बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

उत्पादनमा आधारित अनुदान र कृषिको बजारीकरणमा प्रदेश सरकार : मुख्यमन्त्री पाण्डे

उत्पादनमा आधारित अनुदान र कृषिको बजारीकरणमा प्रदेश सरकार : मुख्यमन्त्री पाण्डे


  • ढोरपाटन संवाददाता
  • माघ १२ २०८१, शनिबार

बागलुङ/गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारको प्राथमिकता कृषि र पर्यटनमा रहेको बताएका छन् । उनले कृषि उत्पादनका क्षेत्रलाई समेत पर्यटन प्रवद्र्धनमा जोड्ने योजना पनि पाण्डेले सुनाए ।
पर्वतको जलजला गाउँपालिका वडा नंं १ को बाँसखर्कमा आयोजित प्रथम सुन्तला महोत्सवको शुक्रबार उद्घाटन गर्दै पाण्डेले कृषिमा आत्मनिर्भर बनाउन सकेमा संघियता पनि बलियो हुने बताए । उनले संघियताले ग्रामीण क्षेत्रको अर्थतन्त्रमा उल्लेख्य सुधार भैरहेको भन्दै अझै उत्पादनलाई बजारमा जोडेर कृषि र पर्यटनको विकास गर्नुपर्ने बताए । संघिय सरकारको दृष्टीकोण नपुगेको स्थानमा प्रदेश सरकारले काम गरेको उल्लेख गर्दै संघियता चाँहिदैन भन्नेहरुलाई प्रदेश सरकारको काम उदाहरणीय भएको पनि बताए ।
मुख्यमन्त्री पाण्डेले कृषि उत्पादन गर्नेलाई अनुदान दिने प्रदेश सरकारको नीति रहेको समेत बताए । कृषि फसल उत्पादन हुने गाउँमा सडक संजालले जोड्ने प्रदेश सरकारको योजना रहेको भन्दै बाँसखर्कमा अहिलेसम्म नबनेको सडक आगामी वर्ष सुन्तला बेच्ने बेलामा सहज बनाइछाड्ने प्रतिवद्दता पनि जनाए । ‘धेरै जनप्रतिनिधि आए होलान्, सडक अप्ठ्यारो भएर किसानले सुन्तला बजार पठाउन सकेका रहेन छन्, अब राम्रो हुन्छ, प्रदेश सरकारले केही गरेर देखाउँछ’ पाण्डेले भने, ‘किसानको उत्पादन बजारीकरणमा प्रदेश सरकार साथमा छ ।’
बाँसखर्कका किसानले फलाएको सुन्तला मात्र नभई हरेक गाउँका किसानले उत्पादन गर्ने बस्तुलाई उत्पादनकै आधारमा अनुदान दिने मुख्यमन्त्रीको भनाइ छ । ‘उत्पादनमा आधारित अनुदान दिने वित्तिकै किसानले केही राहत पाउँछ’ उनले भने, ‘किसान प्रोत्साहन भएपछि ग्रामीण अर्थतन्त्रमा सुधार आउँछ ।’ गाउँघरमा केही भएकै छैन भनेर झुटको खेती गर्नेले ग्रामीण बस्तीमा भएका विकास निर्माण र उत्पादन हेर्न पनि आग्रह गरे । सामाजिक संजालमा अर्नगल प्रचार गरेर केही भएन भन्नेहरुको बोली बन्द हुने गरी ग्रामीण क्षेत्रको अर्थतन्त्र सुधार गर्न प्रदेश सरकारले काम गरेको बताए ।
गाउँपालिकाका अध्यक्ष राजु आचार्यका अनुसार बाँसखर्कका किसानले हरेक घरमा ९ लाख देखि ४० लाख रुपैयाँसम्म कमाउने गरी सुन्तला खेती गरिरहेका छन् । चालु वर्ष पनि झण्डै २१ करोडको सुन्तला बिक्री भएको किसानहरुले संकलन गरेको तथ्यांक छ । आगामी वर्ष फल्ने गरी हुर्केका सुन्तलाले पुर्ण उत्पादन दिंदा ४० करोड बढीको कारोवार हुने आचार्यले बताए ।
मुख्यमन्त्री पाण्डेले बाँसखर्कलाई ‘नाफा’ परियोजनामा सूचिकृत गरेर सुन्तला जोन बनाउने योजना पनि सुनाए । यहाँका ३ सय घरमा सुन्तला खेती गरिएको छ । उनीहरुको उत्पादन अहिले पनि पोखरा, काठमाण्डौ र चितवनसम्म गएको छ ।
उचित मूल्यसहित बजार पाउने बनाउन सरकारले ढुवानी र बजारीकरणमा साथ दिने उनको भनाइ थियो । स्थानीय जगतबहादुर खत्री, चन्द्रबहादुर गर्वुजा लगायतका दर्जन किसान उत्कृष्ठ भएर सम्मानित पनि भए ।
महोत्सव हेर्न गण्डकी प्रदेशका कृषिमन्त्री, पर्यटन मन्त्रीसहित प्रदेश सभाका सदस्य, छिमेकी नगरपालिकाका नगरप्रमुखहरु र प्रदेश मन्त्रालयका सचिवहरु समेत सहभागि थिए । स्थानीयले पाहुनालाई सुन्तलाको माला समेत लगाएर स्वागत गरेका थिए । वडा अध्यक्ष जगबहादुर रोकाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष राजु आचार्यले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->