बागलुङ/दुग्ध व्यावसायी संघ बागलुङको सातौं साधारण सभा बुधबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन दुग्ध व्यावसायी संघका संस्थापक अध्यक्ष तथा बागलुङ नगरपालिका वडा नं. ४ का वडाध्यक्ष कुमार बिक्रम क्षेत्रीले गरे ।
सो अवसरमा बोल्दै क्षेत्रीले राज्यले दुग्ध उत्पादक किसानका समस्या नबुझ्दा व्यावसाय धान्न कठिन हुने गरेको बताए । किसानले उत्पादन गरेको दुधको मुल्य राज्यले निर्धारण गर्नु व्यवहारिक पक्ष नभएको चर्चा गर्दै उनले दुध उत्पादन गर्ने किसानलाई प्रोत्साहनका लागि राज्य लगायत सबै सरोकारवालाको ध्यान जानुपर्नेमा जोड दिए ।
साधारण सभामा बोल्ने वक्ताले सबै वस्तुको मुल्य बढ्दा दुधको मुल्य यथावत रहनु किसान प्रतिको अपमान भएको बताएका थिए । उनीहरुले किसानका समस्या र चुनौतीप्रति गम्भिर बन्दै दुधको मुल्य समायोजन गर्न माग समेत गरेका छन् ।
कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष दिपक गौतम, पञ्चकोट विकाश परिषदका सचिव नारायण आचार्य, बागलुङ नगरपालिका वडा नं. ५ का सदस्य बलराम सापकोटा र पत्रकार कोपिला कँडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा संघका कोषाध्यक्ष कृष्णप्रसाद पौडेलले संस्थाको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम संघका अध्यक्ष नन्दलाल जैसीको अध्यक्षता, उपाध्यक्ष जगन्नाथ सापकोटाको स्वागत र सचिव बेद प्रसाद आचार्यको संचालनमा सम्पन्न भएको थियो ।





