आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कुश्माको राष्ट्रपति रनिङ शिल्डमा नारायण माविको ह्याट्रिक

कुश्माको राष्ट्रपति रनिङ शिल्डमा नारायण माविको ह्याट्रिक


  • ढोरपाटन संवाददाता
  • पुष २९ २०८१, सोमबार

पर्वत/ कुश्मा नगरपालिकाको आयोजनामा हुँदै आएको राष्ट्रपति रनिङ शिल्डको तेस्रो संस्करणको उपाधि पनि नारायण माध्यमिक विद्यालयले नै जितेको छ । आइतबार साँझ सम्पन्न रनिङ शिल्डको नतीजा अनुसार २१ स्वर्ण, ९ रजत र १० कांस्य गरी ४० पदक हात पार्दै नारायण मावि पहिलो बनको हो । यसअघि सम्पन्न पहिलो संस्करणमा १२ स्वर्ण, ६ रजत र ९ कांस्य गरी कुल २७ पदक जितेको विद्यालयले दोस्रो संस्करणमा २३ स्वर्ण, ७ रजत र ८ कांस्य गरी कुल ३८ पदक जितेको थियो ।

दोस्रो स्थानमा आएको पर्वत गुरुकुल एकेडेमीले ९ स्वर्ण, ७ रजत र ७ कांस्य गरी २३ पदक, तेस्रो स्थानमा आएको नमुना अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयले ७ स्वर्ण, ११ रजत र ७ कांस्य गरी २४ पदक जितेको छ भने सान्त्वना स्थानमा आएको शिवालय माध्यमिक विद्यालयले ५ स्वर्ण, १० रजत र १० कांस्य गरी २५ पदक जितेको छ । कुश्मा नगरपालिकाले लगातार तीन पटक ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता जित्ने विद्यालयलाई पाँच लाख रुपैयाँ पुरस्कार दिने र शिल्ड पनि सोही विद्यालयकै बन्ने घोषणा पहिलो संस्करणको रनिङ शिल्ड आयोजना गर्ने बेलामा गरेको थियो । यस अनुसार लगातार तेस्रो पटक विजेता बनेको नारायण मा.वि.ले नगरपालिकाको तर्फबाट घोषणा भएको पाँच लाख रुपैयाँ प्राप्त गर्ने छ । यस्तै यस वर्षका लागि प्रथम हुने विद्यालयका लागि घोषणा गरिएको ५१ हजार रुपैयाँ सहित नारायण मा.वि.ले पाँच लाख ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ ।यस्तै दोस्रो स्थानमा आएको पर्वत गुरुकुल एकेडेमीले ३१ हजार एक सय ११ रुपैयाँ, तेस्रो स्थानमा आएको नमुना अङ्ग्रेजी आवासीय मा.वि.ले २१ हजार एक सय ११ र सान्त्वना स्थानमा आएको शिवालय माध्यमिक विद्यालयले ११ हजार एक सय ११ रुपैयाँ पुरस्कार पाउने नगर शिक्षा शाखाका अधिकृत दीपक सुवेदीले बताए ।

प्रतियोगितामा कालीगण्डकी एकेडेमीले २ स्वर्ण, २ रजत र ३ कांस्य, पञ्चकोशी मा.वि.ले १ कांस्य, जनक मा.वि.ले १ स्वर्ण र १ कांस्य, वीरेन्द्र मा.वि.ले १ रजत र १ कांस्य, पूर्णेश्वर मा.वि.ले २ स्वर्ण, २ रजत र ६ कांस्य पाएका छन् । यस्तै सूर्यप्रकाश मा.वि.ले १ स्वर्ण र ४ रजत, जनता सुदर्शन मा.वि.ले १ स्वर्ण र १ कांस्य, मंगलोदय मा.वि.ले १ रजत र १ कांस्य, सार्वजनिक मा.वि.ले १ स्वर्ण, आइबल एकेडेमीले ३ रजत र ९ कांस्य जितेका छन् । हिमालय मा.वि.ले २ कांस्य, काफलचौर मा.वि.ले ३ स्वर्ण, २ रजत र २ कांस्य, सहिद स्मारक अङ्ग्रेजी आवासीय मा.वि.ले २ स्वर्ण र ३ कांस्य तथा राष्ट्रिय बाल शिक्षा सदनले १ स्वर्ण र २ कांस्य पाएका छन् ।

विद्यालयहरूलाई शिल्ड, ट्रफी र मेडल सहितको पुरस्कार वितरण समारोहमा बोल्दै कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले विद्यार्थीहरूका लागि खेल बहु आयामिक दृष्टिकोणले महत्त्वपूर्ण रहेको बताए । विद्यार्थी जीवन किताब र कलमको सीमितताभित्र मात्र सीमित नगरी एक स्वस्थ, सन्तुलित र सफल जीवनका लागि खेलकुद पनि उत्तिकै आवश्यक हुने उनको भनाइ छ । खेलकुदले रोग प्रतिरोधात्मक क्षमता बढाउने, सहनशीलताको विकास गराउने, बालबालिकाहरूले प्रतिस्पर्धी भावना जागृत गराउने भएकोले विद्यालय तहबाटै नै खेलकुदलाई महत्त्व दिएर प्रतियोगिता आयोजना हुँदै आएको पौडेलले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->