पर्वत/ जिल्लाको जलजला गाउँपालिका–९ बनौँका कृषकहरूलाई फलफूल खेतीतर्फ आकर्षित गर्न तथा बाँझो रहेको जग्गाबाट आम्दानी गर्न ओखर खेती गरिने भएको छ । नगदे बाली लगाउँदा धेरै स्याहार गर्नुपर्ने र गाउँ छाडेर बाहिर बसेकाहरूको लागि त्यो सम्भव नहुने भएकोले दीर्घकालीन आयका लागि दाँते ओखर उत्पादनका लागि पहिलो प्रयास गर्न लागिएको वडाध्यक्ष गौबहादुर पुनले बताए । आलु खेतीका लागि प्रख्यात रहेको बनौँमा ओखर खेतीका लागि पनि उत्तम हुनसक्ने भएकोले यो वर्ष परीक्षणको रूपमा एक हजार पाँच सय बिरुवा कृषकहरूलाई दिन लागिएको हो ।
समुन्द्री सतहबाट दुई हजार मिटरभन्दा माथिको उचाइमा दाँते ओखर राम्रो हुने भएकोले झन्डै दुई हजार तीन सय मिटरको उचाइमा रहेको बनौँमा यो प्रयास थालिएको वडाध्यक्ष पुनको भनाइ छ । कृषकहरूले खाडल खनिसकेपछि मात्र बिरुवा वितरण गर्ने मुस्ताङमा एक हजार पाँच सय बिरुवा ‘अर्डर’ गरिएको छ । वडाको करिब एक लाख रुपैयाँ लगानीमा बिरुवा खरिद गर्न लागिएको छ । सरकारी दर अनुसार बिरुवा किन्दा धेरै महँगो नपर्ने भएकोले थोरै बजेटमा पनि काम गर्न सकिने पुनले बताए । एकपटक लगाएपछि दीर्घकालीन रूपमा आम्दानीको स्रोतको रूपमा ओखर खेतीलाई लिन सकिने भएकोले यसमा कृषकहरूको माग पनि बढेपछि वडाले ओखर खेतीमा लगानी गर्न लागेको हो । आफू जनप्रतिनिधिको रूपमा रहेको बेलामा गरेको काम आगामी वर्षसम्म नै निरन्तर देखिने भएकोले पनि कृषकहरूको माग अनुसार दाँते ओखर लगाउन लागिएको वडाध्यक्ष पुन बताउँछन् ।
‘आफू जनप्रतिनिधिबाट बाहिर रहने बेलामा पनि यहाँका बारीमा ओखर फलेको देख्न पाउँदा आफ्नो कार्यकालमा गरेको काम हो भन्ने गर्व लाग्छ । यसले सामान्य दुःखमा नै कृषकहरूको आम्दानी बढाउँछ भन्ने लागेको छ’, उनले भने, ‘अन्य ठाउँमा जस्तो यहाँ पनि बसाईँसराईँको क्रम रोकिएको छैन । यहाँका बाँझा जग्गालाई सदुपयोग गर्नको लागि पनि यो बाली राम्रो हुन्छ । आगामी वर्ष आरुका बिरुवा पनि व्यावसायिक रूपमा लगाउने योजनामा छौँ ।’ केही दिनमा कृषकको घरमा आइपुग्ने ओखरका बिरुवा लगाउन अहिले कृषकहरूले खाडल तयार पारिरहेका छन् । खाडल नै नबनाई बिरुवा बाँड्दा कोहीले बिरुवा नै नरोपी त्यत्तिकै खेर फाल्न सक्ने भएकाले खनिएका खाडलका आधारमा मात्रै बिरुवा दिने तयारी वडा कार्यालयले गरेको छ ।





