पोखरा/ ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार विश्वव्यापी रुपमा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांकमा नेपालको अवस्था गत वर्षभन्दा खस्किएको छ । गत वर्ष नेपाल ३५ अंकसहित १०८ औं स्थानमा रहेको नेपाल यसपाली ३४ अंकसहित १०७ औ स्थानमा झरेको छ । यसले नेपालको अवस्था सुधारोत्मुख नभएको र भ्रष्टाचारविरुद्ध नेपालमा प्रभावकारी रूपले काम कारबाही अगाडि बढाउन आवश्यक देखिएको ट्रान्सपरेन्सीले औँल्याएको छ ।
५० अंकभन्दा कम ल्याउने मुलुकलाई भ्रष्टाचार व्याप्त मुलुक मानिने ट्रान्सपरेन्सीको भनाइ छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपालको भ्रष्टाचार मापन गर्न विभिन्न ६ वटा क्षेत्रमा सर्वेक्षण गर्छ । आयातनिर्यात, सार्वजनिक सेवा, कर भुक्तानी, ठेक्कापट्टा र न्यायिक निर्णयमा भ्रष्टाचार बढेको भन्ने आम बुझाइले नेपालको अवस्था थोरै खस्किएको हो । ट्रान्सपरेन्सी इन्टरनेशनलले विभिन्न मुलुकहरुमा हुने भ्रष्टाचारमाथि आम धारणा बटुल्ने क्रममा आफै सर्वेक्षण गर्दैन । विभिन्न संस्थाहरुले गर्ने अध्ययनमा भ्रष्टाचार, सुशासन र घुसखोरीका वारेमा सोधिने प्रश्न र सर्वेक्षणलाई आधार बनाएर भ्रष्टाचार अवधारणा सूचकांक तयार गर्छ ।
सुचाकांकमा साउथ सुडान विश्वकै भ्रष्टाचार हुने देशको एक नम्बरमा दर्ज भएको ट्रान्सपरेन्सीले मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । कुल १०० मा उक्त देशले जम्मा ८ अंक प्राप्त गरेको छ । ट्रान्सपरेन्सीका अनुसार सूचकांकमा १०० अंकले अति स्वच्छ र शून्य अंकले अति भ्रष्ट भन्ने जनाउँछ । यस्तै युरोपेली मुलुक डेनमार्क विश्वकै कम भ्रष्टाचार हुने देशमा दर्ज बनेको छ । कुल १०० मध्ये ९० अंक प्राप्त गरेर विश्वकै सबैभन्दा कम भ्रष्टाचार हुने देशमा डेनमार्क परेको हो । डेनमार्क ७ वर्षदेखि एक नम्बर रहँदै आएको छ । ट्रान्सपरेन्सीका अनुसार १८० मुलुकमध्ये दुई तिहाइ देशहरुले १०० मा ५० भन्दा कम अंक प्राप्त गरेका छन् । जसअनुसार सर्वेक्षण गरिएका १८० मुलुकको औसत अंक यस वर्ष ४३ कायम भएको छ ।





