पोखरा/ वडालाई कला, सहित्यतर्फ आकर्षित गराउँदै समाज परिवर्तनमा टेवा पुराउने र सिर्जनात्मक प्रतिभा खोजेर प्रकट गराउने उद्देश्यसहित पोखरा महानगरपालिका–१३ वडा कार्यालयले एकदिने साहित्य पर्व गर्ने भएको छ ।
समाजसेवी, टोल बिकास समितिका पदाधिकारी, शैक्षिक व्यक्तित्व, विद्यार्थी, साहित्य अनुरागीसहित सम्पूर्ण वडाबासीलाई लक्षित गर्दै यही पुस २० गते शनिवारका दिन साहित्य पर्व गर्न लागिएको आइतबार पत्रकार सम्मेलनमार्फत वडाले जानकारी गराएको हो । साहित्य पर्व कार्यक्रमका संयोजक राजेन्द्र भण्डारीका अनुसार विभिन्न ६ वटा सत्र रहने पर्वमा साहित्यकार डा.अभि सुवेदी प्रमुख वक्ताका रुपमा रहनेछन् । उनले बर्तमानले देखेको र भविष्यले खोजेको साहित्यमाथी आफ्ना भनाई राख्नेछन् । यसैगरी विश्व सिंग्देलले वडा नम्बर १३ को इतिहास, बर्तमान र भविष्य एवं वडाभित्रका ऐतिहासिक पृष्ठभूमीको साथै राजनीतिक, सामाजिक, साहित्य लगायत क्षेत्रको बिकासमा खेलेको भूमीकामाथि प्रकाश पार्नेछन् । त्यस्तै साहित्यकार सरुभक्तले समाज रुपान्तरणा साहित्यको भूमीका विषयमा भनाई राख्नेछन भने, काजल पराजुली, रजनी परियार, धर्मराज अल्पायुले कविता वाचन गर्नेछन । र्यापर जेनिश क्षेत्री, गायीका सलोमी गुरुङ र लोक गायक अमर धितालको प्रस्तुति पनि रहनेछ । यस्तै लोककवि अलि मियाँका लोकगीत तथा तीर्थ श्रेष्ठका केही कवितामाथि कवि तीर्थ श्रेष्ठले बिचार व्यक्त गर्नेछन् । बाबा राणाको सांगीतिक जीवनको यात्रा संवाद पनि हुनेछ ।
वडा नम्बर १३ धार्मिक, ऐतिहासिक, भौगोलिक र जातिय हिसावले सम्पन्न मानिन्छ । शैक्षिक एवं साहित्यिक गतिविधिमा पनि अग्रस्थानमा छ । यही वडामा जन्मेका अलि मियाँले आफुलाई लोककविका रुपमा चिनाउन सफल भए । भद्रकाली मावि, अरण्यज्योति पुस्तकालय, जामे मस्जिद अकसा, कमलपोखरी, भद्रकाली मन्दिरले वडालाई चिनाउन थप सहयोग गरेका छन् । साहित्य समाजको आत्मा भएको र समाज त्यसको शरिर रहेकाले समाजको बिकासमा साहित्यको योगदानलाई बिर्सन नसकिने भण्डारीले बताए । ‘शब्दसंगको आत्मियतामा नै साहित्य र संस्कृतिलाई प्रोत्साहन गराउनु र सिर्जना गराउन सक्नु हो’ उनले भने, ‘वास्तवममा ‘शब्द’ आवाज, चेतना र भावना हो । यिनै शब्दका विविध आयामलाई जीवितता बनाउन शब्दसंग भलाकुसारी गर्न आवस्यक भएको महशुष गर्दै साहित्य पर्व गर्न गइरहेका हौ ।’
वडाध्यक्ष किरण बरालले आफुले निर्वाचनका बेला घोषणापत्रमा पनि पूर्वाधारमात्र बिकास नभई साहित्यलाई पनि अघि बढाउने भनेकाले यसै वर्षदेखि साहित्य पर्वको सुरु गरिएको बताए । पर्वले साहित्यकारलाई मात्र प्रोत्साहन नगरी समाजलाई साहित्य र संस्कृतिप्रति उत्साही बनाउँदै सिर्जनात्मक प्रतिभा प्रस्फुटित गर्न सहायक हुने विश्वास उनको छ । ‘यसले साहित्यिक सिर्जनशीलता सम्बद्र्धन, सांस्कृतिक आदानप्रदान गराउनुका साथै पठन संस्कृतिको प्रवद्र्धनमा पनि टेवा पुग्नेछ’ उनले भने, ‘यसबाट स्थानीय र राष्ट्रिय क्षेत्रमा ध्यान आकर्षित गर्ने अपेक्षा छ । सबैको साथसहयोग पाउने विश्वास छ ।’ वडा सदस्य सूचीता तामाङले वडाले पहिलो पटक कार्यक्रम गर्न लागेको भन्दै यसलाई सफल बनाउन सबैको सहयोगको अपेक्षा गरिन् ।





