पोखरा/ गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियसनको शनिवार सम्पन्न २७ औं साधारण सभा तथा चौधौं अधिवेसनले मोहन सुवेदीको नेतृत्वमा नयाँ कार्यसमितिको चयन गरेको छ । सुवेदी अर्का प्रत्यासी सुरेन्द्ररमण पराजुलीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन । अध्यक्ष बाहेक अन्य पदहरुमा सर्वसम्मत भएको थियो । समितिको उपाध्यक्षमा जयमोहन भट्टराई, महासचिवमा सुजन बराल, उपमहासचिवमा नवराज पौडेल र कोषाध्यक्षमा सुमन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा भुगोल गुरुङ, सन्तोष बराल, विप्लब हमाल, बिजय अर्याल र इश्वर पौडेल निर्वाचित भएका छन् ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियशनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले पेट्रोलियम पदार्थको व्यापार २५ प्रतिशतले घटेको बताए । सरकारको पूँजिगत खर्च कम हुनु, नेपाल भारत खुल्ला सिमाना र विद्युतीय गाडीको व्यापारसँगै पेट्रोलियम व्यवसायीको लगानी धरापमा परेको उनको भनाई थियो । स्वचालित मुल्य प्रणालीका कारण नेपालमा भन्दा भारतमा पेट्रोलियम पदार्थ सस्तो भएकाले सिमानाबाट नेपाल आउने अधिकांस सवारी साधनले उतैबाट इन्धन भर्ने, विकास निर्माणमा प्रयोग हुने मेशिनरी सामान तथा डिजेल प्लान्ट पूर्णरुपमा संचालनमा नआउँदा पनि व्यापार घटेको प्रधानले उल्लेख गरे । बजारमा विद्युतीय सवारी साधनको बढ्दो प्रयोग पनि पेट्रोलियम पदार्थको कम खपतको कारण बनेको प्रधानले बताए ।
पेट्रोलियमको कारोबारमा नेपाल आयल निगमको एकाधिकार रहेकाले, अरवौ रुपैयाँ लगानी गरेका व्यवसायीलाई निगमले कारिन्दाको जस्तो व्यवहार गरेको आरोप लगाए । व्यवसायी निगमको कारिन्दा नभई व्यापारिक साँझेदार भएको समेत स्पष्ट पारे । प्रधानले पेट्रोलियम पदार्थ ढुवानीका लागि निगमले उपलब्ध गराएका साधन मापदण्ड विपरित रहेको आरोप लगाउँदै त्यसलाई सुधार गर्न जोड दिए । उनले व्यापारीलाई निगमले उपलब्ध गराएको गुणस्तर र परिणाममै पेट्रोलियम पदार्थ विक्री बितरण गर्न आग्रह गरे । कार्यक्रममा राष्ट्रिय एशोसियशनका बरिष्ठ उपाध्यक्ष सुनिल गुरुङ्गले पैसा कमाउने लोभमा बदनाम हुनेगरी कारोबार नगर्न व्यवसायीलाई सुझाव दिए । ग्राहकमैत्री व्यवहार र गुणस्तरमा ध्यान दिन आग्रह गर्दै, गुरुङले व्यवसायीमा लोभ देखिदा सिंगो पेट्रोलियम क्षेत्र बद्नाम भएको उल्लेख गरे । बिगतमा केही पेट्रोलियम व्यवसायीले निगमसँग मिलेर बदमासी गरेको घट्ना सार्वजनिक हुँदा सवैले शिर निहुराउने अवस्था आएको समेत गुरुङले बताए । गुरुङले इमानदारीता पूर्वक काम गर्न सुझाव दिदै गलत धन्दाबाट आर्जन भएको पैसाले पोल्ने भन्दै सचेत गराए ।
गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियसनका अध्यक्ष राजन गोगंजुको अध्यक्षतामा भएको कार्यक्रममा नापतौल तथा गुणस्तर कार्यालय पोखराका प्रमुख मनोज पोखरेल, नेपाल आयल निगम गण्डकी प्रदेश डिपो गगनगौंडाका निमित्त प्रमुख पर्शुराम अधिकारी, एशोसियशनका केन्द्रिय सदस्य एवं गण्डकी संयोजक शुशिल गौचन, ट्यांकर एशोसियशनका उपाध्यक्ष धुर्व गौतम, निर्वाचन समितिका संयोजक सुमन भट्टराई, भलाई कोषका संयोजक जयमोहन भट्टराई, चालक संघका सुमन गुरुङ, पेट्रोलियम मजदुर संघका दुर्गा कंडेल, सल्लाहकार नविन बराल लगायतले पेट्रोयिम क्षेत्रका देखिएका समस्याका बारेमा बोलेका थिए ।





