शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

प्रगतिवादको कसिमा ‘तरङ्ग’ कविता संग्रह : भाग–१

प्रगतिवादको कसिमा ‘तरङ्ग’ कविता संग्रह : भाग–१


  • माधव चापागाईं
  • माघ ७ २०८१, सोमबार

आधुनिक नेपाली साहित्यमा करिब ६ दशक कलम चलाएका साहित्य साधना र वामपन्थी राजनीतिमा सक्रिय कवि दिनानाथ शर्माको ‘तरङ्ग’ कविता संग्रह सैद्धान्तिक, राजनीतिक र वैचारिक लेखका अलावा दर्जनौं निबन्ध, नियात्रा र संस्मरणको प्रकाशन पश्चात् साहित्यप्रेमीहरुका हातमा प्राप्त कृति हो । बागलुङको बा.न.पा १२ अमलाचौरमा जन्मिएका साहित्यकार शर्मा नेकपा माओवादी केन्द्रका सांसद एवं पुर्व शिक्षामन्त्री हुन् । कवि शर्माको तरङ्ग कविता संग्रहलाई यथास्थितिको समाज र मानवीय जीवनस्तर उपर प्रगतिपूर्ण सोचको प्रादुर्भाव भएको कृतिका रूपमा लिन सकिन्छ । समग्र समाज, राष्ट्र, राष्ट्रियता र नेपाली जनताको प्रगतिको कामना गर्ने प्रगतिशील कवि शर्माको यस संग्रहलाई प्रगतिवादका सैद्धान्तिक मान्यताका आधारमा यसरी विश्लेषण गर्न सकिन्छ ।

वैचारिक प्रतिबद्धता
साहित्य सधैं संघर्षशील जनताका पक्षमा प्रतिबद्ध रहन्छ । कविले सामन्तवादी सत्ता र सामाजिक कुरीतिप्रति दावानल बनेर आफ्ना विचार प्रवाह गर्दै लेखनीलाई निरन्तरता दिन्छन् । यस्तै परिवेशलाई अवलम्बन गरी ‘भनिन्छ कवि’ शीर्षकको कवितामा यसरी कवि विचार प्रकट भएको छ–

उजागर सत्यको, भण्डाफोर पाप न अपराधको
खाली कागजमा लेखनी कुदाएर
छताछुल्ल पार्छ अन्याय र अत्याचारको…….

कवितामा कवि स्वतन्त्र हुन्छ, आफ्नो लेखनीलाई खाली कागजमा दौडाएर अन्याय र अत्याचारको विरोध गर्दै सामाजिक कुरीति, यथास्थितिवादी सोच र रूढीवादी परम्पराविरुद्ध प्रतिवद्ध भएर अगाडि बढ्न आम जनमानसमा अपिल गरिएको छ । शासक वर्गका अराजक गतिविधिहरूलाई विचारको कसीमा बाँधेर गरिब, निमुखा पीडित, उपेक्षित एवं सर्वहारा जनताले युग परिवर्तन र समयको पावन्दीलाई बुझेर समानताको आवाजलाई यसरी कोरिएको छ–

समय भेट्न मानिस, खहरे वनेर झर्नुपर्छ,
युग भेट्न मानिस, नदी बनेर बग्नुपर्छ …

पुरातनवादी, सामन्ती प्रथाका विरुद्ध मानिस चलायमान, गतिशील र तरल बनेर प्रगतिको तीव्र गतिलाई भेट्न हरहमेशा तत्पर रहिरहनु पर्छ, तब मात्र पुँजीपतिहरूका मुनाफाखोरी गतिविधिहरूका सीमानाहरू भत्काएर नयाँ युगको सुरुवात गर्न सकिन्छ भन्दै प्रगतिशील विचारमा प्रतिवद्ध भई अगाडि बढ्न यहाँ गरिब जनतालाई प्रेरित गरिएको छ । त्यस्तै गरी वर्तमान समयलाई नियाल्दा श्रमजीवी वर्ग हर घडी, हरपल संसार बदल्न अगाडि बढ्नु पर्ने, परिवर्तनका लागि श्रमिक वर्गहरू एकताबद्ध भएर तिनै सामन्ती शासकहरूका विरुद्ध जुट्नु पर्ने भाव यसरी व्यक्त छ–

पर्याप्त छ वर्तमान कर्मयोगीका लागि,
पर्याप्त छ समय संसार बदल्नका लागि, विगत इतिहास हो…

परिवर्तनका लागि विगत र वर्तमानका विचारलाई फुलाएर नयाँ युगको सुरुवात गर्नुपर्छ, पुरानो सामन्तवादी प्रथाको अन्त्य गर्न श्रमजीवी जनता वैचारिक रूपमा प्रतिबद्ध हुनुपर्छ । प्रगतिवादी धरातललाई अँगाली संघर्षशील बन्नुपर्छ भन्दै जीवनको परिचय ‘म’ शीर्षकको कवितामा स्थापित गरिएको छ–

म केवल म होइन, एउटा विचार हुँ,
म केवल विगत होइन, वर्तमान र भविष्य पनि हुँ…

उच्च वर्गको आडम्बरीपन, थिचोमिचो र निम्न वर्गप्रति गरिने निकृष्ट व्यवहारका विरुद्ध यहाँ श्रमिकहरू वर्तमानका साझेदार, भविष्यका हकदार, समग्र युगका प्रतिनिधि हुन, समाज परिवर्तन र क्रान्तिका संवाहक हुन् त्यसैले पुँजीपति वर्गले हतियार मात्र बनाएर सर्वहारा जनताको जीवन यथार्थलाई मेटाउन सक्ने छैनौं भन्ने आवाज कवितामा व्यक्त गरिएको छ । समाजमा रहेका भोका, नाङ्गा र पीडित जनताको रगत र पसिना चुस्ने सामन्ती शोषकहरू दमनको भाव होइन विचारको युद्ध लड्न आऊ संघर्षको मैदानमा भन्दै–

हतियार भिरेर आउ विचारको,
दर्शन बनेर आउ संघर्षको, मेरा शब्दहरू…

कवितामा आफ्ना भावनाहरूलाई सामन्तीहरूका जीवन यथार्थतिर मेरा शब्दहरू लक्षित गर्दै हातहतियार र धाकधम्की होइन । अब समाजमा संघर्ष हुन्छ भने विचार र दर्शनको हुन्छ । कोही कसैले कुनै पनि गरिब किसानको पसिनासँग खेलवाड गर्न पाउने छैन् भन्दै संघर्षशील जीवन भोग्नु छ र परिवर्तनका लागि लड्नु छ भने वैचारिक द्वन्द्व गर्नुपर्छ भनिएको छ ।

वर्गसंघर्ष र वर्गीय प्रेममा विश्वास
प्रगतिवादमा समाजमा रहेका मानिसहरू सामाजिक र आर्थिक संरचनाबाट प्रभावित हुन्छन् । उच्च र निम्नवर्गमा सधैं स्ववर्ग प्रेम र दुई वर्गका बिच निरन्तर संघर्ष भईरहन्छ तर वर्गसंघर्ष र वर्गीय प्रेम हुनुपर्ने मान्यता अनुरूप कवितामा हुने खाने वर्गका विरुद्ध हुँदा खाने वर्गको संघर्ष देखाउनुमा कविले महत्व दिएका छन–

वर्ग धरातलमा उभेर, वर्ग वैरीको उछितो काड्न
‘सयौं फुल फुल्न देऊ, सयौं विचार चलखेल गर्न देऊ…

समाजमा रहेका वर्गीय प्रेममा विश्वास राख्ने श्रमजीवी जनताले शोषक, सामन्ती शासकहरूको कुकृत्यको पर्दाफास गर्न लागि पर्नुपर्छ । तब निम्न वर्गीय गरिखाने वर्गमा नवीन कार्यशैली र विचारहरू सामाजिक उन्नतिका लागि सिर्जना हुन्छन् । वर्गीय विषमतालाई अन्त्य गर्न सकिएको खण्डमा नयाँ नेपाल निर्माण हुन्छ भनिएको छ । वर्ग संघर्षका क्रममा समाजमा रहेका कोही पनि मानिस अलग्गिन चाहदैनन् आ– आफ्नो वर्गसँग सम्बद्ध भएर अगाडि बढ्छन् । मानवको सम्मान र नयाँ सभ्यताको लागि निरन्तर रूपमा सामन्तीहरूका विरुद्धमा लड्न चाहन्छन् । जहाँ आफ्नो वर्गमा मर्यादा र विश्वास हुन्छ त्यहाँ वर्गवैरीसँग युद्ध चल्छ भनेर कवितामा उदृत छ–

यो वर्ग युद्ध हो, शालीन र सभ्य नहुन सक्छ
वर्ग वैरीसित सधैं, इज्जत र सम्मान नहुन सक्छ….

समाजमा रहेका उच्च र निम्नवर्गहरू सधैं स्ववर्ग प्रेम चाहन्छन् । यही स्ववर्ग प्रेम स्थापना र वर्गविहीन समाज निर्माणका लागि प्रगतिवादी विचार भएका उत्पीडित, दलित, श्रमजीवी जनताहरू एकजुट भएर वर्ग वैरीको अस्तित्व समाप्त पार्न वर्गसंघर्ष गर्छन् । कोही उच्च र कोही निम्न हुँदैनन्, सबै मानिस स्वतन्त्र हुनुपर्छ, कोही फुट्नु हुँदैन, सबैको सम्मान हुनुपर्छ भन्दै समतामुलक समाजको अपेक्षा यस कवितामा गरिएको छ । हरेक वर्गका बिच प्रेम हुनु पर्छ भन्दै वर्गीय प्रेम र गरिब जनताका पक्षमा उभिएर कविले सहअस्तित्व भाइचारा र एकताको आवाज कवितामा प्रस्तुत गरेका छन्–

गरिबमारा व्यवस्थालाई मिल्काउन हामी
उठौं–जुटौं कम्मर कसौं सर्वहारा हामी…

समाजमा रहेका बेथितीहरूलाई सुधार गरी नयाँ शैलीमा विकास गर्नुपर्छ । शासक र शासित, शोषक र शोषित, पुँजीपति र सर्वहारा वर्गका बिचमा निरन्तर संघर्ष चल्छ, चल्नुपर्छ र संघर्षमा शोषित एवं सर्वहारा वर्गको जित हुनुपर्छ यही मान्यता अनुरूप कवितामा गरिब वर्गलाई दमन गर्ने व्यवस्था परिवर्तन गर्नुपर्छ । साहूमहाजनले पनि आफ्नो काम आफैँ गर्नुपर्छ गरिबको रगत र पसिनाको मूल्य निश्चित गर्नुपर्छ भन्ने भाव कवितामा मुखरित छ । यही प्रगतिवादी मान्यता अनुरूप उच्च वर्गीय व्यक्ति सुकुम्बासी भएको स्थिति ‘कुरै कुराको प्रसङ्गमा’ कवितामा जनाइएको छ । मानपदवी उदाङ्गो भएको उहीँ व्यक्ति सर्वहारावर्गको नेता घोषित हुँदा सामाजिक क्रान्ति र अगुवाइमा निरीह सुकुम्बासी जीवन त्यागेर सचेत सर्वहारावर्गको पंक्तिमा उभिन बाध्य भएको उहि सामन्ती सान, मान र सम्मान प्राप्त गर्न नसके पनि युद्धको भुमरीमा हजारौं नेपाली युवाको रगत र पसिना खर्चेर आर्जेको सगरमाथाको उचाइ बराबर सम्मानको श्रीपेच लगाउन पुग्छ भन्ने कुरालाई यसरी बताइएको छ–

नेपाल आमाका हजारौं होनहार छोराछोरीको
रगत र पसिनाले आर्जेको, सगरमाथा भन्दा पनि अग्लो,
नयाँ जमानाको श्रीपेच छ…

यसरी आफू स्वयं वर्गसंघर्षको चपेटामा परेका फटाहा, जाली शोषकहरूले आफ्नो अतीतलाई चटक्कै बिर्सेर गरिबको रगत र पसिना चुस्नेहरू विरुद्ध वर्गीय द्वन्द्व आवश्यक रहेको कुरा यस पंक्तिमा उद्घोष गरिएको छ ।
सर्वहारावर्गको पक्षमा उभिएर वर्गसंघर्षको चाल चल्ने शोषकहरू बाबुबाजेको पालादेखि निरन्तर जागरूक रहेको बताउँदै वर्गसत्ता स्थापित गर्न पुरातनवादी संस्कार बोकेका मानिसहरू अझै पनि समाजमा व्याप्त रहेका छन् । त्यसैले गरिब जनताका लागि आवाज उठाउने सहादत सहिदहरूको बलिदानीलाई हृदयगङ्गम गर्दै यस्ता सामन्ती, वर्गीय शोषकका विरुद्ध निरन्तर लाग्नु पर्ने कुरा यस कवितामा जाहेर गरिएको छ ।

सामाजिक, आर्थिक, राजनैतिक विषमताको विरोध
प्रगतिवादमा सभ्य समाजको निर्माण गर्नुपर्छ भन्ने मान्यता अनुरूप कविताहरूमा सामाजिक यथार्थ अघि सार्दै राजनैतिक विषमताको खुलेर विरोध जनाइएको छ–

खोइ कहाँ छ तिम्रो निष्पक्ष न्याय,
निमुखा गाउँलेहरूका लागि
हत्याको खेती गरेर जनताको…

सर्वहारावर्गको पक्षमा उभिन रूचाउने शर्माले सरकार र न्यायालयको राजनैतिक प्रहारमाथि कटाक्ष गर्दै समुन्नत नेपाल र नेपालीको निष्पक्ष न्याय पाउने अधिकारलाई कुण्ठित गरेर आफ्नो स्वार्थ पूरा गर्ने हाँडीघोप्टे प्रवृत्तिको विरोध गरेका छन् । आफ्नो पद, प्रतिष्ठा र कुर्सीका लागि निमुखा जनताको बलि चढाउने राजनैतिक व्यवस्थाको विरोध गर्दै समृद्धिका नाममा जनतालाई दुःख मात्रै दिएको लोकतान्त्रिक सरकारप्रति कटाक्ष कविले गर्छन्–

रोजगारी मिलेको छ लाम बस्ने,
पालो डिजेल पेट्रोलको
अभाव महंगी र अराजकता,
उपहार लोकतान्त्रिक सरकारको …

विद्यमान समयमा देशका विभिन्न क्षेत्रमा देखिएका गुनासाहरू समेटिएको यस कवितामा वर्तमान सरकारले लोकतन्त्रको उपहास गरेको कुरा महंगी, अभाव, बेरोजगारी जस्ता पक्षबाट स्पष्ट भएको उदृत गर्दै कालोबजारी गर्ने व्यापारी र तिनलाई आड भरोसा एवं संरक्षण दिने व्यक्तिहरूका अराजक गतिविधिहरूको खुलेर विरोध गरिएको छ । यदि जनतालाई केही दिन सक्छौ भने रोजगारी, स्वतन्त्रता, छाना, माना र नाना देऊ तर दुख नदेऊ भन्ने प्रगतिशील भावहरू कवितामा बुलन्द पारिएको छ ।
कविले वर्तमान समयमा नेपाली जनतामा नैराश्यता मात्रै छाएको आशा र विश्वास हराएको भाव यसरी संयोजन गरेका छन्–

आशा र विश्वासमा असिना परेपछि
अँगार बनेर झर्छ विचार, कोपिला बनेर झर्छ विश्वास…

नेपालमा नेपाली जनताको आशा र विश्वासको धरातललाई जोगाउन नसकेमा पुरातनवादीहरुले ‘नैराश्यम् परमम् सुखम्’ भन्ने प्रवृत्ति अंगाल्ने छन् । हाम्रा सपनाहरूले आकार लिन सक्ने छैनन् । त्यसैले हामीमा रहेको वैचारिक भावलाई जोगाए मात्र मानव जातिले आफ्नो अस्तित्व निर्माण गर्ने छ, तसर्थ प्रगतिको बाटोमा निरन्तर लागि रहनुपर्छ भनिएको छ ।
गाउँका शोषकवर्गहरूले जनतालाई न्याय दिलाउने आशा देखाएर जनताको स्वभिमानलाई भोटमा तौलदै आफ्नो स्वार्थको भकारी भर्न गरिब, दलित र पीडित जनतालाई दयालु स्वरले आफ्नो बसमा पारिरहेछन्–

सुन्तली नानी भनेर बोलाउँदा,
मोक्ष भएको ठान्ने दलित बस्तीहरू
चुनावको बेला भोटको झोली थाप्न,
आएका विष्टहरूले आँगन कुल्चिदा
पवित्र ठानेर बराजुको आज्ञा शिरोपण गर्दछन् …

युगौंदेखि सामन्ती शोषकहरूको परम्परागत खेती बनेको गरिब जनतालाई शोषण गर्ने प्रवृत्ति नमेटिएको, जनताले ईश्वर मानेर पूजा गर्ने शोषकहरू मोटाइ रहेका र मानवीय मूल्यसँग खेलवाड गरिएको कुरालाई समेटेर लेखिएको यस कवितामा राजनीतिको दौरानमा न उचनीच हुन्छ, न धनी गरिब, न शिक्षित अशिक्षितबिच प्रतिस्पर्धा हुन्छ, हुन्छ त केवल भोटको कदर हुन्छ, औंठा छापको कदर हुन्छ । तँ भन्नेलाई तपाई भनिन्छ, ज्यू ज्यू गरिन्छ तर त्यहीं चुनाव सकिएपछि न समाजमा समानता हुन्छ, न न्याय, गरिबहरू उँही अँध्यारो, उँही ढुङ्गो माटो, रगत र पसिनामा अनि पीर वेदनामा पिल्सिन थाल्दछन् भन्दै विष्ट अर्थात् नेताहरू र राजनैतिक विसङ्गतिप्रती यसरी व्यंग्य गरिएको छ–

न लाज लोकको,
न इज्जत समाजको, न चिन्ता देशको
न डर नयाँ पुस्ताको, कुर्सीको हानथाप, भोर जुवा लोकतन्त्रको…

यहाँ नेताहरूले आफ्नो विगतलाई चटक्कै भुली निर्लज्ज अनुहार लिएर समाजमा अन्याय, अत्याचार र घुसघोरी गरिरहेका छन् । आफ्नो इतिहासलाई चटक्कै भुलेर जनता, समाज र नयाँ पुस्ताको कुनै प्रवाह नगरी आफ्नै पाटी सिद्धान्तलाई कुल्चिन थालेका नेता एवं विसङ्गत राजनीतिलाई यहाँ स्पष्ट पारिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->