पोखरा/ इन्ट्रा (नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाद्वारा आयोजित मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स रियालिटी शो सिजन २ को अडिसन आगामी फागुन १६ र १७ गते पोखरामा हुने भएको छ । आयोजक फाउन्डेशनले विहीबार पोखरामा पत्रकार सम्मेलनमार्फत यसको जानकारी गराएको हो ।
विश्वभर छरिएर रहेका नेपालीभाषी समुदायका गायन र नृत्य क्षेत्रका उत्कृष्ट प्रतिभाहरु पहिचान गर्नका लागि विश्वस्तरीय अन्तर्राष्ट्रिय दुईवटा रियालिटी शोको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । नेपालभित्र र संसारको जुनसुकै कुनामा बसेको भए पनि नेपाली कला, संस्कृतिप्रति अगाध आस्था र विश्वासले ओतप्रोत भएका र यो क्षेत्रमा आफ्नो समुदायमा विश्वभरि नै परिचय बनाउन सक्छु भन्ने अभिलाषा राख्ने सम्पूर्ण नेपालीभाषी समुदायका लागि यी दुई रियालिटी शोहरु आयोजना भएका हुन् ।
सन् २०२३ मा यी दुवै रियालिटी शोको पहिलो सिजन सफलतापूर्वक सम्पन्न भएको थियो । संसारका विभिन्न देशमा बसोवास गरिरहेका नेपालीहरुको सहभागितामा भएको पहिलो सिजनको सफलताले उत्साहित भएको आयोजक फाउन्डेशनले जनाएको छ । पत्रकार सम्मेलनमा फाउन्डेशनका अध्यक्ष डिल्ली अधिकारीले तयार पारेको विज्ञप्ति पढेर सुनाइएको थियो । पत्रकार सम्मेलनमा भर्चुअल माध्ययमबाट अमेरिकाबाट फाउन्डेशनका कार्यकारी निर्देशक चुडामणी भट्टराइले नेपाली कला, भाषा र संस्कृतिको संरक्षण र सम्बद्र्धनमा योगदान पुराउने उद्देश्यसहित रियालिटी शोको आयोजना गरिएको बताए । ‘संसारभरका नेपाली र नेपाली मुलका नागरिकलाई जोड्ने एउटा माध्ययमका रुपमा पनि यसलाई लिएका छौ’ उनले भने, ‘नेपाली कला, भाषा, संस्कृतिलाई पुस्तान्तरण हुनेमा पनि विश्वस्त छौ ।’ आयोजकका अनुसार मेरो भ्वाइस युनिभर्स सिजन २ को लागि वरिष्ठ गायक दीप श्रेष्ठ, संगीतकार सुरेश अधिकारी, गायकहरु शिव परियार र पुष्पन प्रधान, गायिका अन्जु पन्त र तृष्णा गुरुंग निर्णायकको भूमिकामा रहेका छन् । यसैगरी मेरो डान्स युनिभर्सतर्फ वरिष्ठ कलाकार मिथिला शर्मा, नायक दीलिप रायमाझी, चर्चित अभिनेतृ शिल्पा मास्के, चर्चित कोरियोग्राफरहरु शंकर विसी, कविराज गहतराज र किरण थापा निर्णायक रहेका छन् ।
दुबै शोहरुका लागि चर्चित कार्यक्रम प्रस्तोताहरु रिमा विश्वकर्मा, नरेश भट्टराई, राजा राजेन्द्र पोखेल र नम्रता श्रेष्ठ अनुबन्धित भएका छन् । विश्वभर छरिएर रहेका नेपाली मूलका अर्थात् नेपाली जातिका बीचको साझा सांस्कृतिक चौतारी बन्न सकोस्, नेपाली कला संस्कृतिका माध्यमबाट सबैलाई एउटै सूत्रमा जोड्न सकियोस् र नेपालीभाषी प्रतिभाहरुलाई जहां बसे पनि आफ्नो संस्कृतिमा गर्व गर्नसक्ने अवसर दिन सकियोस् भन्ने भावनाले यी रियालिटी शोहरु आयोजना गरिएको अध्यक्ष अधिकारीले जनाएका छन । ‘संसारभरका नेपालीहरुको नेपाली संस्कृति र सांस्कृतिक पहिचानलाई संरक्षण, सम्बर्धन र उत्थान गर्नु फाउण्डेशनको मूलभूत उद्देश्य हो’, फाउन्डेशनले भनेको छ, ‘नेपाली जातिप्रतिको यही भावनालाई एउटै मालामा गाँस्न सकियो भने हाम्रो सांस्कृतिक पहिचान पुस्ता पुस्तासम्म पनि जीवित राख्न सकिन्छ भन्ने विश्वास लिएका छौं ।’ दोस्रो संस्करणका लागि युरोपमा बेलायत र पोर्चुगलमा, पूर्वी एशियाका लागि थाइल्याण्ड, हंगकंग र जापानमा, मध्यपूर्वका लागि दुबई र कतारमा अष्टे«लियाका लागि सिड्नीमा, भारतको लागि सिलिगुरी र मुम्बईमा र नेपालका विर्तामोड, नेपालगञ्ज, पोखरा र काठमाडौंमा अडिसनहरु आयोजना गरिएको छ । वेलायत र आसपासका मुलुकमा वसोवास गर्ने नेपालीजातिका प्रतिभाहरुका लागि फेब्रुअरी १५ र १६ मा लण्डनमा अडिसन हुँदैछ ।
विश्वभरिबाट स्थलगत अडिसनमा छनौट भएका कलाकारलाई थप प्रतिष्पर्धाका लागि नेपालको राजधानी काठमाडौ ल्याइने छ । भ्वाइसका लागि १२० र डान्सका लागि पनि १२० जना प्रतिष्पर्धीहरु काठमाडौं ल्याइने र सहभागी प्रतिभाहरुको स्तर हेरी बढीमा ५ जनासम्म छनौट गरी अर्को राउण्डका लागि नेपाल ल्याउने आयोजकले जनाएको छ । दुवै शोका विजेताहरुलाई १ करोड नेपाली रुपैयाँ, दोस्रो हुनेलाई २५ लाख र तेस्रो हुनेलाई १० लाख नदद पुरस्कार प्रदान गरिने छ । सहयोगको अति आवश्यकता परेका तर सहयोग नपाएका मानिसहरुको सेवा नै सबैभन्दा ठूलो धर्म हो भन्ने विश्वास राख्ने फाउण्डेसनका लागि आपसी सम्मान, इमान्दारिता र मानवीय सेवा मार्गदर्शन र आदर्श रहेको विज्ञप्तिमा जनाइएको छ । यिनै आदर्शभित्र रहेर यी २ अन्तर्राष्ट्रियस्तरका रियालिटी शोहरु अघि बढाइने फाउन्डेशनले जनाएको छ । यसका लागि फाउन्डेशनले केही आधारभूत नियमहरु पनि बनाएको छ ।
नियम अनुसार सबै प्रतियोगीहरु नेपाली मूलका र नेपालीभाषी हुनुपर्ने छ । दुवै प्रतियोगिताका लागि प्रतियोगीको उमेर नेपालका लागि १६ वर्ष र अन्य देशको लागि १८ वर्ष पुगेको हुनुपर्ने छ । दुवै प्रतियोगिताका प्रत्येक इपिसोड नेपाली संस्कृति र राष्ट्रिय भावनाको प्रस्तुतिबाट शुरुवात गरिने, ग्रान्ड प्रिमियरपछिका प्रत्येक इपिसोडमा नेपाली कला र सांस्कृतिक क्षेत्रका वरिष्ठ एवं मूर्धन्य व्यत्तिmत्व एवं कलाकारहरुको सम्मान गरिने, अतिथि सत्कार, सम्मान र आदरभाव प्रत्येक शोका लागि अनिवार्य शर्त रहेको, कर्यक्रम सञ्चालकहरुले हरेक इपिसोडहरुमा अनिवार्यरुपमा नेपाली संस्कृति र यसको आधारभूत विषयलाई प्रोत्साहन पुग्ने गरी प्रस्तुत हुनुपर्ने नियममा छ । यसैगरी सबै प्रस्तुतिहरु नेपाली कला र संस्कृतिसंग सम्बन्धित हुनुपर्ने, अडिसनहरुवाट छनौटमा परी नेपाल वाहिरबाट प्रस्तुतिका लागि नेपाल जान पाउने सबै प्रतियोगीहरुको यात्रा खर्च फाउण्डेशनले नै भुक्तानी दिने, टप २५ भित्र पर्ने प्रतियोगीहरुका लागि खाना र होटल खर्चको व्यवस्था, नेपाल र भारतबाहेक अरु देशबाट प्रतियोगिताका लागि नेपाल जाने प्रतिष्पर्धीहरुका लागि आवासको र खानाको व्यवस्था गरिने आयोजकले जनाएको छ ।
मेरो डान्स युनिभर्सका सन्दर्भमा हरेक इपिसोडमा समूह नृत्यहरु प्रस्तुत गरिने, नृत्य प्रशिक्षणका लागि खुलेका विद्यालय वा प्रशिक्षण केन्द्रबाट त्यस्ता समूह नृत्यको प्रस्तुति रहने र निर्णायकहरुको निर्णयका आधारमा प्रथम, द्वितिय र तृतीय हुनेलाई उचित पुरस्कार दिइने छ । समूहगत नृत्य प्रस्तुति अनिवार्यरुपमा नेपाली स्वदेश गान, राष्ट्रिय गान र नेपाली मौलिकता झल्काउने लोक गीतमा हुनु पर्ने पनि नियममा राखिएको छ । पत्रकार सम्मेलनमा उठेका विभिन्न जिज्ञासाको अमेरिकाबाट फाउन्डेसनका कार्यकारी निर्देशक चुडामणी भट्टराइले भर्चुअल्ली जवाफ दिएका थिए । यसैगरी अडिसनको गण्डकी प्रदेश संयोजक राजेश वर्देवा र कास्की संयोजक किसान सेवाले पनि अडिसनबारे विभिन्न विषयमा जानकारी गरएका थिए ।





