शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

प्रगतिवादको कसिमा ‘तरङ्ग’ कविता संग्रह : भाग–२

प्रगतिवादको कसिमा ‘तरङ्ग’ कविता संग्रह : भाग–२


  • माधव चापागाईं
  • माघ १८ २०८१, शुक्रबार

आधुनिक नेपाली साहित्यमा करिब ६ दशक कलम चलाएका साहित्य साधना र वामपन्थी राजनीतिमा सक्रिय कवि दिनानाथ शर्माको ‘तरङ्ग’ कविता सङ्ग्रह सैद्धान्तिक राजनीतिक र वैचारिक लेखका अलावा दर्जनौं निबन्ध, नियात्रा र संस्मरणको प्रकाशन पश्चात् साहित्य प्रेमीहरुका हातमा प्राप्त कृति हो । बागलुङको बा.न.पा १२ अमलाचौरमा जन्मिएका साहित्यकार शर्मा नेकपा माओवादी केन्द्रका सांसद एवं पुर्व शिक्षा मन्त्री हुन् । कवि शर्माको तरङ्ग कविता सङ्ग्रहलाई यथास्थितिको समाज र मानवीय जीवनस्तर उपर प्रगतिपूर्ण सोचको प्रादुर्भाव भएको कृतिका रूपमा लिन सकिन्छ । समग्र समाज, राष्ट्र, राष्ट्रियता र नेपाली जनताको प्रगतिको कामना गर्ने प्रगतिशील कवि शर्माको यस सङ्ग्रहलाई प्रगतिवादका सैद्धान्तिक मान्यताका आधारमा यसरी विश्लेषण गर्न सकिन्छ ।

मानवीय मूल्य र सौन्दर्यप्रति आस्था
प्रगतिवादले मानवीय मूल्य र सौन्दर्यप्रति आस्था राख्छ । यही मान्यता अनुरूप कविले ‘इच्छा’ शीर्षकको कवितामा आफ्ना इच्छाहरू व्यक्त गरेका छनः

जलिरहूँ या गलीमरूँ, या त निशाको दीप बनूं
आखिर एउटै इच्छा मेरो, तिमीरताको अन्त गरूँ…

कवितामा कविले आफू मानवीय मूल्य र उज्ज्वल भविष्यको सौन्दर्य खोज्न लागि परिरहूँ भन्दै इच्छा व्यक्त गरेका छन् । विश्व परिवेशलाई आधारभुमी मानेका मानिसहरूले आफ्नो जीवन सार्थक तुल्याउन विश्व बन्धुत्वको भावना कायम रहिरहुन् भनेर यसै कवितामाः

मिलीजुली सबले खाँऊ लाँऊ, ईश्वर बस्ने आत्मा एउटै
वारि बसूँ वा पारी जाऊँ, बन्धुत्वको भाव फिजाऊँ….

भनिएको छ । माक्र्सवादी दर्शनभित्र रहेको साम्यवादी विचार विरुद्ध मानिसहरूको स्वभाव “मै खाऊँ मै लाऊँ अरू सब मरून् दुर्बलहरू” भन्ने कथन अनुरूप विकास भएको छ । यसका कारण कामुक र नारीका नखशिखमा रमाउने मानिसहरूको बोलवाला चल्ने गरेको स्थितिप्रति कवि खिन्न हुन्छन् । कुनै पनि मानिसले यस संसारमा अस्तित्व लिएपछि विसङ्गत प्रवृत्तिलाई सौन्दर्य नमानी शोषित पीडित वर्गको यथार्थ प्रस्तुतिलाई सौन्दर्य मान्नुपर्दछ, भनि हामी जहाँ जुन देशमा जन्मे हुर्केर आफ्नो जीवन चलाए पनि सबैको आत्मा एउटै हो सबै मिलिजुली बस्नु पर्छ । दाजुभाईको सम्बन्ध स्थापित गर्नुपर्छ, भन्दै यहाँ विश्व वन्धुत्व, भाइचारा, वर्गविहीन समाज एवं स्वतन्त्रता प्रेमी इच्छाहरू व्यक्त भएका छन । प्रगतिवादको मानवीय मूल्यको खोजी मान्यता अनुरूप ’चार भञ्याङ्’ शीर्षकको कवितामा काठमाण्डौंको परिवेशलाई नजिकबाट नियालिएको छ । त्यहाँ बनेका भौतिक संरचनाले समग्र नेपालको इतिहास, धर्म, संस्कृतिलाई अङगाले पनि इतिहासलाई यथावत् राखी मानवीय अस्तित्व जोगाउन सकेका छैनन्, मात्रै चुरोटका असरल्ल फिल्टरहरू कैद भए झै एष्ट्रेमा नेपालको इज्जत, गौरव, स्वाभिमान र जवाफदेहिता यही खाल्डोमा उकुसमुकुस भएर ज्यूँन बाध्य रहेको संज्ञा दिइएको छः

रङ उडेको छ इतिहासको
संस्कृति, संस्कार र सभ्यताका सबै पोथीहरू
जलिसके छन् एष्ट्रेभित्र…

गोर्खाली वीरवीरङ्गनाहरूको इतिहास ध्वस्त बनाउन खोज्ने शासकहरूलाई चिसो एस्ट्रेको संज्ञा दिदै कविले लाखौँ नेपालीहरूले चुरोटका ठुटा जस्तै चिसो छिँडी र परिबन्दको जीवन बिताउन बाध्य छन् भन्दै तिनै अध्याँरो कोठामा भविष्यको सपना साँच्ने नेपालीहरूको मूल्य कवितामा खोजिएको छ । त्यस्तै अस्तव्यस्त सहर काठमाण्डौंको सभ्यतालाई कवितामा व्याख्या गर्दै प्रगतिवादी मान्यता अनुरूप निर्जीव सडकले पनि सजीव तुल्य अपेक्षा राखेको कुरा यसरी प्रस्तुत गरिएको छः

फुङ अनुहार, षोडशी सडकको
प्रतीक्षा गरिरहेछ सडक, सभ्यता काठमाण्डौंको…

निर्दोष सडकको जीवन यथार्थलाई संज्ञानात्मक रूप दिइएको यस कवितामा देशमा भएको घुसखोरी, तस्करी र भ्रष्टाचारीपनका कारण सडकको रूप, सौन्दर्य र शोभा विलीन हुने अवस्थामा पुगेको तर सडकले यौवन मागिरहेको यथार्थ चित्रण यहाँ गरिएको छ ।

यथार्थवादी दृष्टिकोण
माक्र्सवादले अपनाएको भौतिकवादी दृष्टिकोण अनुरूप मानिसले जीवन यापनका लागि सङ्घर्ष गर्ने, आफ्ना मनमा उत्पन्न आशा, उमङ्ग र इच्छाहरूलाई बलियो पारी कल्पनामा सौन्दर्यता थप्दै मनमा शोषण, दमन, अन्याय, अत्याचार र राजनैतिक विसङ्गगति विरुद्ध विद्रोही भाव प्रस्फुटन गराउँदै क्रान्तिचेत पैदा गर्दछ, भन्ने धारणालाई ‘सुनकोशीको किनार’ शीर्षकको कवितामा दर्शाइएको छ । नेपालको प्राकृतिक सौन्दर्यमा रमाएका मानिसहरूको उद्देश्यलाई सामन्तवादी सोच र पुँजीवादी राज्यव्यवस्थाले तरङ्गित पारी प्रकृतिका पूजक जनताहरूलाई शोषण र दमनको भुमरिमा बिचलित बनाइएको यथार्थता यसरी प्रस्तुत गरिएको छः

निरन्तर–निरन्तर तरङ्गित बन्दैछ जीवन,
एउटा यात्रीको, एउटा योद्धाको…

प्रकृतिको यथार्थपरक प्रस्तुतिसँग क्रान्ति चेतनालाई जोडिएको यस कवितामा गरिखाने वर्गमाथि शोषकवर्गले गर्ने गरेको दमन र अत्याचारलाई सामाजिक यथार्थका भावहरू समेटेर समाजमा रहेका उत्पीडित एवं गरिखाने वर्गहरू तरङ्गित नभई एकताबद्ध भएर नेपालको गरिमा, सौन्दर्यता र आफ्नो अस्तित्व खोज्नुपर्छ भन्दै वैचारिक समर्थन गरिएको छ । प्रगतिवादीहरू निराश हुँदैनन्, आत्तिदैनन् राष्ट्रप्रेमि भावनालाई मनमुटुमा सजाउँछन् भन्दै “फिसटेलको यात्रा” शीर्षकको कवितामा जसरी वायुयानमा सवार मानिसको बाटो बादलले छेक्छ त्यस्तै प्रगतिको पथमा लम्किएका योद्धाहरूका बाटाहरू सामन्ती शाषकहरूले छेक्न खोज्छन् तर ती सामन्तीका सिमानाहरू भत्काएर अगाडि बढ्नुपर्छ । नयाँ संसार देख्ने हजारौं आँखाहरू प्रशस्त उत्कण्ठा लिएर प्रगतिको पथमा लम्किरहेका छन् भन्दै प्रगतिका सुनौला किरणहरूलाई कवितामा यसरी बोलिएको छः

कर्णालीको किनारमा पुगेपछि
नयाँ उत्साह बोक्दै, घण्टौंदेखि बाटो हेरिरहेका
हजारौं आँखाहरू,
उत्साह र उमङ्गले चञ्चल भए ढिलै भए पनि….

प्रगतिवादीहरू निरन्तर यात्रामा आवद्ध भई रहन्छन् र अन्ततः विजयी यात्रा मनाउन सफल हुन्छन् । प्रगतिको पथमा लम्किरहँदा विभिन्न बाधा व्यवधानहरू आइ पर्ने तर मानिसले धैर्यताका साथ ती समस्यासँग पैठेजोरी खेल्न जुझारु हुनुपर्ने यथार्थ यहाँ पाइन्छ । त्यस्तै बेपत्ता आमाबाबुको सम्झनालाई आखाँमा सजाएर शोषकको दमन र निर्दयी व्यवहार सहन विवश असहाय नाबालकको जीवन यथार्थ ’आँसु’ कवितामा व्यक्त भएको छः

बेसहारा दुधेबालक साँझ बिहान साहूको दास्ती गर्दा पनि कोर्रा खाइ कुना पसेर, आमाको सम्झनामा बगेको आँसुभित्र,
पीडा र प्रताडना छ…

आमाबाबुको ममताको भोका नाबालकहरूमाथि साहू महाजनहरूले गर्ने व्यवहार यहाँ प्रस्तुत भएको छ । दिनरात परिश्रम गर्ने तर भोकको चितामा जलेर मर्न लागेका टुहुरा बालबालिकाले काम गर्ने तर आफूले हातमुख जोर्न नपाउने, उल्टै साहू महाजन र सामन्ती शोषकको कोर्रा खानु पर्ने बाध्यात्मक परिस्थितिलाई विशेष स्थान दिइएको यस कवितामा ती अन्यायी, रक्तपिपासु शोषकका विरुद्धमा विद्रोह गर्न अपिल गरिएको छ ।

श्रमको सम्मान
शताब्दी औं देखि नेपालीहरू गरिबीको चपेटामा परेका छन् । साहूको ऋण तिर्न नसकेर युवाहरू विदेशिएका छन् । नेपाल मै रहेका पनि साहूहरूको शोषण खेपेर परिश्रमलाई पूजा गर्छन् तर परिश्रमको फल भने पुँजीपतिवर्गले चुस्ने गरेको विवश परिस्थितिलाई यहाँ व्यक्त गरिएको छः

पसिनाको पूजा गरेर साँझ बिहान
ठेला परेका हातलाई चुस्ने गर्छ भावुक बनेर
चरचरी चिरिएका पैताला
फाटेको टोपी, कछाड र ठुटे भोटोभित्र…

एकसरो लगाउन र हातमुख जोर्न कठिनाई बेहोर्नु पर्ने श्रमिकहरूले आफ्नो परिश्रमलाई उच्च स्थान दिन्छन् । तर शोषकले तिनै निर्दोष मजदुरको रगत र पसिना चुसिरहने परिवेशलाई कवितामा उदृत गरिएको छ । त्यस्तै ’सङ्कल्प किसानको’ शीर्षकको कवितामा संसारमा उत्पत्ति भएका सम्पूर्ण प्राणी जगतहरूको सम्मान कर्ममा निहीत हुन्छ, जसले जस्तो कर्म गर्छ त्यस्तै फल पाउँछ भन्दै कविले श्रमजीवी दलितहरुले अध्याँरो छिंडीमा कहर काट्ने परिस्थिति र सामन्त वर्गले शोषण गरिरहेको यथार्थलाई ’एउटा दलित’ कवितामा प्रस्तुत गरेका छन्ः

धान बनेर कुटिदैछ, उही ढुङ्गे ओखलमा
मुसलको चोट कुटिनेलाई मात्र थाहा हुन्छ
खुकुरीको चोट अचानोले भोगेको हुन्छ….

कवितामा गरिब किसानहरूप्रति सहानुभूति प्रकट गर्दै, दलित एवं गरिखाने वर्गप्रति सामन्ती शोषकहरूको दृष्टि सुधार गरी श्रमको यथोचित सम्मान गरिनुपर्छ । गुट उपगुट गरेर श्रमिकको रगत र पसिनासँग खेलवाड गरिनु हुँदैन । मजदुर र दलित विरोधीहरूलाई परास्त गरी उत्पीडनबाट माथि उठ्न आह्वान गरिएको छ । भाग्यवादलाई चरम उचाइमा राख्नेहरूले भाग्य पर्खिन्छन्; तर कर्म गर्नेहरु कर्ममा विश्वास गर्दछन् । प्रगतिवादले भाग्यवादलाई मान्दैन । भौतिकवादले रगत र पसिनाको मूल्यतय गर्छ, श्रमको सम्मान गर्छ । हरेक व्यक्तिका कामहरू फरक फरक हुन्छन् भन्दै ’एकटुक’ कवितामा यसो भनिएको छः

अनौ समाउनेले अन्न फलाउँछ
कलम समाउनेले विचार फलाउँछ…

अन्त्यानुप्रास युक्त भाषामा यस कविताका सुन्दर पंक्तिहरूले कर्मले नै मानिसको जीवनलाई सार्थकतातर्फ डोरÞ्याउने भएकाले हरेक व्यक्तिले कर्म गर्नुपर्ने भाग्यवादी भएर समय बर्बाद गर्न नहुने प्रगतिवादी सिद्धान्त अनुरूप सबै किसिमका काम गर्ने श्रमिकहरूको यथोचित सम्मान हुनुपर्नेमा जोड दिइएको छ ।

सामन्तवाद, पुँजीवाद विरोधी स्वर
प्रगतिवादको सामन्तवाद पुँजीवाद विरोधी स्वर अनुरूप कवि शर्माले ’विचरा’ शीर्षकको कवितामा शोषक वर्गले आफ्नो धन सम्पत्ति र शक्तिका भरमा गरिब जनतालाई दमन गरिरहेको विषयलाई यसरी व्यक्त गर्दछन्ः

देश, परदेश सबैतिर
ऐश गर्ने त जर्साप र कर्सापले हो ।
सुरक्षित गर रगत र पसिनाको पोखरी
लालायित छन् सधैं बिहानमा
पौडी खेल्न विचराहरू…

समयको तीव्र वेगले परिवर्तनका सीमानाहरू फत्काइ रहेको परिप्रेक्ष्य आफ्नै आँखा अगाडि देखिदा पनि शासक वर्ग अझै पनि गरिबको रगत र पसिनामा पौडिन चाहन्छन् भन्ने भाव व्यक्त गर्दै अब देशमा लोकतन्त्र स्थापना भईसक्यो, हामी सधै साहू महाजनका अगाडि घुँडा टेक्नु हुँदैन । सामन्ती पुँजीपतिहरूका भोग विलासीपनहरूका विरुद्ध डटेर लड्नु पर्छ, भन्ने विचार यहाँ प्रस्तुत छ । आफ्नो सत्ता र शक्ति समाप्त भई सक्दा पनि सामन्तीहरू अझै अधिकार जमाउन खोज्दै छन् भन्ने भाव ‘प्रेतात्मा’ कवितामा यसरी बोलिएको छः

एउटा युग
नाँचिरहेछ अझै
मैमत्त साँढे सडकमा
रेखाचित्र मानिसको, प्रेतात्मा सिंह दरबारको…

राजा, महाराजाका मतियार सामन्तहरूले सर्वहारा वर्गलाई हेप्ने, ठग्ने सत्ताको साहस देखाउने ती सामन्ती, शोषक प्रेतात्माहरूको नाश गर्नुपर्ने भन्दै कवितामा सामन्तवाद विरोधी स्वर व्यक्त गरिएको छ । त्यस्तै ’उही हलो’ शीर्षकको कवितामाः

प्रतिगमनको लड्डी टेकेर, जनता जोत्ने मृगमरिची
उही पुरानो सोच, उही पुरानो कोट
अतृप्त प्रेतात्मा, बाँचिरहेछ अझै …

प्रतिगमनको लड्डी टेकेर सोझा साझा जनता तर्साउने सामन्तीहरूका अतृप्त आत्माहरू उही पुरानो विर्तावाला सोच लिएर बाचेका छन्, भने कविले शासन सत्ताका नाममा उही अनुहार र उही पुरानो प्रवृत्तिलाई सामाजिक न्याय दिनु हुँदैन भन्ने राय व्यक्त गर्दै प्रजातन्त्रको पिठ्यूँमा टेक्नेहरूमाथि जाइ लाग्न आग्रह गर्दछन् । त्यसै गरि ’भग्नावशेष त्र’ कवितामा निभ्न लागेको बत्तीलाई खिया लागेको दरबारको छतमा बसेर माया गर्ने सामन्ती प्रवृत्तिलाई यहाँ उद्घोष गरिएको छः

इतिहासको कठघरामा ठिङ्ग उभेको
भग्नावशेष अस्तित्व, चरमराइ रहेछ जगैदेखि
गज्र्याम गुर्लुम्म ढल्न, बुर्जा दरबारको …

शोषक सामन्तहरूले मुठी भरको पुँजीका आडमा जनता माथि अन्याय र अत्याचार गरेका छन् । तिनै सामन्तीहरूले परिवर्तनकारीहरूको जनसागरलाई सम्बोधन गर्न नसक्दा उनका अस्तित्वका गजुरहरू ढल्न लागेका छन् । सामन्ती शोषकहरू त्यही घृणा र तिरस्कारको संसारमा आफ्नो अस्तित्वलाई शाश्वत् तुल्याउनका लागि भरपुर संघर्षरत छन् । त्यहि निमेषभर श्वास फेरीरहेको निरङ्कुशतालाई कवितात्मक रूप दिँदै त्यही सामन्ती निरङ्कुश अस्तित्व समाप्तिका लागि हामी उपेक्षित र शोषित जनताहरू एकजुट भएर लाग्नु पर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->