बागलुङ/इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई एक करोड रुपियाँ फिर्ता गरिएको छ । सहकारीको ढोरपाटन र गल्कोट सेवा केन्द्रका ५ सय ४७ जना बचतकर्ताले जिल्ला अदालत बागलुङमा संस्थाका अध्यक्ष देवकुमार नेपालीसँग मिलापत्र गरेपछि एक लाख रुपियाँसम्मका बचतकर्ताको रकम फिर्ता गर्न थालिएको हो ।
ढोरपाटनका ९२ जना बचतकर्ताहरुले ३७ लाख रुपियाँ प्राप्त गर्नेगरी चेक बुझेका छन् भने गलकोट नगरपालिकाका १ सय ४७ जना बचतकर्तालाई रकम फिर्ता गरिएको इमेज पीडित संघर्ष समिति गलकोट बुर्तिवाङ संयोजक मञ्जु शर्मा चालिसेले जानकारी दिइन् । ‘दुई दिनमा एक करोड रुपियाँ बचतकर्तालाई फिर्ता गरियो’ चालिसेले भनिन् ।
गल्कोट र ढोरपाटनका ५ सय ४७ बचतकर्तामध्ये एक लाख सम्मका बचतकर्ताले तत्काल फिर्ता पाउने गरी प्रक्रिया अगाडि बढाइएको चालिसेको भनाई छ । इलाका प्रहरी कार्यालय हरिचौर र जनप्रतिनिधिको रोहबरमा बचतकर्ताहरुको रकम फिर्ता गरिएको हो । चालिसेका अनुसार, सहकारीका बाँकी बचतकर्ताहरुको रकम फिर्ताको लागि मिना ग्रुप कम्पनी प्रा. लि. संग सहकार्य गर्नेगरी सम्झौता समेत गरिएको छ ।
गत पुष २६ गतेसम्म सहकारीका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीको सहकारी ठगी मुद्दामा पीडितमध्ये ५ सय ४७ जनाले बिगो दावी नगर्ने गरी मेलमिलाप गर्नुभएको छ । सहकारीका बचतकर्ताहरुले नेपालीको घरायसी जायजेथाबाट पाउनु पर्ने रकम पाएको भन्दै मेलमिलाप गरेका हुन् ।
बचतकर्ताहरुको ठगिएको रकम २३ करोड ७५ लाख ४२ हजार ३ सय ४० रुपियाँ बराबरको रकम घरसारमा मिलेर पाएको भन्दै मेलमिलाप गरेपछि मुद्दामा दाबी गरिएको बिगो रकम समेत घटेको छ । पीडित ताराबहादुर कुँवर, मञ्जु शर्मा चालिसे र यमबहादुर कुँवर समेत ५ सय ४७ जनाको मुलुकी फौजदारी संहिता २०७४ को दफा ११७ बमोजिम मिलापत्र गर्न निवेदन आएकोले दफा ११८ (३) बमोजिम मिलापत्र गरिएको आदेशमा उल्लेख छ । सहकारीका अध्यक्ष नेपाली पुर्पक्षका लागि अहिले थुनामा छन् ।





