पोखरा/ गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले गण्डकीका मौलिक धुनहरुलाई संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा सांगीतिक कलाकार संघको संयुुक्त आयोजनामा भएको “गण्डकीका धुुनहरु” नामक कार्यक्रममा बोल्दै उनले गण्डकी प्रदेशको सांगीतिक सम्पदाको महत्व र यसलाई संरक्षण गर्ने आवश्यकतामा जोड दिएका हुन् ।
मन्त्री थापाले प्रदेशका मौलिक बाजाहरूको जगेर्ना र नयाँ पुस्तामा यसको हस्तान्तरणलाई प्राथमिकतामा राखिने बताए । “गण्डकी प्रदेश गीतसंगीतको उर्वरभूमि हो । यहाँका सिर्जना विश्वप्रख्यात छन् । गण्डकीका सर्जकका सिर्जनालाई संरक्षण गर्न नै गण्डकी प्रज्ञा प्रतिष्ठानको स्थापना गरिएको हो । जसका माध्ययमबाट विविध कार्यक्रम हुँदै आएका छन्”, उनले भने । कार्यक्रममा पञ्चेबाजा, सारंगी, बाँसुरी, धिमे, सनई, टुङ्ना, मादल, खीं लगायत मौलिक बाजाहरू एकै मञ्चमा प्रस्तुत भएको देख्न पाउँदा खुशी लागेको उनले उल्लेख गरे । उनले प्रस्तुत बाजाहरूको ध्वनि र धुनले गण्डकी प्रदेशको सांगीतिक विविधतालाई प्रतिनिधित्व गरेको बताए । “हामी धुन र बाजाका हिसाबले धनी छौ । यसलाई संरक्षण गर्दै आगामी दिनमा प्रवद्र्धन गर्न हामी सबैले भूमिका निर्वाह गर्नुपर्छ”, उनले भने । मन्त्री थापाले गण्डकी प्रज्ञा–प्रतिष्ठानको यस पहलको प्रशंसा गर्दै यस्तो कार्यक्रमले सांस्कृतिक धरोहरलाई जीवन्त राख्ने विश्वास व्यक्त गरे । साथै उनले आफ्नो मन्त्रालयको यस्ता सांस्कृतिक गतिविधिहरूमा निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता जनाएका छन् । गण्डकीका मौलिक बाजाहरू जोगाउन सरकार, कलाकार र स्थानीय समुदायको सामूहिक प्रयास जरुरी रहेको उनले उल्लेख गरे ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले कार्यक्रमको महत्वलाई रेखांकित गर्दै गण्डकीको सांस्कृतिक धरोहर जगेर्ना गर्न यस्ता कार्यक्रमले खेल्ने भूमिकाको प्रशंसा गरे । गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले अग्रज स्रष्टाहरूलाई सम्मान र नयाँ पुस्तालाई मौलिक बाजाप्रतिको आकर्षण बढाउने उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको जानकारी गराए । उक्त कार्यक्रमले सांस्कृतिक पहिचानलाई बचाउन र नयाँ पुस्तालाई प्रेरित गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास उनको छ । कार्यक्रममा काठमाडौं र गण्डकीका ४० भन्दाबढी वाद्यवादकहरूले नेपाली मौलिक बाजाहरूको माध्यमबाट सांगीतिक धुनहरू प्रस्तुत गरे । संगीत संयोजक तथा निर्देशक प्राज्ञ अशोक राईले पोखरामा पहिलो पटक अर्केष्ट्राको स्वरूप प्रदर्शन गरिएको जानकारी दिए । उक्त अभियानले गण्डकीका धुनहरुलाई प्राथमिकतामा राखेर सांगीतिक पहिचानलाई बलियो बनाउने प्रयास भएको भनाई उनको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का बिखर्चीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राजनीतिकर्मी, प्रदेश सरकारका सचिवहरु, कलाकार, साहित्यकार, पत्रकार लगायतको उपस्थिति थियो ।





