पर्वत/गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे शुक्रवार पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा रहेको सुन्तला बगैँचामा पुगे । गाउँपालिकाको आयोजनामा पहिलो पटक आयोजना गरिएको सुन्तला महोत्सवमा प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएका उनी कृषकहरूको बगैँचामा नै छिरे। पाण्डेले सुन्तलाको बोट नियाले, बाँसखर्कको सुन्तलाको प्रशंसाको बारेमा थाहा पाएका उनले आँखै अगाडि लाखौँ रुपैयाँ आम्दानी हुने गरेको सुन्तलाका सुन्दर बगैँचाहरू नियाले ।
स्थानीय ज्योतिमण्डल माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा अगुवा कृषक मेखबहादुर खत्रीले अन्य खेतीबाली छाडेर सुन्तला उत्पादनमा लागिरहेका कृषकहरूले भोगेका समस्याहरू मुख्यमन्त्री पाण्डेलाई सुनाए। बेनी–बगर–गौरेटे बाँसखर्क र बेनी–कोटघर–साम्मार–बाँसखर्क मोटर बाटो व्यवस्थित नहुनु, सुन्तला खेतीको लागि वरानी पहिरो नियन्त्रणका लागि कुनै पनि प्रयास नहुनु, भएको जग्गामा सुन्तला खेती गर्दा मल खादको समस्या, सुन्तलामा सिँचाइको समस्या, विद्युत् लाइनको व्यवस्थापन नहुँदा सुन्तलाको वोटमा भएको समस्या, कृषकलाई आम नागरिकले हेर्ने गलत दृष्टिकोण, प्राविधिक तथा दक्ष जनसङ्ख्याको अभाव लगायतका बारेमा जानकारी गराए ।
बाँसखर्कमा १५ सय रोपनी क्षेत्रफलमा ५१ हजार एक सय ५१ वटा सुन्तलाका बोट छन् । जसमध्येका २६ हजार सात सय छ बोटबाट उत्पादन भइरहेको छ भने २४ हजार चार सय ४५ बोटबाट आगामी वर्षहरूदेखि क्रमशः उत्पादन हुँदै छ । हाल वार्षिक १८ करोड ४४ लाख ४७ हजार रुपैयाँ गाउँमा भित्रिने गरेको छ । सुन्तलाको यति धेरै सम्भावना बोकेको र कारोबार भइरहेको बाँसखर्कका सुन्तला भने बजारसम्म झार्न नै मुस्किल छ ।
झण्डै ८५ वर्ष अगाडि गाउँको वजारमारे र विरमारेमा फाटफुट १÷२ वोट सुन्तला देखिएकोमा अहिले वार्षिक १८ करोडको कारोबार हुँदा पनि सुन्तला झार्ने सडकले सबैभन्दा बढी सास्ती भएको छ । केही बर्षदेखि बाँसखर्कका कृषकहरूले बेनी–बगर–गौरेटे बाँसखर्क र बेनी–कोटघर–साम्मार–बाँसखर्क सहज बनाइदिन माग गर्दै आएको भए पनि उनीहरूको मागको सुनुवाइ भएको छैन ।
बाटो बनाउनै पर्ने बाध्यता तर स्रोत कतैबाट उपलब्ध नभएपछि जलजला गाउँपालिकाले सरोकारवालाहरूलाई बोलाएर बाँसखर्कको सुन्तला खुवाउँदै समस्याको स्वाद पनि चखाउन एक दिने सुन्तला महोत्सवको आयोजना ग¥यो । बाँसखर्कको सुन्तला सबैको रोजाइमा पर्ने गरेकोले यसको थप प्रचारप्रसार गरेर बजारमा माग बढाउनको लागि एक दिने महोत्सव राखिएको हो ।
महोत्सवमा सहभागी मुख्यमन्त्री पाण्डेसहित कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठ, उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल, राष्ट्रियसभा सदस्य मनरुपा शर्मा, प्रदेश सांसद भक्त कुँवर, रेखा गुरुङ, गण्डकी प्रदेशका प्रमुख सचिव रघुराम विष्ट र कृषि सचिव वासुदेव रेग्मीले बाँसखर्क कृषकहरूको समस्याका बारेमा बुझे ।
मुख्यमन्त्री पाण्डेलगायतका अतिथिहरूले बाँसखर्क जोड्ने सडक स्तरोन्नति, सिँचाइ सुविधा, सुन्तला खेती विस्तार र बजारीकरणमा सघाउने प्रतिबद्धता जनाए । कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकता दिएको बताउँदै मुख्यमन्त्री पाण्डेले बसाइसराइ रोकिने, कृषि उपज उत्पादन वृद्धि र बजारीकरणमा सहयोग पुग्ने गरी सडक, सिँचाइ र खानेपानीका पूर्वाधारका योजना सञ्चालन गरेको बताए । सुन्तला ढुवानीका लागि कृषकले भोग्दै आएको समस्यालाई छिट्टै सम्बोधन गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
कृषि मन्त्री श्रेष्ठले सुन्तला खेती विस्तार र बजार प्रवद्र्धनका लागि बाँसखर्कलगायत जलजला गाउँपालिकामा पहाडी काष्ठ फल विकास परियोजना (नाफा) लागू भएको र सो मार्फत कृषकलाई विभिन्न शीर्षकमा अनुदान दिइने बताए । पर्यटन मन्त्री बस्यालले बाँसखर्कलाई कृषि पर्यटनको गन्तव्य बनाउन पहल गर्ने प्रतिबद्धता जनाए ।
गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यका अनुसार बाँसखर्क समुन्द्री सतहबाट ११ सय मिटरदेखि १९ सय मिटरसम्मको उचाइमा रहेको छ । २०७८ सालको जनगणना अनुसार खुई सय ३९ घर रहेका छन् । अधिकांश परिवारले आफ्नो जग्गामा व्यावसायिक रूपमा सुन्तला खेती गर्न थालेका छन् । हाल लगभग एक परिवारले वार्षिक पाँच लाखदेखि ४० लाखसम्म खर्च कटाएर आम्दानी गर्ने गरेका छन् । गाउँमा लगाइएकामध्ये आधा मात्रै बोटबाट सुन्तला उत्पादन हुँदा गाउँमा झण्डै १९ करोड भित्रिएको छ भने सबै बोटले उत्पादन दिने बेलामा करिब ४० करोड रुपैयाँ गाउँमा भित्रिने अध्यक्ष आचार्यले बताए ।





