बागलुङ/इमेज बचत तथा ऋण सहकारी संस्थाका पीडित बचतकर्तामध्ये बागलुङ बजार आसपासका २ सय ४८ जनालाई रकम फिर्ता गरिएको छ । सहकारी पीडित संघर्ष समितिको अगुवाईमा एकलाख रुपैयाँ भन्दा कम बचत गर्नेहरुलाई रकम फिर्ता गरिएको हो ।
अघिल्लो सातादेखिनै बुर्तिवाङ र गलकोटका पनि साँढे २ सय ६८ जनालाइ रकम फिर्ता गरिसकिएको थियो । मिना गु्रप कम्पनी प्रालिले साथ दिएपछि साना बचतकर्ताको रकम फिर्ता भएको हो । पहिलो चरणमा साना बचतकर्तालाई फिर्ता दिएपनि समय मिलाएर ठूला बचतकर्ताहरुको पनि रकम फिर्ता गर्ने योजना बनाएको संघर्ष समितिका अध्यक्ष डिलबहादुर कार्कीले बताए । बागलुङमा मात्रै झण्डै तीन करोड बराबरको रकम फिर्ता गरिएको उनले जानकारी दिए ।
ठूलो रकम फिर्ता गर्न भने सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीको नाउँमा रहेका अचल सम्पत्ति बिक्री गर्नुपर्नेछ । त्यसका लागि भने केही समय कुर्नुपर्ने सरोकारवालाले बताएका छन् । नेपालीको नाउँमा दुइ दर्जन बढी स्थानमा जग्गा तथा घर रहेकोले ती बेचेर तरल बनाउनु पर्ने बाध्यता छ ।
जिल्ला अदालतले एक महिना अघिनै मुद्दा फिर्ता लिन चाहनेकालागि मेलमिलापको बाटो खोलीदिएको थियो । सोही आधारमा मेलमिलाप भएकाहरुले रकम फिर्ता पाएका हुन् । नेपालीले १ अर्ब ५४ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा अदालतमा जाहेरी परेकोमा झण्डै २३ करोड रुपैयाँ बराबरका बचतकर्ताले मेलमिलाप गरेका छन् । उनीहरुले रकम पाएमा नेपालीको ठगी बिगो घट्नेछ । नेपाली बिरुद्दको सहकारी ठगी मुद्दा भने निरन्तर चलिरहेको छ ।
नेपाली गत असोजमा पक्राउ परेपछि जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । नेपालीले आफ्नो अचल सम्पत्ति बेचेर बचतकर्ताको रकम फिर्ता गर्न तयार भएपनि सबै प्रकृया भने पुरा भएको छैन । रोक्का रहेका जग्गा तथा घर बिक्रीकालागि भने सहजै संभव नभएकोले मध्यस्ताको बाटो खोज्न नेपालीका कानूनव्यवसायीले काम गरिरहेका छन् ।





