पर्वत/जिल्लामा धान खेती गरिने क्षेत्रफल घटेको भए पनि उत्पादकत्व भने बढेको छ ।
कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख परशुराम अधिकारीका अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ मा मा धानको उत्पादकत्व ३.४७ प्रतिशत रहेको छ । त्यो भन्दा अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा ३.३८ प्रतिशत उत्पादकत्व रहेको कार्यालयको तथ्याङ्क छ ।
आर्थिक वर्ष २०७९/८० मा कुल सात हजार सात सय ८४ हेक्टर क्षेत्रफलमा धान खेती गर्दा २६ हजार तीन सय ४७ मेट्रिक टन धान उत्पादन भएकोमा आर्थिक वर्ष २०८०/८१ मा सात हजार पाँच सय २५ हेक्टर क्षेत्रफलमा २६ हजार एक सय १२ मेट्रिक टन धान उत्पादन भएको कार्यालय प्रमुख अधिकारीले बताए ।
उत्पादकत्व बढेको देखिएको भए पनि कृषकहरू बसाइ सरेर जाने क्रम भने नरोकिएको उनको भनाई छ । खेतीयोग्य जमिनमा गरिने खेतीको क्षेत्रफल घट्दा जग्गा बाँझो रहने क्रम बढेको भए पनि उत्पादन बढ्नुमा विविध कारणहरू रहेको अधिकारीले बताए । उत्पादकत्व बढेको देखिनु राम्रो भए पनि कृषकहरूले जग्गा बाँझो छाड्ने क्रम बढ्नु दुःखद रहेको छ । विशेषतः उन्नत जातका धानको बीउ प्रयोग गर्नु, सिंचाइको सुविधा बढ्नु, उन्नत प्रविधिहरूको प्रयोग गर्नु, मल र बीउको पर्याप्त उपलब्धता लगायतका कारण उत्पादन वृद्धि भएको हो उनको भनाइ छ ।
‘उन्नत जातको बीउ लगाउँदा बित्तिकै १५ देखि २० प्रतिशत उत्पादन बढिहाल्छ। गाउँ गाउँका कृषकहरूले पनि स्थानीय जातको प्रयोग छाडेर उन्नत जातका बीउहरू लगाउनुभएको छ । पर्वत सानो जिल्ला हुनाले पनि रासायनिक मलको अभाव भोग्नुपरेन,’ कार्यालय प्रमुख अधिकारीले भने, ‘अहिले पानीको पर्याप्तता पनि पुग्यो । बिस्तारै सिचाइको सुविधा पनि बढ्दै गइरहेको छ । कृषि क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै जाँदा उत्पादन पनि बढेको छ ।’





