बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

एचपिभी खोप केन्द्रमा स्वास्थ्य मन्त्री पाठकको अनुगमन

एचपिभी खोप केन्द्रमा स्वास्थ्य मन्त्री पाठकको अनुगमन


  • ढोरपाटन संवाददाता
  • माघ २४ २०८१, बिहिबार

बागलुङ/गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले मंगलबारदेखि देशव्यापी रुपमा शुरु भएको पाठेघरको मुखको क्यान्सर बनाउने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) विरुद्वको खोप अभियानअन्तर्गत पर्वत जिल्लाका खोप केन्द्रहरुको अनुगमन गरेका छन् ।
मन्त्री पाठकले खोप अभियान चलिरहेको पर्वतको नारायण माध्यमिक विद्यालय र देउपुर नमुना आवासिय माध्यामिक विद्यालयमा अनुगमन गरेको स्वकीय सचिव डिल्ली आचार्यले जानकारी दिए । पाठकले अनुगमन गरेको नारायण माविका १ सय ७१ र देउपुर माविका ३५ जना किशोरीहरुले एचपिभी खोप लगाएका छन् ।
अनुगमनका क्रममा मन्त्री पाठकले एचपिभी खोप अभियानले स्वस्थ्य नागरिक अभियानमा प्रभावकारी भूमिका खेल्ने हुँदा तोकिएका उमेर समूहका किशोरीहरु कोही पनि बञ्चित हुन नहुने बताएका थिए । हरेक विद्यालय तहमा खोप लगाउने व्यवस्था प्रदेश जनस्वास्थ्य कार्यालयले मिलाएको भन्दै एचपिभी खोपलाई पूर्ण रुपमा कार्यान्वयन गर्न सके भोलीको लागि स्वस्थ आमा उत्पादनमा सहज हुने उनको भनाई थियो । खोप अभियान किशोरीहरुको उत्साहजनक सहभागिता देखिएको मन्त्री पाठकले प्रतिक्रिया दिए ।
पर्वतका सात वटा स्थानीय तहका ६१ वडाका कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने तथा विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई १ सय ९२ खोप केन्द्रमार्फत फागुन २ गतेसम्म खोप लगाइने छ । विद्यालय बाहिर रहेका ५२ जना किशोरीलाई पनि छुट्टै व्यवस्था गरी खोप लगाइने जनस्वास्थ्य निरीक्षक प्रकाश गौतमले जानकारी दिए ।
पर्वतमा पहिलो चरणअन्तर्गत माघ २२ गते २७ गतेसम्म कुश्मा, फलेबास नगरपालिका, मोदी र जलजला गाउँपालिका र दोस्रो चरणमा माघ २८ देखि फागुन २ गतेसम्म विहादी, महाशिला र पैयुँ गाउँपालिकामा खोप लगाइने छ । अभियानमा १ सय पाँच खोप फोकल पर्सन, १ सय ९५ स्वास्थ्यकर्मी र ३ सय ९० स्वयम्सेवकहरु परिचालित छन् ।
यस्तै, अभियानअन्तर्गत पहिलो दिन बागलुङका १९ सय ४१ जना किशोरीले एचपिभी खोप लगाएका छन् । बागलुङ नगरपालिकाका ७ सय ३२, जैमिनी नगरपालिकाका ३ सय ५५, गलकोट नगरपालिकाका ५ सय ४१, काठेखोला गाउँपालिकाका २ सय ७, ताराखोला गाउँपालिकाका ६३, बरेङ गाउँपालिकाका ४३ जना किशोरीले खोप लगाएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->