बागलुङ/इमेज बचत तथा ऋण सहकारी संस्था बागलुङ कार्यालयका बचतकर्ताको रकम फिर्ताको काम सुरु भएको छ । सरकारी वकिलको कार्यालयमा पुगेर पीडितले मुद्दा फिर्ता गरेपछि एक लाख रुपैयाँभन्दा कम बचत गर्ने बचतकर्ताको रकम फिर्ताको काम थालिएको हो ।
सहकारी पीडित संघर्ष समितिका पदाधिकारीले सरकारी वलिकका प्रतिनिधि, प्रहरी र पत्रकारको रोहबरमा रकम फिर्ता सुरु गरेका हुन् ।
पहिलो चरणमा बागलुङ नगरपालिका १ की अपांगता भएकी पवित्रा खत्रीको रकम दिएर बचत फिर्ताको काम थालिएको हो । आइतबार तीन सयबढी बचतकर्ता भेला भएका थिए । आइतबारदेखि बितरण शुरु भएपनि सोमबार वा मंगलबारसम्म पनि बितरणको काम लम्बिने संघर्ष समितिका अध्यक्ष डिलबहादुर कार्कीले बताए ।
रकम फिर्ता पाएर खत्रीले खुसी भएको बताइन् । ‘खाइ नखाइ गरेको बचत फिर्ता आउला भन्ने सोचेकी थिइन, आयो खुसी लाग्यो,’ खत्रीले भनिन्, ‘साना बचतकर्तापछि धेरै रकम हुनेले पनि पाए हुन्थ्यो ।’ खत्रीले फिर्ता पाएको रकमले घरखर्च चलाउने बताइन् । इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीले १ हजार ५ सय ४३ बचतकर्ताको रकम हिनामिना पारेपछि दुइ वर्षदेखि पवित्रा जस्तै धेरै पीडितहरुले सास्ती खेपेका थिए ।
आइतबारबाट सुरु भएको अभियानमा इमेज बचत तथा ऋण सहकारी संस्थाका पीडित बचतकर्ताहरुको संघर्ष समितिले ३ करोड रकम फिर्ता गराउने भएको हो । बागलुङ बजारमा रहेको मुख्य कार्यालयका १ लाख रुपैयाँभन्दा थोरै बचत भएकाहरु ३ सय १६ जनाले रकम फिर्ता पाउने भएका हुन् । जिल्ला सरकारी वकिलको कार्यालयमा पुगेर उनीहरुले मुद्दा फिर्ता गरेपछि बचत रकम फिर्ता गरिएको हो । तत्कालका लागि मीना ग्रुप कम्पनी प्रालिले उक्त रकम उपलब्ध गराएको हो ।
थुनामा रहेका नेपालीले पहिलो चरणमा साना बचतकर्ताको रकम फिर्ता गरेपछि ठूला बचतकर्ताको रकम फिर्ताको काम थाल्ने बताए । उनले ढिला भएपनि सबै रकम फिर्ता गर्ने बताए । ठूलो रकम भएकाहरुलाई भने नेपालीको नाउँमा रहेका ४५ भन्दा बढी कित्ताको घरजग्गा बेचेर तिर्ने योजना समितिले बनाएको हो । ठगी मुद्दामा नेपालीलाई बिपक्षी बनाएका जाहेरवालामध्ये गलकोट र बुर्तिवाङका ५ सय ४७ जना बचतकर्ताले एक महिनाअघि नै मेलमिलाप गरेका थिए । सदरमुकाम आसपासका ३ सय १६ जनाको भने आइतबार मेलमिलाप गरेर रकम फिर्ता गरेका हुन् । समय नपुगेका बचतकर्तालाई क्रमशः रकम फिर्ता गरिने संघर्ष समितिका अध्यक्ष डिलबहादुर कार्कीले बताए । प्रभु बैंकबाट समितिले रकम फिर्ता गराएको छ ।
यसअघि बुर्तिवाङका ९२ जना र गलकोटका १ सय ७६ गरी २ सय ६८ जनाले बचत फिर्ता पाइसकेका हुन् । मेलमिलापबाट नेपालीको दाबी गरिएको बिगो रकमबाट २३ करोड ७५ लाख ४२ हजार ३ सय ४० रुपैयाँ घटेको छ ।
जिल्ला न्यायाधिस रमेशकान्त अधिकारीको इजलासले गत पुस १९ गते आंशिक मेलमिलापको आदेश दिएको थियो । पीडित ताराबहादुर कुँवर, मञ्जु शर्मा चालिसे र यमबहादुर कुँवर समेत ५ सय ४७ जनाको मुलुकी फौजदारी संहिता २०७४ को दफा ११७ बमोजिम मिलापत्र गर्न निवेदन आएकोले दफा ११८ (३) बमोजिम मिलापत्र गरिएको आदेशमा उल्लेख छ ।





