बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

दुईवटा घर भाडामा लिएर ३ अर्ब बढीको ठगी

दुईवटा घर भाडामा लिएर ३ अर्ब बढीको ठगी

१० जना भारतीय र १४ जना नेपाली पक्राउ


  • ढोरपाटन संवाददाता
  • माघ २० २०८१, आइतबार

काठमाडौं / ललितपुरको सानेपामा रहेको दुईवटा सुविधा सम्पन्न घर भाडामा लिएर ठगी गर्ने २४ जना पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विभिन्न आठवटा बेटिङ एप्समार्फत अनलाइन जुवा खेलाएर आर्थिक कारोबार गर्ने व्यक्तिहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा १० जना भारतीय र १४ जना नेपाली नागरिक छन्।

कार्यालयका प्रवक्ता काजीकुमार आर्चायका अनुसार ६ महिनादेखि उक्त घर भाडामा लिएर यो समूहले ३ अर्ब ४ करोड ७३ लाख ५६ हजार ६१२ रुपैयाँ बराबरको कारोबार गरेका हुन्। प्रहरीका अनुसार भारतमा बस्दै आएका एक व्यक्तिले ६ महिनाअघि उक्त दुईवटा घर भाडामा लिएका थिए।

भाडा बापत मासिक २ लाख तिर्ने सम्झौता भएको थियो। पक्राउ परेका व्यक्ति ती व्यक्तिका कामदार भएको बुझिएको छ। भारतमा बसेर ती व्यक्तिले यहाँका कामदारलाई काम लगाउने गर्थे। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय ललितपुरसँगको समन्वयमा उनीहरूलाई नियन्त्रणमा लिएको हो। उनीहरूले ८ भन्दा बढी बेटिङ साइटहरू प्रयोग गरी भारतीय एजेन्टहरूसँग ह्वाट्सएपमार्फत सम्पर्क गरेर अनलाइन जुवा खेलाउने गरेका पाइएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा अनलाइन जुवा खेलाउनको लागि उनीहरूले विभिन्न भारतीय नम्बर प्रयोग गर्ने गर्थे। प्रतिमहिना २५ देखि ३० हजार तलब दिनेगरी १४ नेपाली र १० जना भारतीयलाई जुवा खेलाउने काममा राखिएको थियो। उनीहरूले जुवाको रकम भारतका विभिन्न बैंक खाताबाट डिपोजिट र विथ ड्र गर्ने गर्थे। पछिल्लो ६ महिनामा मात्रै उनीहरूले ३ अर्ब ४ करोड ७३ लाख ५६ हजार ६१२ रुपैयाँ बराबरको कारोबार गरेका छन्।

पक्राउ परेका व्यक्तिहरूबाट प्रहरीले ५७ थान मोबाइल, १३ थान ल्यापटप, ३४ थान एटिएम कार्ड, ८८ थान सिमकार्ड, १२ थान चेकबुक, ८ थान आधार कार्ड र ६ थान राहदानी बरामद गरेको छ। पक्राउ पर्नेमा भारतका उत्तर प्रदेश, उत्तराखण्ड, मध्यप्रदेश र बिहार प्रदेशका नागरिकहरू रहेका छन् । नेपालका प्युठान, डोटी, सुर्खेत र दार्चुला जिल्लाका व्यक्तिहरू रहेका छन्।

प्रहरीका अनुसार उनीहरुले नेपालमा बसेर विभिन्न देशका नागरिकलाई अनलाइन जुवा खेलाउने गरेका थिए। हारेका व्यक्तिको अकाउन्टबाट रकम सार्ने र जितेको व्यक्तिको बैंक खातामा रकम जम्मा गरिदिने कार्यका लागि यो समूहले नेपालमा कार्यालय खोली कामदारहरू राखेको थियो। पक्राउ परेका व्यक्तिहरू सामान्य लेखपढ गर्न जानेका व्यक्ति रहेको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ परेका सबैलाई मुलुकी अपराध संहिता, २०७४ को जुवा तथा सट्टेबाजी सम्बन्धी कसुर र विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ बमोजिम कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->