सञ्चालन गरिएको अध्यक्ष गिरीले बताए ।
‘फिजियोथेरापी’ सेवासँग सम्बन्धित संरचना निर्माण, अभ्यासका लागि ठाउँ बनाउने, बिरामीहरू राख्नको लागि शय्या बनाउने लगायतका कामहरू अहिले पनि चलिरहेको उनको भनाई छ । सुरुवाती चरणमा कम्तीमा पनि छ देखि १० वटा सम्म शय्या सञ्चालन गर्ने गरी तयारी भइरहेको छ ।
सेवा सञ्चालनको लागि हालै खुलाइएको विज्ञापनबाट ‘फिजियोथेरापिस्ट’ डा प्रमीला लामिछाने नियुक्त भई आएपछि संरचना व्यवस्थापनको काम सकेर सेवा सुरु गरिएको हो । ‘फिजियोथेरापी’ विधिले शरीरका अङ्गहरूको चाल, लचकता, बल र समन्वय सुधार गर्न मद्दत गर्ने तथा यो उपचार मुख्य रूपमा शरीरको मांसपेशी, जोर्नी, स्नायु, र हाडहरूको समस्या समाधान गर्न प्रयोग गरिने भएकोले जिल्लाका लागि महत्वपूर्ण रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाले बताए ।
‘फिजियोथेरापी’ ले जोर्नी मर्किएका, मांसपेशी चुँडिएका, हड्डी भाँचिएका, हड्डी र जोर्नीमा लचकता नभएका, कम्मर र घुँडाको दुखाइ भएका, ‘स्ट्रोक’का कारण शरीरको एक भागमा कमजोरी भएका, चल्न समस्या भएका, शरीरको चालमा गडबडी भएका तथा कम्पनका समस्या रहेका, जन्मजात शारीरिक अपाङ्गता भएका, शरीरका अङ्गहरू चलाउन समस्या भएको, श्वासप्रश्वासको समस्या भएका, फोक्सोको क्षमता घटेका लगायतका बिरामीहरूको अवस्थामा सुधार ल्याउने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->