बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले बनायो लोगो र गीत

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले बनायो लोगो र गीत


  • ढोरपाटन संवाददाता
  • पुष ११ २०८१, बिहिबार

पोखरा/ मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले आफ्नै लोगो र गीत बनाएको छ । मुस्ताङ जिल्लाका ५ पालिकामध्ये लोगो र गीत बनाउने यो पालिका पहिलो बनेको छ ।

गाउँपालिकाको नक्सा, थोराङला पिक (हिमाल), हिन्दु र बौद्धमार्गीको प्रसिद्ध धार्मिक धरोहर मुक्तिनाथ मन्दिर, कालीगण्डकी नदी, कालीगण्डकीमा मात्रै पाइने शालिग्राम शीला, धार्मिकस्थल कागबेनी, मुख्य उत्पादन स्याउलगायतका पहिचान झल्काउने विषयबस्तु समावेश गरिएको लोगो बिहीबार एक्काइसौँ गाउँसभामा सार्वजनिक गरिएको हो ।

गाउँसभाबाट पारित भएर सार्वजनिक भएसंगै अवदेखि गाउँपालिकाले आफ्नो लेटरहेड लगायतमा लोगो प्रयोग गर्नेछ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीका अनुसार उक्त लोगो कास्कीको पोखरा-२८ बस्ने सबइन्जिनियर आशिष बजगाइँले बनाएका हुन् ।

गाउँसभामा गाउँपालिकाले आफ्नो पहिचान झल्कने गरी बनाएको गीत (गान) पनि सार्वजनिक गरेको छ । उक्त गीत चितवनको माडी नगरपालिका-७ घर भई हाल मुस्ताङकै लोघेकर दामोदरकुण्ड गाउँपालिकामा प्रशासकिय अधिकृतको रुपमा कार्यरत शोभा पुनले तयार पारेको गाउँपालिकाले जनाएको छ ।

गत कात्तिममा लोगो र गानका लागि पालिकाले आव्हान गरेको थियो । त्यसमा ३ जनाले लोगो र २ जनाले गान पेश गरेका थिए । ५ सदस्यीय छनौट समितिले उनीहरुको लोगो र गीत छनौट गरेको हो । ‘स्थानीय सरकार सञ्चालन ऐन को दफा ११ प्रयोग गर्दै लोगो र गान बनाएर पालिकाको आफ्नै पहिचान बनाएका हौ’ प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भने, ‘सभाले पारित गरेपछि स्वतः कार्यान्वयनमा गएको छ ।’

संसोधित बजेट पारित
यसैबीच, बिहीबार आयोजित गाउँपालिकाको २१ औं गाउँसभाले बजेट, नीति तथा कार्यक्रममा पनि सामान्य संसोधनसहित पारित गरेको छ । बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक एवं गाउँपालिकाकी उपाध्यक्ष ढिकी गुरुङले संसोधित बजेट पेश गरेकी थिइन ।

सभाले ३४ करोड २४ लाख ११ हजारको संसोधित बजेट पारित गरेको हो । यसअघि चालु वर्षका लागि करीब २९ करोड बजेट सार्वजनिक भएको थियो । सभा गाउँपालिका अध्यक्ष रिङजिन नामगेल गुरुङको अध्यक्षतामा भएको सूचना अधिकारी दिवस सापकोटाले जानकारी दिए ।


सो अवसरमा पालिकाले लोगो र गानका रचनाकारहरुलाई सम्मान पनि गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->