बागलुङ/केही दिनअघि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अदालतबाट धरौटीमा छुटेको बेला गरेको भाषण बिबादमा परेको थियो । मुद्दाको टुंगो लाग्दा नलाग्दै जथाभावी बोल्न मिल्छ की मिल्दैन ? सोही प्रकृतिको सहकारी ठगी मुद्दामा पुर्पक्षकालागि थुनामा रहेका इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीपनि सरकारी वलिकको कार्यालयबाट निस्कंदा भाषण गरेका छन् । आइतबार उनले जिल्ला सरकारी वकिलको कार्यालयदेखि बाहिर जम्मा भएका पीडितलाई सम्बोधन गरी भाषण गरेका हुन् ।
कारागारबाट जिल्ला प्रहरी प्रमुख ऋषिराम कंडेलले सँगै ल्याएर बचतकर्ताबीच बोल्न लगाएका हुन् । आइतवार सहकारी पीडित संघर्ष समितिले बचतकर्ताको रकम फिर्ता तयारी गरेको थियो । सोही समयमा कारागारबाट निस्केर आइ उनले तीन सयबढी बचतकर्ता माझ रकम फिर्ता दिने बताए । नेपालीले आँफू सुकुम्बासी भएर पनि जनताको पैसा फिर्ता गर्ने बताए । नेपाली बिरुद्ध १ हजार ५ सय ४३ बचतकर्ताले रकम ठगी गरेको आरोपमा जाहेरी दिएपछि अदालते पुर्पक्षका लागि थुनामा पठाएको हो । नेपालीले १ अर्ब ५४ करोड बचतकर्ताको रकम ठगी गरेको आरोप छ ।
आइतबार कसको अनुमतिले नेपाली कारागारबाट निस्केर भाषण गर्न आइपुगे भन्ने अन्यौल छ । आइतबार सरकारी वकिल थिएनन् । जिल्ला न्यायाधिवक्ता पूर्णप्रसाद उपाध्याय बिदामा भारत भ्रमणमा गएका छन् । प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले भने उक्त घटना जानकारी नै नपाएको बताए । ‘कारागारमा बसेको थुनुवा बाहिर आएर बोल्ने अबसर पाउन नहुने हो, के भएको हो, म बुझ्दैछु’ सुवेदीले भने, ‘यो गम्भिर कुरा भयो ।’ कारागार व्यवस्था ऐन २०७९ को दफा १७ मा भेटघाटका लागि नातेदार र नजिकका आफन्त तथा थुनुवाले मुकरर गरेको कानून व्यवसायीलाइ विशेष सुरक्षा व्यवस्था गरेर कारागार प्रशासनले कागाराभित्रै भेट्ने व्यवस्था मिलाउन पाउने व्यवस्था गरेको छ ।
त्यस बाहेक भेट्न आउनेहरुले पनि तोकिएको सुरक्षा व्यवस्था र शर्त पालना गर्नुपर्ने उल्लेख छ । दफा १८ को ५ मा बिशेष भेटघाट भएपनि प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउनु पर्ने उल्लेख छ । आइतबारको भेटघाट र भाषण गर्ने अबसर दिलाउने काम प्रजिअलाई जानकारी नभएको बताएका हुन् । अदालतले पनि एक महिना अघि नै मेलमिलापको आदेश दिएको थियो । त्यसका लागि समेत मेलमिलाप गर्न पक्षहरुले मात्रै भेट्न पाउने व्यवस्था छ ।
पछिल्लो केही सातादेखि प्रहरी उपरिक्षक ऋषिराम कंडेल कार्यालयमा भन्दा कारागारमा भेटिने गरेको समेत स्थानीयले बताए । आइतबार कार्यालयमा भेट्न पुगेका अन्य अधिकारकर्मीले कंडेललाई बाहिरै भेटेका थिए । कंडेलले यो बिषयमा प्रश्न गर्दा आफ्नो काम नेपालीको सुरक्षा गर्नु भएकोले सुरक्षा दिएको बताए । भाषण के गरेको भन्ने चासो नभएको उनले प्रतिक्रिया दिए ।
सुकुम्बासी भएर पनि बचत फिर्ता गर्छु ः देवकुमार
सहकारी ठगी मुद्धामा पूर्पक्षका लागि थुनामा रहेका इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीले सबै बचत छिट्टै फिर्ता गर्ने बताएका छन् । मिलापत्रका लागि सरकारी वकिल कार्यालयमा जम्मा भएका बचतकर्ताहरुलाई सम्बोधन गर्दै नेपालीले बचत कर्ताको पैसा छिट्टै फिर्ता गर्ने बताए ।
ढोरपाटन नगरपालिका प्रमुख समेत रहेका नेपालीले आँफु बिषेश कारणले भाग्नु परेको भन्दै बचतकर्ताको रकम हिनामिना गर्ने कुनैपनि मनसाय नरहेको दोहोराए । ‘म सुकुम्बासी भएरै पनि तपाईहरुलाई सुकुम्बासी हुन दिन्न’ नेपालीले भने ‘साना बचत कर्ताको नगदै र ठुला बचत कर्ताका लागि जग्गा दिएर भएपनि हिसाव मिलाउँछु ।’ उनले इमेज पीडित संघर्ष समितिका संयोजक डिल बहादुर कार्की र सदस्य लोकेन्द्र केसीको नाम पटक पटक दोहोराउँदै उनीहरु मार्फत बचत फिर्ता गर्ने बताए । सहकारी ठगी आरोपमा नेपालीलाई जिल्ला अदालतले असोज १५ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
सहकारीको १ अर्ब ५४ करोड रुपैयाँ हिनामिनापछि नेपाली २०८० को जेठ ४ गतेदेखि फरार थिए । गत माघमा नेपालीविरुद्ध रेडकर्नर नोटिस जारी भएको थियो । नेपालीलाई गत असोज ११ गते भारतबाट पक्राउ गरेर नेपाल ल्याइएको हो । नेपालीविरुद्ध १ हजार ५ सय ४३ जना बचतकर्ताले आफ्नो बचत रकम ठगी गरेको आरोपमा जाहेरी दिएका थिए । मुद्धा दिएकामध्ये गलकोट र बुर्तिबाङका बचतकर्तासँग मिलापत्र भैसकेको छभने बागलुङ बजारका बचतकर्तासँग मिलापत्रको प्रक्रिया थालिएको छ ।
यो मुद्दामा सहकारीका संचालकहरु चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर पक्राउ परिसकेका छन् । उनीहरुलाई जिल्ला अदालत बागलुङको २०८० साउन ४ गतेको आदेशले पुर्पक्षका लागि थुनामा पठाएको छ । भण्डारी, बुढा र किसान साउनमै थुनामा गएका थिए भने सोही आदेशकै आधारमा परियार र बुढामगर ०८१ पुस पहिलो साता पक्राउ परेर पुर्पक्षका लागि कारागारमा छन् ।





