बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

आगलागीमा परेका पर्वतका रेग्मीको उपचारको क्रममा निधन

आगलागीमा परेका पर्वतका रेग्मीको उपचारको क्रममा निधन


  • ढोरपाटन संवाददाता
  • माघ ३ २०८१, बिहिबार

पर्वत/  गत पुस २१ गते ग्यास लिक भएर आगलागी हुँदा गम्भीर घाइते भएका पर्वतका एक पुरुषको उपचारको क्रममा काठमाडौँमा निधन भएको छ । जिल्लाको कुश्मा नगरपालिका–१० पिपलटारीमा नयाँ ग्यास सिलिन्डरमा रेगुलेटर जोड्ने क्रममा आगलागी हुँदा छिमेकी ७३ वर्षीया दुर्गादेवी पौडेलको सोही दिन नै जलेर मृत्यु भएको थियो भने घरधनी ५२ वर्षीय ध्रुव रेग्मी गम्भीर घाइते भएका थिए । हात र खुट्टा दुवै काटिएको अवस्थामा उपचार चलिरहेका उनको फोक्सोमा भएको सङ्क्रमण निको नहुँदा निधन भएको हो ।

रेग्मीलाइ आगलागी भएकै दिन पर्वत अस्पतालबाट पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा र त्यहाँबाट हेलिकोप्टर चार्टर गरेर लागि कीर्तिपुर लगिएको थियो । कीर्तिपुरस्थित जलन अस्पतालमा उपचार थालिएको भए पनि उपचारकै क्रममा उनको निधन भएको हो । उनको बिहीबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । उनको उपचारमा हालसम्म २७ लाख रुपैयाँभन्दा बढी खर्च भएको छ । रेग्मीका एक छोरा वैदेशिक रोजगारीमा रहेका छन् भने एक जना नेपालमै छन् ।

उक्त घटनामा परेर घाइते भएकी ध्रुवकी श्रीमती तिला रेग्मीको भने सामान्य अवस्थामा घरमा नै राखेर उपचार चलिरहेको छ । उनको दुवै खुट्टाको पैताला जलेका छन् । घटना हुँदाका बखत छिमेकी दुर्गादेवी पौडेल रेग्मीको घरमा दूध लिन पुगेको र चिया पिउँदै गरेको अवस्थामा आगलागी भएको छिमेकीले बताएका छन् । ग्यासका कारण दुई जनाको कहालीलाग्दो मृत्यु भोगेको पिपलटारी ध्रुवको निधनले झनै शोकमा परेको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->