पर्वत/ जिल्लाको कुश्मा नगरपालिकाले ल्याएको स्वर्णिम अवकाश योजना अन्तर्गत १० जना शिक्षकहरुले अवकाश रोजेका छन् । प्राथमिक तहमा दरबन्दी मिलान गर्नुपर्ने बाध्यता भए पनि शिक्षकहरूको दरबन्दी धेरै हुँदा दरबन्दी मिलानमा समस्या भएपछि नगरपालिकाले यो योजना ल्याएको थियो । स्थायी सेवा अवधि पूरा भएका शिक्षकहरूलाई अवकाश हुनका लागि ल्याएको स्वर्णिम अवकाश योजनामा आवेदन दिएकामध्येबाट १० जनाको अवकाश भएको कुश्मा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख विष्णुप्रसाद तिवारीले बताए ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशव्यापी रूपमा शिक्षकहरूको दरबन्दी मिलानका लागि स्थानीय तहहरूलाई विगतदेखि नै ताकेता गर्दै आइरहेको छ । कुश्मा नगरपालिकामा कुल तीन सय १० प्राथमिक तहको दरबन्दी रहेकोमा यो सङ्ख्या घटाएर दुई सय १९ मा झार्नुपर्ने अवस्था छ । नगरपालिकाका ९१ दरबन्दी ‘पुल’ अवस्थामा रहेका थिए । मन्त्रालय र विभागबाट कुश्मा नगरपालिकामा बढी भएका दरबन्दीहरू कटौती गरी बागलुङ र नवलपरासी पश्चिम पठाउने निर्देशन आएपछि नगरपालिकाले क्रमिक रूपमा दरबन्दी कटौतीको काम गरिरहेको छ । तर पनि २६ दरबन्दी अझै बढी हुँदा दरबन्दी मिलानमा समस्या भएपछि स्थायी सेवा अवधि पूरा भएका शिक्षकहरूलाई अवकाशमा आकर्षित गर्न स्वर्णिम अवकाश योजना ल्याइएको थियो । १० जना शिक्षकहरुले जागिर त्यागेपछि अब १६ वटा दरबन्दी बढी भएका छन् ।
अवकाश लिएका शिक्षकहरूमा झलक सुवेदी, सोमप्रसाद आचार्य, भानुभक्त सुवेदी, ख्यामराज सुवेदी, खगेश्वरी के.सी, रामप्रसाद पौडेल, ऋषिराम सुवेदी, लीलाराज पौडेल, रामप्रसाद शर्मा र नारायणदत्त गौतम रहेका छन् । उनीहरू २०४८, २०५० र २०६० सालमा स्थायी भएका शिक्षकहरू हुन् । उनीहरूले २०८३, २०८५ र २०८७ मा अवकाश पाउने मिति रहेको थियो । यो योजना लागू गर्नको लागि चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ विनियोजन भएको थियो । यो रकम दुई लाख रुपैयाँका दरले १० जना शिक्षकलाई मात्रै दिने गरी योजना ल्याइएको थियो । स्थायी सेवा पूरा भएर पनि सेवा गर्न पाउने ६० वर्षसम्मको उमेरको अवधि जसको बढी छ उही शिक्षकहरूलाई क्रमशः अवकाशमा समावेश गरिएको हो । कार्यविधिमा २०८२ सालको मङ्सिरपछि अवकाश भएका शिक्षकहरुले मात्रै यो योजनामा सहभागी हुन पाउने भनिएको थियो ।
विस्थापित गर्नुपर्ने दरबन्दीहरू बिस्तारै घटाउँदै लगिएकाले सार्नुपर्ने सबै दरबन्दी सारेपछि नगरपालिकाभित्रको दरबन्दी मिलान र पुनः वितरणमा सजिलो हुने शिक्षा शाखा प्रमुख तिवारीले बताए । ‘यस वर्ष १० जनालाई मात्रै यो योजनामा समावेश गर्दा हामीले घटाउनुपर्ने दरबन्दीको सङ्ख्या १६ मात्रै बाँकी रहेको छ । यो बिचमा स्वतः अवकाश पाउने र आफैले अवकाश लिने पनि हुनुहुन्छ । अर्को वर्ष पनि करिब १० जनाका लागि योजना ल्याए दरबन्दी मिल्छ’, उनले भने, ‘त्यसपछि नगरपालिकाको आन्तरिक मिलान गर्ने हो । कहीँ शिक्षक नभएर निकै कठिन भएको छ, कहीँ विद्यार्थी नै नभएर एक÷दुई जना विद्यार्थीलाई राखेर कक्षा चलाउनुपरेको छ । अब पालिकाको पुनः वितरणमा यी कुरा मिल्छन् ।’





