पोखरा/ पोखरा–१६ बाटुलेचौरस्थित प्रगति माध्यामिक विद्यालयले आफ्नौ ३४ औं वार्षिकोत्सवका अवसरमा ‘प्रगति नाटक महोत्सव २०८१’ गर्ने भएको छ । विद्यालयले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी यही माघ २४ र २५ मा उक्त महोत्सव हुने जनाएको हो ।
महोत्सवमा विद्यालयका विद्यार्थीले विभिन्न ५ वटा नाटक प्रस्तुत गर्नेछन । ज्यान माया गिती नाटक, भ..भ..भ.. भुत बाल नाटक, आमा कविता नाटक, रोल नं. ४ र तुलना फोरम थियटर गरी ५ वटा नाटक प्रस्तुत हुने विद्यालयका सूचना अधिकारी जयराम पौडेलले बताए । यी नाटकमा १२० विद्यार्थीको अभिनय रहनेछ ।
नाटक एक गहन कला रहेको र यसले मानव अनुभव अनि अनुभूतिहरुको सारलाई समेट्नुका साथै समाज र जीवनको घटना अनि जटिलताहरुको दर्पण प्रदान गर्ने पौडेलले बताए । आकर्षक कथाहरु र गतिशील पात्रहरुमार्फत नाटकले मानव प्रकृतिको गहिराई अन्वेषण गर्नुका साथै सम्बन्धहरुको संघर्ष, विजय र जटितालाई उजागर गर्ने पनि उनको भनाई छ । ‘साथै शिक्षालाई नाटकसंग जोडेर हेर्ने हो भने नाटक विधा शिक्षण सिकाईका लागि एक सजिलो र प्रभावकारी माध्ययम हो’ उनले भने, ‘जसको प्रयोगले बालबालिकाहरुको सिकाइप्रतिको रुची र गहिराइलाई बढाउँछ ।’ विद्यार्थीमा अन्तर्निहित अभिनय कलालाई पहिचान गरी तालिम एवं मञ्च प्रदान गर्ने हेतुले नाटक महोत्सवको आयोजना गर्न लागिएको विद्यालयका प्रिन्सिपल महेन्द्र थापाले बताए ।
विद्यालयले आज सिकौं, भोलि नेतृत्व गरौ भन्ने मुलमन्त्रलाई आत्मसात गरिएको जनाएको छ । विद्यार्थीमा बौद्धिक जिज्ञासा, आलोचनात्मक सों र आजीवन सिक्ने चाहनालाई प्रोत्साहित गर्ने समग्र शिक्षा प्रदान गर्ने लक्ष्य पनि राखेको छ । विद्यार्थीलाई विश्व मानव सम्पदाको रुपमा स्विकार्दै विद्यालयलई एक गतिशील र समावेशी वातावरणमा विद्यार्थीको रुची अन्वेशषण गर्न, उनीहरुको प्रतिभा बिकास गर्न र सम्पूर्ण क्षमता प्राप्त गर्न विद्यालय सधै प्रयासरत रहेको जनाएको छ ।
महोत्सवमा रंगकर्मीसंग रंगमञ्च बहस, कुशल अभिभावकत्व कला, विद्यार्थी जागरण कला, पुस्तक किन र कसरी पढ्ने भन्ने विषयको पनि विशेष प्रस्तुती रहनेछ । साथै विद्यार्थीका कला प्रदर्शनी, फुड स्टल, पुस्तक र शैक्षिक प्रदर्शनी एवं विशिष्ट पुरस्कार वितरणको पनि आयोजना गरिएको पत्रकार सम्मेलनमा जनाईयो ।





