बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पर्वतको बाँसखर्कमा सुन्तला महोत्सव

पर्वतको बाँसखर्कमा सुन्तला महोत्सव


  • संजय रेग्मी
  • पुष १७ २०८१, बुधबार

पर्वत/ स्वाद र गुणस्तरको हिसाबले गण्डकी प्रदेशमै उत्कृष्ट सुन्तला फल्ने पर्वतको जलजला गाउँपालिकाको बाँसखर्कमा सुन्तला महोत्सवको आयोजना गरिने भएको छ । बाँसखर्कको सुन्तला सबैको रोजाइमा पर्ने गरेकोले यसको थप प्रचारप्रसार गरेर बजारमा माग बढाउनको लागि एक दिने महोत्सवको आयोजना गर्न लागिएको हो ।  गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले धेरै वर्ष पहिलेदेखि नै बाँसखर्कका कृषकहरूले व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएको बताए । स्वाद र गुणस्तरका हिसाबले प्रदेशमा नै उत्कृष्ट मानिएको सुन्तला बाँसखर्कको नै भएकोले पनि बाँसखर्कका कृषकहरूले सुन्तला खेतीबाटै आर्थिक स्तर बलियो बनाएको उनले बताए ।

बगैँचामा फलेको सबै सुन्तलाले राम्रो बजार पाएको बेलामा पनि सडक समस्याका कारण कृषकले खुलेर सुन्तला खेती गर्न नपाएको अवस्थालाई बाहिर ल्याउनको लागि र धेरै व्यक्तिहरूले बगैँचामा नै पुगेर बाँसखर्कका सुन्तलाका स्वाद लिन सकुन् भनेर एक दिने महोत्सवको आयोजना गर्न लागिएको हो । ‘एक दिनमात्रै भए पनि पुस अन्तिम साता (२६ वा २७ मा) महोत्सव लगाउँदै छौँ । यहाँका जनताले जग्गा पाएसम्म सुन्तला लगाउँछन् । तर बाटोका कारण निर्यातमा समस्या हुँदा खुलेर सुन्तला लगाउन सकिएको छैन’, उनले भने, ‘गण्डकी प्रदेशभरका सकेसम्म धेरै मिडियाहरूलाई बोलाएर यहाँका सडक र सुन्तलाका बगैँचा देखाउने र स्वाद चखाउने हो भने यहाँका वास्तविकताहरू बाहिर आउँछन् ।’ गण्डकी प्रदेश र बाहिर पनि बाँसखर्कको सुन्तला राम्रो मूल्यमा जाने गरेको भन्दै अध्यक्ष आचार्यले गाउँपालिकाले प्रचारप्रसार गर्न तथा सुन्तलालाई ब्रान्डीङ गरेर बाहिर निर्यात गर्ने योजना बनाउनको लागि महोत्सव महत्त्वपूर्ण हुने बताए ।

स्थानीय ज्योतिमण्डल माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा व्यावसायिक सुन्तला कृषक मेखबहादुर खत्रीले सुन्तला अझै धेरै उत्पादन गर्न सक्ने क्षमता भए पनि सडकको अवस्थाकै कारण कृषकहरू निराश हुनुपरेको बताए । गत वर्षको भन्दा यसवर्ष सुन्तला झनै धेरै फलेको र गाउँका करिब दुई सय घरले सुन्तला खेती गरेका उनको भनाइ छ । बाँसखर्कको सुन्तला सबैको रोजाइमा परेको भए पनि सुन्तला बोक्न जाने सवारीहरू गुड्नै नसक्ने अवस्थाको बाटो बनाउन सरकारको रोजाइ नपर्दा दुःख लागेको खत्री बताउँछन् । बाँसखर्कको सुन्तला कुश्मा, बागलुङ, बेनी, पोखरा, नारायणगढ, काठमाडौँ लगायतका ठाउँहरूमा निर्यात हुने गरेको भए पनि सडक सास्तीले गन्तव्यमा पुग्नेबेलासम्म थिचिने र ठोक्किने समस्याले क्षति हुने गरेको उनको भनाइ छ ।

गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बाँसखर्कको सुन्तला सबैभन्दा ढिला समयसम्म पनि बिक्री गर्न सकिने भएकाले पनि राम्रो मूल्य पाउने गरेको बताए । भौगोलिक अवस्था र वातावरण नै सुन्तलामैत्री भएकोले बाँसखर्कको सुन्तलालाई ढिलोसम्म बिना प्रतिस्पर्धा बेच्न सकिने अवस्था छ । बाँसखर्कको सुन्तलाले बोलेको मूल्य पाउने गरेको भए पनि सडकको समस्याकै कारण पूर्ण क्षमतामा उत्पादन गर्न नसकिएको उनको भनाइ छ ।  ‘एउटै कृषकले २०÷२५ लाखको सुन्तला फलाउने यस्तो ठाउँमा सहजै गाडी आउँदैन । जसोतसो आएकाहरूले उफार्दा सुन्तला नै टुटफुट हुन्छ, ढुवानी खर्च बढी लाग्छ । सररर जाने बाटोमा जस्तो सहज छैन’, उपाध्यक्ष आचार्यले भने, ‘कृषकलाई आवश्यक पूर्वाधार निर्माण हुनुपर्छ र त्यसका लागि चौतर्फी दबाब पनि चाहिन्छ । धेरै फल्यो भने बजार पठाउन कठिन हुने भनेर कृषकहरूले कम खेती गरेको अवस्था छ ।’ नेपालकै उच्च गुणस्तरको सुन्तला पाइने ठाउँलाई चिनाउन, गाउँका अरू सम्भावनाको पहिचान गर्न, बाँसखर्कको सुन्तलालाई विदेश निर्यात गर्न पनि महोत्सव महत्त्वपूर्ण हुने आचार्य बताउँछन् । महोत्सवमा आउनेहरूले बगैँचाबाटै सुन्तला किन्न पाउने, दृश्यावलोकन गर्न पाउने छन् भने उक्त दिनमा सुन्तला सम्बन्धी खेलकुद कार्यक्रमहरू आयोजना हुँदै छन् । जलजला गाउँपालिका र वडाको साझेदारीमा आयोजना हुने महोत्सव सफल बनाउनको लागि मूल समिति र उपसमितिहरू निर्माण गरेर काम तयारी थालिएको छ ।

((

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->