पर्वत/मिर्गौलापीडित भएर पनि आर्थिक समस्याका कारण उपचारमा समस्या भोगिरहेका पर्वतका एक युवकलाई अमेरिकामा बस्दै आएका नेपालीहरूबाट चार लाख भन्दा बढी आर्थिक सहयोग भएको छ ।
जिल्लाको कुश्मा नगरपालिका–८ चुवा घर भएका २५ वर्षीय विजय भण्डारीको उपचारमा सघाउन रोजगारीको सिलसिलामा अमेरिकामै रहेका चुवाकै स्थानीय तथा समाजसेवी अर्जुन क्षेत्रीले अभियान सञ्चालन गरेका थिए । सहयोग सङ्कलन अभियानबाट सङ्कलन भएको चार लाख १२ हजार छ सय ५२ रुपैयाँ आइतबार मिर्गौलापीडित भण्डारीकै घरमा पुगेर हस्तान्तरण गरिएको छ ।
नेपाल पत्रकार महासङ्घ पर्वत शाखाले पीडित भण्डारीको घरमा नै आयोजना गरेको ‘सहयोग हस्तान्तरण कार्यक्रम’ मा कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले उक्त रकम विजयका बुबा शेरबहादुर भण्डारीलाई हस्तान्तरण गरे । सो अवसरमा बोल्दै उनले मुटु, मिर्गौला र क्यान्सरजस्ता रोगहरूको राज्यले निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने बताए । यस्ता रोगको उपचारका लागि ठुलो धनराशि आवश्यक पर्ने भएकाले गरिब तथा असह्यका लागि समस्या हुने गरेको उनको अनुभव छ ।
रोजगारीका लागि परदेशमा रहेर पनि नेपाली दाजुभाइको पिडामा मलहम लगाउन योगदान गरेका क्षेत्री लगायत सबैलाई उनले धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै समस्यामा मलहम लगाउन अनुरोध गर्दै नगरपालिकाको तर्फबाट पनि पीडित भण्डारीको उपचारका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
समाजसेवी क्षेत्रीले आफूले व्यक्तिगत रूपमा आठ सय डलर सहयोग गरेका छन् भने अन्य ५५ जना सहयोगदाताहरूबाट व्यक्तिहरूबाट उक्त रकम उठेको हो ।
‘सहयोग हस्तान्तरण कार्यक्रम’ सहभागी भएका नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य छविलाल तिवारी, पत्रकार महासङ्घ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा, कुश्मा नगरपालिका–८ का वडाध्यक्ष राजकुमार क्षेत्री, नेपाली काँग्रेस पर्वतका उपसभापति डा. चूडामणि शर्मा, (नेकपा) एमाले जिल्ला सदस्य मुगा पोख्रेल लगायतले स्वदेश तथा विदेशमा रहेका आम नेपाली तथा अन्य सहयोगदाताहरूलाई भण्डारीको उपचारमा आर्थिक सहयोग गर्न आह्वान गरेका छन् ।
पीडित भण्डारीको अहिले पोखरामा उपचार भइरहेको छ । आउँदो पुस १२ गते उनको मिर्गौला फेर्नको लागि शल्यक्रियाको तयारी भइरहेको छ ।





