पोखरा/कास्कीको पर्यटकीय गाउँ अन्नपूर्ण गाउँपालिका १०/११ घान्द्रुकमा आउँदो फागुन ७ देखि १० गतेसम्म तेस्रो घान्द्रुक पर्यटन महोत्सव हुने भएको छ ।
घान्द्रुक पर्यटन महोत्सवका संयोजक अमृत गुरुङका अनुसार मेश्रम बराह मावि घान्द्रुकको प्राङ्गणमा हुने महोत्सवमा क्लबस्तरीय पुरुष भलिबल, बास्केटबल, भेन्ट्रान्स भलिबल, घोडादौड, छेलोलगायतका प्रतियोगिता समेटिएका छन् । संयोजक गुरुङले खेलकुदलाई पर्यटनसँग जोड्न महोत्सवमा खेलकुदलाई जोडिएको बताए ।
‘खेलकुद पनि पर्यटनसँग जोडिएको छ, पर्यटन महोत्सवमा खेलकुदलाई जोड्दा खेलाडी र पर्यटकीय क्षेत्रलाई दुवैलाई फाइदा छ,’ उनले भने, ‘ढुङ्गेनी गाउँले परिचित घान्द्रुकलाई जोड्न खेलकुदले पनि महत्वपूर्ण योगदान पुग्ने अपेक्षासमेत लिएका छौं ।’
उनका अनुसार क्लबस्तरीय भलिबल र खुल्ला बास्केटबल प्रतियोगिताको विजेताले क्रमशः १ लाख २२ हजार २ सय २२ र उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी मेडर र प्रमाणपत्र प्राप्त गर्नेछन् । भलिबल र बास्केटबल प्रतियोगितामा सहभागिता जनाउन एक समूहलाई ६/६ हजार शुल्क निर्धारण गरिएको छ । प्रतियोगिताको दुवै विधामा सेमिफाइनलबाट बाहिरिने दुवै समूहलाई नगद १०/१० हजार पुरस्कार प्रदान गर्ने गुरुङले जानकारी दिए । क्लबस्तरीय भलिबल प्रतियोगितामा आठौं र नवौं प्रतियोगितामा खेलेका २ जना खेलाडी मात्र समावेश गर्न पाईने आयोजकले जनाएको छ ।
यस्तै महोत्सवमा आयोजित भेन्ट्रान्स भलिबल प्रतियोगिताको बिजेताले नगद ३० हजार उपविजेता टिमले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । भेन्ट्रान्स भलिबलमा सहभागिताका लागि एक समूहलाई ३ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । महोत्सवमा आयोजित घोडादौड प्रतियोगितामा प्रथम हुनेले ६० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार पुरस्कार प्राप्त गर्नेछन् । महोत्सवको पत्येक साँझ सास्कृतिक कार्यक्रमहरु समेत आयोजना गरिएको आयोजकले जनाएको छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रकमा एकैदिन २ हजार ५ सय पर्यटकलाई राख्न सक्ने क्षमताको ६० वटा होटल र ३० वटा होमस्टे सञ्चालनमा रहेको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए ।
‘घान्द्रुकमा हामीले एकैदिन २५ सय पर्यटकलाई राख्न सक्ने होटल तथा होमस्टे सञ्चालनमा छन्,’ अध्यक्ष गुरुङले भने, ‘हामीले महोत्सव अवधिभर घान्द्रुक आउने पर्यटकहरुलाई २० प्रतिशत छुट र खेलाडीलाई ८ सय रुपैयाँको प्याकेज उपलब्ध गराउँछौं ।’




