बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पर्वतका झन्डै ५ हजार किशोरीलाई एचपीभी खोप लगाउन सुरु

पर्वतका झन्डै ५ हजार किशोरीलाई एचपीभी खोप लगाउन सुरु


  • संजय रेग्मी
  • माघ २३ २०८१, बुधबार

पर्वत/पर्वतका झन्डै पाँच हजार हजार जना किशोरीहरूलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्ध एचपीभी खोप लगाउन सुरु गरिएको छ ।
जिल्लाका सात वटा स्थानीय तहका ६१ वटा वडाका कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने तथा विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका बालिका तथा किशोरीलाई फागुन दुई गतेसम्म खोप लगाउने गरी खोप अभियान सुरु भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय पर्वतका अनुसार जिल्लामा रहेका निजी तथा सामुदायिक विद्यालयमा गरी एक सय ९५ वटा खोप केन्द्रमार्फत खोप लगाइने छ । विद्यालयमा अध्ययनरत बालिका तथा किशोरी खोप अभियानमा सहभागी भए पनि विद्यालय बाहिर रहेका ५२ जना बालिकालाई पनि छुट्टै व्यवस्था गरी सो अवसरमा खोप लगाइने प्रदेश स्वास्थ्य कार्यालयका प्रमुख प्रविन शर्माले बताए ।
पर्वतमा खोप अभियानलाई दुई चरणमा सञ्चालन गरिने भएको छ । पहिलो चरण अन्तर्गत माघ २२ गते देखि २७ गतेसम्म कुश्मा नगरपालिका, मोदी गाउँपालिका, फलेवास नगरपालिका र जलजला गाउँपालिकामा सम्पन्न हुने छ भने दोस्रो चरणअन्तर्गत माघ २८ गते देखि फागुन २ गतेसम्म विहादी गाउँपालिका, महाशिला गाउँपालिका र पैयुँ गाउँपालिकामा सञ्चालन हुने कार्यालयका जनस्वास्थ्य निरीक्षक प्रकाश गौतमले जानकारी दिए । पर्वतमा सञ्चालन हुने खोप अभियानमा एक सय पाँच खोप फोकल पर्सन, एक सय ९५ खोप स्वास्थ्यकर्मी र तीन सय ९० स्वयमसेवकहरु परिचालन गरिँदै छन् ।
सदरमुकाम कुश्मा बजारमा रहेको नारायण माध्यमिक विद्यालयमा आयोजना गरिएको औपचारिक कार्यक्रमबाट जिल्लाभर खोप लगाउने अभियान सुरु भएको हो । उक्त कार्यक्रममा विद्यालयको कक्षा ६ मा अध्ययनरत सबैभन्दा कान्छी बालिकालाई खोप लगाएर सुरु गरिएको हो ।
कार्यक्रममा बोल्दै जिल्ला खोप समन्वय समितिका संयोजक विष्णुराम विकले यो अभियानमा सबै जना तयारी अवस्थामा रहेको बताए । जिल्लामा दुई चरणमा खोप लगाइने अभियानमा कुनै पनि पालिकाका कोही एक जना मात्रै पनि नछुट्ने उनको भनाइ छ । खोप अभियान सञ्चालनको सन्दर्भमा कुनै समस्या नआओस् भनेर प्रचार प्रसारलाई व्यापक बनाउनुपर्ने बताए । खोपप्रतिको नकारात्मक धारणा बनाउन नहुने पनि संयोजक बि.क.ले उल्लेख गरे ।
कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले यसलाई सबैले विशेष चासोका रूपमा हेर्न अनुरोध गरे। पछिल्लो समयमा पाठेघरको मुखमा हुने क्यान्सरले नेपालमा पनि दैनिकजसो मृत्यु भइरहेको भन्दै उनले यो खोप खोजी खोजी भए पनि लगाउन सुझाव दिए ।
पछिल्लो अध्ययन अनुसार यो वर्ष दिन लागिएको एच.पी.भी खोप एक मात्रा मात्रै लगाए हुने छ भने यसको प्रभावकारिता शत प्रतिशत रहेको दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->